गंगाराम चनारा
‘आज दल,बलको सहाराले दबाउन खोजिएका सत्यहरु भोलि बिद्रोहको अदम्य भाषामा परिणत हुन्छन …।’ “कम्युनिस्ट पार्टी उत्पीडित वर्गको मुक्तिको निम्ति बनेको पार्टी हो “क. प्रचण्ड ।
“युद्ध प्यारो किन हुन्छ भन्ने कुरा उत्पीडितहरुको पिडा बुझेपछि मात्र थाहा हुन्छ“ क.माओ ।
११ गते बिहानै मोबाइलमा घण्टी बज्यो,यसो हेर्दा फोन नम्बर नयाँ जस्तै लाग्यो,तैपनि फोन उठाए । एक जना युद्धकालको सहयोद्धा कमरेडको आवाजमा सन्चो विसन्चो सोधियो ! छोटो भलाकुसारी पछि उनले सोधे ‘….उक्त घटना स्थल रुकुम जिल्लाकै हो र कमरेड ?’ मेरो शरिर भित्रको उर्जाशिल पन झसङ्ग झस्कियो,मुखको बोली फुट्न सकेन र उतिबेला ( रुकुममा दलित मुक्तिमोर्चाले संचालन गरेको लालमार्च अभियान र हामी दुइको हटलाइन पोस्ट रोल्पाको बसाई ) को इतिहास मानसपटलमा एकाएक बर्जियो । अलमल्ल भए,उनले एकाएक धेरै प्रश्न सोधिरहे । तर मेरो जवाफमा दम नहुँदा बोल्नै सकिन । केही समय पछि औपचारिक जवाफ दिदै घटना बारे थाहा भए जति जानकारी दिए पनि ।
हो, हामी रुकमेली हौं र रुकुम र रुकमेलीहरुको संघर्ष र विरताको भित्रि बर्णन गर्दा गर्वले छाती फुल्छ । अनि संसारको जुनसुकै कुनामा पुगे पनि बिजयी भावले ओतप्रोत भइ थप कार्य सफलतामा जोड पुग्ने गर्दथ्यो । आफुलाई सधै सबै खाले उत्पिडनबाट मुक्त भएको म र मेरो रुकुमको सान फैलाएको भान हुने गर्दथ्यो । जो कि म कामी बुढाको सन्तान हु,महान जनयुद्धको उद्गम बासी हु, संघर्षका आँधि,तुफान संगै कुरिती,कुसंस्कारको मलाम गरिसकेको जिवित रुकमेली हु, म उज्यालो नेपाल लगायतका विविध सवालमा राष्ट्रिय प्रभाव छोड्ने प्रभावशाली नेतृत्वको आज्ञाकारी कार्यकर्तारजनता हु ! यी र यस्तै उत्साहले मेरो कर्ममा बल पुगेकै हो ।
तर आज म एकाएक लज्जास्पद भएको छु । मेरा संघर्षसिल उर्जाहरु कमजोर बन्न थालेका छन । २ दशक पुरानो उहीँ विभेदकारी तिरले मेरो मुटु चसक,चसक घोच्न थालेको छ फेरि आज । ५२÷५३ साल भन्दा उताका जातीय दमन र दमनकारी भुतहरुका निर्दयी अनुहारहरु एकाएक मानसपटलमा देखिन थालेका छन । कतै म ५२ साल भन्दा पछाडी त छैन । यस्तै,यस्तै प्रश्नको चाङ लाग्दैछ आज ममा । ७ साल देखि ४६ साल सम्मका ऐतिहासिक संघर्ष,बिद्रोह अनि ५२ साल यताको महान जनयुद्ध र ऐतिहासिक जनआन्दोलनबाट प्राप्त संवघीय लोकतान्त्रिक गणतन्त्रात्मक भनिने एक थान संबिधान छ ।,२०६३ साल जेठ ३ गतेको छुवाछूत मुक्त राष्ट्र घोषणाको लिखित दस्तावेज छ !,जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय)ऐन २०६८ छ ! सबै खाले कुरिती,कुसंस्कारको अन्त्य भएको समृद्ध नेपाल र सुखी नेपालीको नारा सर्वत्र गुन्जिरहेछ !
तर बेला,बेला झै आज पनि एकाएक मेरो रुकुमको बिरताको तक्मा खुइलिएको छ । बहादुरीको साँख झरेको छ । इतिहासको खम्बा हल्लिएको छ । कडा संघर्ष र बलिदानबाट सुखाइएको घाउ आज फेरि जबर्जस्त वल्झाइएको छ । बर्ग बैरिहरुको शिर ठाडिएको छ !,लाग्छ प्राकृति उदास छ ! आकाश मौन छ !,किनकि सोती हत्याले सिङ्गो मुलुक रुवाएको छ ।
प्रश्न उठ्छ,के सोती हत्या काण्ड भवितव्य नै हो त ? मलाई लाग्छ यो घटना कुनै पनि हिसाबले भवितव्यं मान्न सकिदैन ! प्रेमप्रेमिकाको इन्टेस्ट के थिए, मायालु हात पार्ने तरिका सहि थियो वा गलत, केटापक्ष हुल सहित जानु ठिक या बेठीक भन्ने कुरा मान्छे मरिसके पछि सहायक भएका छन । मृतकका परिवारहरुले भनेका छन गाउँलेहरुलेहरुले घेरा हालेर लखेटि लखेटी भेरीमा हालेका छन । ६ जनाको ज्यान जाने गरि भएको यो घटनालाई सम्मानित अदालतले भवितव्यं मान्नला र ? हामीले सरसरती हेर्दा कथित जात नमिलेकै कारण छोरी दिन नमानेको,केटाकेटीको प्रेम सम्बन्ध गहिरिदै गएको,छुटाउन पुलिस प्रशासन,ढारसेक लगाएत अनेक बिधि अपनाउदा पनि नमान्दा “नबजे बाँसुरी,नरहे बाँस“को बाध्यता सहित घटाईएको होइन र ! के यति धेरै कुरा सतहमै नाङ्गो आँखाले छर्लङ्ग देखिँदा देखिदै पनि कानुन चुक्ला र ? तसर्थ म आग्रह गर्दछु ! घटना वङ्याउन कुनै जरुरी छैन ! रुकुमको खम्बा नै हल्लिने गरि भएको हत्या र संलग्न अपराधिक गिरोहको क्षणिक रक्षाका लागि बुनिने तानाबानाहरु झुठो साबित हुनेछन् भने पौनी करोड दलित समुदायको मर्म काटिने छ,अनि गहिरो समिक्षा गर्नेछन् ,र आगामी दिनमा सदा झै सबै सबैका लागि भ¥याङ नबन्न पनि त सक्छन् नि ! र यो समुदाय आजका मिति सम्म कमजोर होला,तर आगामी दिनमा आफु भित्रको कमजोर मानसिकतालाई धावा बोल्दै आत्मनिर्भर भएर एकजुट भई न्यायको लडाई लड्न सक्ने हैसियतमा पुगिसकेको कुरा पनि त साँचो हो नि ! आज लडाइ भनेको प्राकृतिसंगको छ,तत्काल कोराना भाइरस कोभिट १९ संगको छ !, अवशेषका रूपमा रहेको कुरिती कुसंस्कार विरुद्धको छ !,गरिबी भोकमरी विरुद्धको छ !,यी र यस्ता खाले लडाइको विरुद्धमा सारा नेपाली समाज एक भएर लड्ने बेला केही जातीय अहंकारबादीहरुले मच्चाएको हुलदङ्गा र सामुहिक हत्याको पछि लागि बेमौसमी बाजा पिटेर समाज विखण्डनतिर लिन खोज्नु कोहि कसैको लागि हितकर हुदैन ! सत्य बङ्याएर हजारलाई रुवाइ एकादलाई हसाउनु हुदैन । त्यसैले घटनाको सत्यतथ्य छानबिन होस,हत्याराहरुलाई हुन सक्ने जति सबै कार्वाही होस ! आवस्यक क्षतिपूर्ति सहितको न्यायीक रुमालले पीडितहरुका आँसु पोछियोस !,कानुनी राज्यको न्यायिक मलमले आफन्त अनि सहानुभूति राख्ने सबैको घाउ निको पारियोस ! घटनाले आक्रोशित देश,बिदेशको जमातलाई यी र यस्तै प्रतिबद्धताले बिश्वास दिलाई कानुनी राज्य,कम्युनिस्ट सरकारको प्रत्याभूति दिलाइयोस,र पो म र मेरो रुकुमको संघर्ष रूपी ओज सदाको लागि बचिरने छ र अथाह संघर्षबाट खारिएको नेतृत्वको थप उचाइ उठ्ने छ ! र नेतृत्व लाई यस घटनामा जोडी गालिगलोज गरि विवादित बनाउनु कुनै कारणले उचित हुदैन,नेतृत्व साझा हो साझै भुमिकामा छ र रहिरने पनि छ नै ! “सत्य आफैमा सत्य हुदाहुदै पनि त्यसलाई स्थापित र मान्य बनाउन सचेत पक्षको अहं भुमिका हुन्छ“ भनेझैं सतहमा देखिका सवालहरुले निम्त्याएको टिका टिप्पणी र बुझाइ स्तरका कित्ता बन्दिहरुलाई चुनौती दिदै सत्य स्थापित गर्न सचेतन पक्ष नेतृत्व लागैकै छ र सत्यकै जीत हुनेमा हामी ढुक्क पनि छौ नै ।
अन्तिममा मृतकहरु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो संवेदना प्रकट गर्दछु ।,र जातीयताका कारण ज्यान गुमाउनेहरुको उचित न्यायको पक्षमा हरतवरले बोल्ने सबै,सबैमा हार्दिक धन्यवाद दिन चाहान्छु

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto