उपेन्द्रलाल कामी
बिषय प्रवेशः
राजनैतिक पृष्ठभूमि जेजस्तो भएपनि पूर्व एमाले र माकेको पार्टी एकताबाट ने.क.पा.मा परिणत भइसकेपछि स्थानीय तहदेखि प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मत परिणामले दुई तिहाई बहुमतको सरकार चलाउने हैसियत प्राप्त गरेपनि जनअपेक्षा अनुरुप काम गर्न नसकेको कुरा सर्वविदितै छ । यो कुनै प्रतिपक्षी दलहरुले लगाएको आरोप मात्र नभइ ने.क.पा.भित्रै चर्को रुपमा उठिरहेको बिषय पनि हो । रुकुम जिल्लाको सन्दर्भमा पुर्व माकेले स्थानीय तहको निर्वाचनमा उसकै भाषामा क्लिन स्वीप (सबैलाई बढारेको) र प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा वाम गठबन्धनबाट अत्याधिक बहुमतले बिजय भएको अवस्था हो । यद्देपि निर्वाचनमा जनतामाझ गरेका प्रतिबद्धतालाई लत्याउदै केही नेताको स्वार्थ अनुरुप धेरै नेता कार्यकर्ताहरुलाई भ्रष्टीकरण गर्दै र जनतालाई भ्रममा पार्दै आउने क्रममा रुकुमको राजनीतिक अवस्था दिशा विहीन जस्तो देखिएको छ ।
राष्ट्रिय राजनीतिमा जेजस्तो बदलाव आएपनि रुकुम जिल्लाको हकमा अलि भिन्न र बिशिष्ट खालको अवस्था हो । किन कि रुकुम एक ऐतिहासिक एवं युगान्तकारी महत्वको ग्रामीण वर्ग संघर्ष हुदै जनयुद्धको उद्गम थलोको रुपमा परिचित तथा स्थापित भइसकेको छ । जनक्रान्तिमा यहाँका जनताको वलिदानी, क्रान्तिकारी राजनीतिक चेतना र जनताका अपेक्षाहरु अरुभन्दा तुलनात्मक रुपमै भिन्न छन् । राष्ट्रिय राजनीतिको आँखाबाट सोलोडोलो रुपमा रुकुमलाई हेरियो भने त्यो सही दृष्टिकोण हुन सक्दैन । तसर्थ रुकुमको आफ्नै मौलिकता र बिशेषतासंग जोडिएर राजनीतिको कार्यदिशा तय गर्न जनमतबाट अनुमोदित भएको ने.क.पा. रुकुमले नेतृत्वदायी भूमिका खेल्न सक्नुपर्दछ । अहिलेसम्म ने.क.पा. रुकुमले त्यो भूमिका खेल्न नसक्दा सम्बन्धित पार्टीलाई मात्र होइन जिल्लालाई नै घाटा भइरहेको छ । यस आलेखमा ने.क.पा. रुकुमको सुखद भविष्य र रुकुमेली जनताको सुशासन, बिकास र सम्वृद्धिको चाहनालाई उचित ढंगले सम्बोधन गर्न सहयोग पुगोस् भन्ने हेतुले बिषयको उठान गर्न खोजिएको छ ।

(क) साझा नेतृत्व स्थापित गर्ने र ब्यवहारमै साझा बन्ने प्रश्न
निर्वाचनको मत परिणामले ने.क.पा.लाई रुकुमको सर्वाधिक ठुलो पार्टी बनाएको भएता पनि पार्टी नेतृत्वको ब्यवहार र जन प्रतिनिधिहरुको आचरण साझा एवं समन्वयकारी बन्न सकेको छैन । प्रमुख प्रतिपक्षि दल र अन्य राजनीतिक पार्टीहरुसंग साझा सवालमा समन्वय तथा सहकार्य गरेर अघि बढ्न आवश्यक ठानेको पाइदैन । सत्तारुढ ने.क.पा. निषेधको राजनीतिक धङधङ्गीबाट अझै मुक्त हुन सकिरहेको छैन । राष्ट्रिय स्तरको प्रभावशाली नेतृत्वको विकास भएता पनि नेतृत्वमा उच्चजातीय अहंकारवाद तथा सर्वसत्तावादी चिन्तनगत प्रवृत्ति हावी छ । शक्तिको अहंकार एवं दम्भ यति छ कि आफुलाई रुपान्तरण गर्ने भन्दापनि पार्टीभित्र वा बाहिरको बिरोधी पक्षलाई जसरी भएपनि किनारा लगाएरै आफ्नो बर्चश्वलाई कायम राख्नैपर्छ भन्ने मानसिकताले गहिरो प्रभाव पारेको छ । अर्कोतिर प्रमुख प्रतिपक्षि पार्टी नेपाली काँग्रेसभित्र नेतृत्व विकासको संकट त छंदैछ त्यसमा पनि आफ्नो प्रष्ट राजनीतिक एजेण्डा नभइ सत्तापक्षको कमजोरी खोजेर आलोचना गर्नमै समय बिताइरहेको अवस्था छ । साझा सवालमा सत्तासिन पार्टीसंग सहकार्य गर्दा आफ्नो प्रतिपक्ष दलको अस्तित्व समाप्त हुने हो कि भन्ने डरको मनोबिज्ञानले नेपाली काँग्रेसलाई नराम्ररी गाँजेको छ । अन्य साना दलहरुको भूमिका यतिवेला खासै प्रभावकारी बन्न सकिरहेको छैन । यस्तो अवस्थामा सत्तासिन दलको नेतृत्वले फराकिलो छात्ती बनाएर सबैलाई साझा सवालमा समेटेर लैजाने योजना, कार्यक्रम र विश्वासनीय कार्यशैली अपनाउन जरुरी देखिन्छ भने प्रमुख प्रतिपक्षी दल लगायत अन्य दलहरुले सत्तासिन पार्टीको नीति तथा कार्यक्रम निर्माण र कार्यान्वयनमा सहयोग पु¥याउदै साझा नेतृत्व स्थापित गर्न अनि गलत प्रवृत्ति र कार्यशैलीको डटेर आलोचना गर्न बिना हिच्कीचाहट अघि बढ्न आवश्यक देखिन्छ । यस अघिका दिनहरुमा साझा सवालमा एक्लै अघि बढ्न खोज्दा धेरै कामहरु असफल भएको कुरालाई सत्तासिन ने.क.पा.रुकुमले गम्भीर आत्मसमीक्षा गर्न जरुरी छ ।

(ख) सहकार्यका साझा सवालहरुको पहिचान र कार्य जिम्मेवारी ब्यवस्थापन
फरक राजनीतिक बिचार, सिद्धान्त, दृष्टिकोण भएका राजनीतिक दलहरुको बीचमा सहकार्य गर्नका लागी जनसरोकारका साझा सवालहरु हुनुपर्दछ । जनसरोकारका साझा सवालहरु बिना फरक राजनीतिक पार्टीहरुको बीचमा सहकार्य हुन सक्दैन । रुकुम जिल्लाको सन्दर्भमा राजनीतिक पार्टीहरुको साझा सवालहरु सुशासन, बिकास, सम्बृद्धि, सामाजिक न्याय, द्वन्दपिडितहरुको राहत तथा परिपुरण एवं द्वन्द ब्यवस्थापन, सामाजिक(साँस्कृतिक रुपान्तरण एवं अन्तरघुलन लगायतका बिषयहरु हुन सक्छन् ।
साझा सवालहरुको पहिचान गरिसकेपछि साझा प्रतिबद्धता सहितको नीति तथा कार्यक्रम र बजेट सहितको ठोस कार्यजिम्मेवारी ब्यवस्थापन गर्ने कुरामा बिशेष ध्यान दिनै पर्दछ । सवाल साझा बन्ने तर बजेट सहितको कार्यजिम्मेवारी सम्मानजनक नहुने हो भने त्यसले सहकार्यमा समस्या पैदा गर्दछ । दलहरुको बीचमा सहकार्य गर्दा शंका र बिश्वास अनि आलोचना र प्रशंसालाई सन्तुलित ढंगले उपयोग गर्ने खालको साझा कार्यबिधि बनाएर लागु गर्नुपर्ने हुन्छ । शंका गर्दा अविश्वास गर्ने वा बिश्वास गर्दा अन्धबिश्वास गर्ने खालको अतिवादी सोंचले पनि सहकार्यमा समस्या पैदा गरेर सहकार्य टुटाउने या सहवरण गराएर सहअस्तित्वलाई नामेट पार्ने अवस्थामा पु¥याउछ । फरक राजनीतिक बिचार, सिद्धान्त बोकेका पार्टीहरु बीचको सहकार्यलाई नुन, चिनी र पानीको रुपमा बिलय गराउने गरि होइन कि दाल, चामल, नुन, तेल, बेसार, मसला मिश्रित खिचडि बनेको सहअस्तित्व सहितको सर्वोत्तम स्वादिष्ट भोजनको रुपमा उपयोग गरिनु पर्दछ । बिपरित तत्वहरुको बीचमा एकता र संघर्ष मात्र हुदैन सहअस्तित्व सहितको समिश्रणबाट सर्वोत्तम नयाँ चिज पनि निर्माण हुन सक्छ भन्ने नयाँ सोंचको बिकास गरेर ब्यवहारमा लागु गर्न आवश्यक छ । लोकतान्त्रिक पद्दतिको हकमा यो पनि एउटा नयाँ प्रयोग र नयाँ आयाम सावित हुनसक्छ ।

उपसंहार
कसैले स्वीकार गरोस् या नगरोस् रुकुमको हकमा अहिले सबैभन्दा प्रभावशाली राष्ट्रिय स्तरको राजनीतिमा पहलकदमी लिनसक्ने नेतृत्व ने.क.पा.मै रहेको छ । त्यतिमात्र होइन नेतृत्वको गलत प्रवृत्तिगत कार्यशैली र ने.क.पा.को बिकृत कार्य प्रणालीले नेतृत्वको सबैभन्दा असुरक्षा पनि त्यहि पार्टीभित्र नै रहेको छ । त्यसमा पनि नेतृत्वकै वरिपरि रहेर फाइदा लुटिरहेका मान्छेहरुको निहित स्वार्थमा धक्का लाग्न थाल्यो भने नेतृत्वलाई जतिबेला पनि दुर्घट्नाको शिकार बनाउने अवस्था पनि त्यहि भित्रबाटै हुनसक्छ । त्यसैले नेतृत्वले आत्मरक्षाका लागी पनि सिमित घेरा तोडेर फराकिलो दायरा बनाउन आवश्यक देखिन्छ ।
ने.क.पा. रुकुमको पार्टी र जनप्रतिनिधिहरु जति फराकिलो छाती बनाएर सहअस्तित्वलाई स्वीकार गर्दै सबैसंग सहकार्य गर्न तयार हुन्छन् त्यति नै मात्रामा आफ्नो सुखद भविष्यको आयु बढाउदै गएका हुनेछन् । कम्युनिष्ट पार्टी प्रणालीमा असफल भइसकेको निषेधात्मक द्वन्दवादको नियम अहिलेको सन्दर्भमा हुबहु लागु गर्न खोजे ने.क.पा. रुकुमको दुखद अवसानलाई कुनैपनि शक्तिले रोक्न सक्नेछैन । त्यसबेला एक शुभचिन्तकको हैसियतले सहानुभूति दर्शाउन मात्र सकिन्छ । त्यस पार्टीभित्रै रहेका इमानदार नेता, कार्यकर्ता र समर्थक जनताले पनि ने.क.पा.को दुखद अवसान हुँदा भीरबाट लड्ने गोरुलाई झैं रामराम मात्र भन्ने छन तर कसैले पनि काँध थाप्ने छैनन । जबसम्म पार्टी रहन्छ तबसम्म ब्यक्तिगत फाइदा लिने हो भन्ने मानसिकता बोकिरहने या रुपान्तरण पनि हुने हो ? फरक बिचार बोकेको मान्छेलाई अर्को पार्टीको किन यति धेरै चिन्ता ? भन्ने प्रश्न पनि उठ्न सक्ला । किन कि सानो डुङगामा बसेका मान्छेहरु हजारौं यात्रु बोकेको पानीजहाज डुब्न लाग्दा कदापि खुसी हुन सक्दैनन । बरु खतराको संकेत गराएर बिकल्प रोज्न र खोज्नको लागी सल्लाह सुझाव दिन सक्छन । आगे तहाँको मर्जी । जय होस् !

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto

तिहारको शुभकामना । Happy Tihar


This will close in 20 seconds