हरि जिज्ञासु
रुकुम पश्चिम आठबिसकोट नगरपालिका वडा नं. ३ अन्तर्गतको खदी गाउँलाई नमुना सफा तथा स्वच्छ वडा घोषणा गरिएको छ । वडा कार्यालयको आयोजना तथा शान्ति नेपाल, आईएनएफ, अष्ट्रेलियन एड र सुस्वा लगायतका संस्थाको सहयोग तथा साझेदारीमा आयोजित कार्यक्रममा वडालाई औपचारिक रूपमा नमुना सफा तथा स्वच्छ वडा घोषणा गरिएको हो ।
घोषणा तथा प्रतिबद्धता समारोहका प्रमुख अतिथि आठबिसकोट नगरपालिकाका नगर प्रमुख रवि केसीले नमुना तथा स्वच्छ वडा निर्माण अभियानमा योगदान पु¥याउने विभिन्न संघसंस्था र स्थानीयवासीलाई बधाई ज्ञापन गर्नुभयो । उहाँले सरसफाइ अभियानको पहिलो चरणमा उत्कृष्ट उपलब्धि हासिल गरेको उपलक्ष्यमा नगरपालिकाको तर्फबाट प्रमाणपत्रसहित ५० हजार रुपैयाँ नगद पुरस्कार हस्तान्तरण गर्नुभयो ।
कार्यक्रमका सभाध्यक्ष तथा वडा नं. ३ का अध्यक्ष केशरमान विकले मदिरा नियन्त्रण, बालविवाह न्यूनीकरण र सरसफाइ अभियानलाई थप प्रभावकारी बनाउन प्राप्त ५० हजार रुपैयाँ वडा अन्तर्गतका सातवटै टोल विकास समितिलाई पूर्ण सरसफाइ गाउँ घोषणा गर्ने अभियानमा उपयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
साझेदार संस्था शान्ति नेपालका कार्यक्रम संयोजक दलजित घर्तीले सरसफाइ अभियानमा सहयोग पु¥याउने विभिन्न संघसंस्था तथा सरोकारवाला निकायप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा नेपाल सरकारको पूर्ण सरसफाइ मार्गदर्शन, २०७३ तथा आठबिसकोट नगरपालिकाको खानेपानी, सरसफाइ तथा स्वच्छता ऐन, २०८१ मा उल्लेखित व्यवहार र सूचकहरू पूर्ण रूपमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।
५०४ घरधुरी रहेको खदी गाउँले सरसफाइसम्बन्धी विभिन्न मापदण्ड तथा सूचकहरू पूरा गरेपछि नगरपालिकाले अनुगमन गरी नमुना सफा तथा स्वच्छ वडाको मान्यता प्रदान गरेको हो । यससँगै वडा नं. ३, खदी गाउँ आठबिसकोट नगरपालिकाभित्र पहिलो पटक नमुना सफा तथा स्वच्छ वडा घोषणा हुने वडा बनेको छ ।



