सत्य बटाला
रुकुम (पश्चिम)को आठविसकोट नगरपालिकाका सिमान्तकृत बादी समुदायका नागरिकहरुलाई निःशुल्क रुपमा मास्क र सावुन वितरण गरिएको छ । वडा नम्बर ९ राडी ज्युलाका फार्मेसी सञ्चालक विशाल थापा र दिनेश भण्डारी तथा रेडियो नयाँ नेपालका प्राविधिक सुनिल विकले सयुक्त रुपमा बादी समुदायका नागरिकहरुलाई निशुल्क रुपमा मास्क र हात धुन सावुन वितरण गरेका हुन ।
विश्वभरी फैलिरहेको कोरोना भाइरस कोभिट १९ को संक्रमन बाट नेपाल पनि उच्च जोखिममा रहेकाले यसको रोकथाम तथा सतर्कताका लागी आज बस्तीमै पुगेर निःशुल्क रुपमा मास्क र सावुन वितरण गरिएको सिस्ने मेडिसिन डिस्ट्रीव्यटसका सञ्चालक भण्डारीले बताए । राडी बजारमा सञ्चालित न्यु ओमप्रकाश टेलर्सको सहकार्यमा मास्क उत्पादन गरी बादी समुदायका १५ घरपरिवारका सबै सदस्यहरुलाई मास्क वितरण गरिएको हो ।
उनीहरुलाई मास्क वितरण गर्नुका साथै कोरोना भाइरस सम्बन्धी जनचेतना फैलाएको र साबुन पानीले हात धुने तरिका पनि सिकाइएको हो । बजारमा मास्कको अभाव भैरहेकाले निस्वार्थ मनले बस्तीमै आएर आफुहरुलाई मास्क वितरण गरेको भन्दै स्थानीय कलिभान नेपालीले खुशी व्यक्त गरे । यस्तै स्थानीय तारा बादीले पनि मास्क वितरण गर्ने तीनै जनालाई धन्यबाद दिईन । साथै उनले आफुले सधै साबुन पानीले हात धुने र अरुलाई पनि यसबारेमा सचेतना फैलाउने बताईन ।