मेगराज खड्का
मुसिकोट
कर्णाली प्रदेश सरकारले घोषणा गरेअनुसारको प्रोत्साहन भत्ता नपाएपछि रुकुम पश्चिम चौरजहारी नगरपालिकाका कर्मचारीहरुले सामुहिक रुपमा ज्ञापनपत्र बुझाएका छन । एक कार्यक्रमको लागि चौरजहारी आएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई उक्त ज्ञापन पत्र बुझाईएको हो ।
कर्णाली प्रदेश सरकारको २०७६ मंसिर ८ गते बसेको मन्त्रीपरिषद बैठकले कर्णाली प्रदेशका काम गर्ने कर्मचारीलाई प्रोत्साहन स्वरुप थप भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो । जस अनुसार कर्णाली प्रदेशका दुर्गमसुगम जिल्ला हेरि मासिक १० हजार देखि ४ हजार सम्म भत्ता उपलब्ध गराउने भनिएको थियो । कर्णाली प्रदेश सरकारको निर्णय अनुसार रुकुम पश्चिमका कार्यरत कर्मचारीहरुले मासिक ६ हजार प्रोत्साहन भत्ता पाउनुपर्ने भएपनि हालसम्म नपाएको चौरजहारी नगरपाालिकामा कार्यरत सहलेखापाल गोबिन्द ददेलले जानकारी दिए । उनका अनुसार घोषणा गरे अनुसारको प्रोत्साहन भत्ता हाल कर्णाली प्रदेश सरकार अन्तरगतका कार्यालयमा कार्यरत कर्मचारीहरुलाई मात्र उपलब्ध गराईएको छ ।
त्यसबाहेक कर्णाली प्रदेशकै अन्य संघ र स्थानीय तहमा कार्यरत कुनैपनि कर्मचारीहरुले प्रोत्साहन भत्ता पाएका छैनन ।
‘प्रदेश सरकारले प्रोत्साहन भत्ता घोषणा गरेपनि कर्णाली प्रदेशमा काम गर्ने सबै कर्मचारीहरुले पाउनुपर्छ’ उनले भने, ‘कर्णालीमा काम गर्ने संघ, प्रदेश र स्थानीय तहमा काम गर्ने जुनसुकै कर्मचारीहरुको पनि दुख र समस्या एउटै हो तर कोहि कर्मचारीहरुलाई दिने र कोहि कर्मचारीहरुलाई नदिने यहाँ बिभेद र अन्याय भयो ।’ राज्यले सबै कर्मचारीहरुलाई हेर्ने नजर समान बनाई कर्मचारीलाई उच्च बनोबलका साथ काम गर्ने बातावारण बनाउन पनि ज्ञापन पत्र मार्फत माग गरिएको छ ।