मेगराज खड्का
रुकुम

रुकुम पश्चिमका स्वास्थ्य संस्थामा एक सेट पनि कोरोना उपचार तथा चेकजाँचका लागि प्रयोग गरिने सामाग्री नभएको पाईएको छ । जिल्ला अस्पताल सल्ले रुकुम पश्चिममा समेत एक सेट पनि सामाग्री नभएपछि जिल्लाका अन्य स्थानीय स्वास्थ्थ संस्थाहरुको अवस्था भने निकै समस्यापुर्ण छ ।
कोरोना भाइरस लागेका बिरामीलाई चेकजाँच तथा उपचार गर्ने आफुहरुसंग एक सेट पनि सामाग्रीहरु नभएको जिल्ला अस्पताल सल्ले रुकुम पश्चिमका डा. राजकुमार भुजेलले बताए । ‘हामी संग चिकित्सकका लागि आवश्यक प्रोटेक्टेट कपडा, मास्क लगायतका अन्य कुनै पनि सामाग्री छैनन, अहिलेको अवस्थामा हामी कोरोनाको कुनै बिरामीको उपचार तथा चेकजाँच गर्नसक्ने अवस्थामा छैनौं’ उनले भने, ‘हाम्रो अस्पतालको च्यानल र जिल्ला प्रशासन दुबैको च्यानलबाट आवश्यक सामाग्री माग गरिएको छ तर अहिले सम्म आएको छैन ।’ अस्पतालमा आफुहरुसंग आवश्यक सामाग्री नभएकै कारण कोरनाको लक्षण देखिएका एक बिरामीलाई चेकजाँच तथा उपचार गर्न अस्पताल सक्षम नभएको पनि उनको भनाई छ । ‘एकजना कोरानाको लक्षण देखिएका बिरामी निजि अस्पतालमा आउनुभएको छ तर के गर्ने उहाँलाई उपचार तथा चेकजाँच गर्नसक्ने हामीसंग कुनै पनि सामाग्री छैन’ उनले भने, ‘अब क्रमस कोरोनाको लक्षण भएका बिरामीहरु अस्पतालमा आउनेक्रम बढे स्वास्थ्यकर्मीहरु भागाभाग हुने अवस्था आउसक्छ ।’
उता प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुको लागि आवश्यक सामाग्री केन्द्र सरकारसंग यसअघि नै माग भैरहेको र छिटै जिल्लामा आउने बताए । ‘चेकजाँच तथा उपचारका लागि आवश्यक सामाग्रीहरु ठुलो मात्रमा केन्द्र सरकारलाई माग गरेका छौं, अबको एकदुई दिन भित्रै आउछ’ प्रजिअ पौड्यालले भने । तर स्वास्थ्यकर्मीहरुले भने आफुहरुको लागि आवश्यक प्रोटेक्टेट सामाग्री जिल्लामा नभएका कारण आफुहरु जोखिम मोलेर काम गर्न नसक्ने सामाजिक संजालहरु मार्फत प्रतिक्रिया दिएका छन । आवश्यक सामाग्री बिनै उपचार गर्न लगाएर सरकारले नांगो बिजुलीको तारमा छुन लगाए सरह आफुहरुलाई भएको उनीहरुको भनाई छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto