आहा सञ्चार संबाददाता
रुकुम
केहि समय यता रुकुममा एकपछि अर्को सरकारी कर्मचारी अख्तियारको फन्दामा पर्दै आएका छन । जिल्लामा घुस दिनेदिने तथा अन्य भ्रष्टाचार जन्य गतिबिधी बढेको उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले सक्रियता पनि बढाएको हो । आईतबार मात्रै रुकुम पश्चिमका एक कर्मचारी सेवाग्राहि संग घुस मागिरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणनमा परेका छन । पक्राउ पर्नेमा जिल्ला अदालत रुकुम पश्चिममा कार्यरत नायब सुव्बा रमेशकुमार खड्का रहेका छन ।
आयोगलेका प्रवक्ता प्रदीपकुमार कोईरालाले निकालेको प्रेस बिज्ञप्ती अनुसार अदालतबाट फैसला भईसकेको मुद्दामा मालपोत कार्यालयलाई जग्गा दाखिल खारेज दर्ता पुर्जी उपलब्ध गराउनु पर्नेमा नगराई पटक पटक मोलमोलाई गरी ६० हजार रुपैयाँ खड्काले माग गरिरहेका थिए ।
घुस रकम बार्गेनिंग गरी अन्तिममा पन्ध्र हजार नदिईकन कागजपत्र नदिने भनी सेवाग्राहीलाई दुस्ख दिइरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतबाट खटिई गएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । आयोगका अनुसार सेवाग्राहीबाट पन्ध्र हजार घुस वापतको रकम माग गरिरहेको अवस्थामा रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नं.१ खलंगा स्थित जिल्ला प्रहरी कार्यालय जाने बाटोबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको बताईएको छ ।
बन कार्यालयका कर्मचारी पनि पक्राउ परेका थिए
केहि समय अघि घुस सहित रुकुम पश्चिममा अर्का कर्मचारी पनि पक्राउ परेका थिए । चौफा सव डिभिजन वन कार्यालय, चौरजहारी, रूकुम पश्चिममा कार्यरत फरेष्टर महेन्द्र वि.सि पक्राउ परेका थिए । कटान आदेशको काममा सहजिकरण गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतबाट खटिइ गएको टोलीले फरेष्टर महेन्द्र विसिलाई सेवाग्राहीबाट सात हजार घुस बापतको रकम लिइसकेको अवस्थामा पक्राउ गरिएको थियो । मुसीकोट नगरपालिका १ रूकुम पश्चिम स्थित कालिका मन्दिर नजिकको विमला खाजा घरबाट नियन्त्रणमा लिएको आयोगले बताएको थिए ।
रुकुम पश्चिमबाट अख्तियारमा ५ दर्जन बढी उजुरी
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार रुकुम (पश्चिम)मा भण्डै ५ दर्जन बढी उजुरी परेका छन । अख्तियारमा परेका उजुरी मध्ये सबैभन्दा बढि स्थानीय तहका भएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय सुर्खेतले जनाएको छ । स्थानीय तहले खर्च मनपरी गरेको भन्दै उजुरी दर्ता गरेको अख्तियारले जनाएको छ । त्यस्तै शिक्षा क्षेत्रमा भवन निर्माणमा अनियमितता भएको, विद्यालय व्यवस्थापन समिति अवैध तरिकाले गठन गरेको, शिक्षक नियुक्ति र परीक्षामा मनपरी गरेको भन्दै उजुरी पर्ने गरेको बताईएको छ । विभिन्न सरकारी कार्यालयले निर्माण प्रक्रियामा लापरबाही गरेको प्राविधिक प्रतिवेदन अनुसार काम नगरेको, उपभोक्ता समितिले रकम हिनामिना गरेको लगायत उजुरी कार्यालयमा दर्ता हुने गरेका छन । सर्वसाधारणहरु पनि अनियमितता र भ्रष्टचार रोक्नको लागि सक्रिय भएका कारण आयोगको कार्यालयमा उजुरी आउने क्रम बढेको कार्यालयको बुझाई छ । कतिपय उजुरीहरु भने व्यक्तिगत रिसीबीका कारणले पनि आउने गरेको अनुसन्धानबाट खुलेको बताइएको छ । समाजमा हुने अनियमितता र भ्रष्टचारलाई रोक्नको लागि सबैको उजुरी र जानकारी दिएर आयोगलाई सहयोग गर्न आग्रह समेत गर्दै आएको छ ।
