आहा सञ्चार संबाददाता
रुकुम पश्चिम मुसीकोट नगरपालिकामा होमस्टे (घरबास ब्यवस्थापन तथा अभिमुखीकरण) तालिम सम्पन्न भएको छ । नगरपालिकाको वडा नम्बर ७ साँखमा ३ दिने होमस्टे (घरबास ब्यवस्थापनतथा अभिमुखीकरण) तालिमको बिहीबार समापन गरिएको हो । नगरपालिकाको आर्थिक सहयोगमा संस्कृति तथा पर्यटन विकास केन्द्र नेपाल रुकुम (पश्चिम)ले तालिमको आयोजना गरेको थियो । तालिममा पर्यटन र त्यसका प्रकार, होमस्टे, होमस्टे सञ्चालनका आवश्यक मापदण्ड, हाइजिन लगायतका बिषयका सिकाइएको बताइएको छ ।
त्यसैगरि तालिममा खाना र नास्ताका परिकार मध्ये १८ किसिमका नास्ताका परिकार निर्माण गर्न सिकाइएको आयोजकले जनाएको छ । तालिममा निर्माण गर्न सिकाइएका परिकारहरु चिकेन चिल्ली, बिरियानी, रोष्ट, चिकेन करी, सिस्नोको सुप, आलु सलाद, मायोनाइज सस, पनिर तरकारी, फ्राइ एग, स्क्राइन्वल एग, पोच एग, पान केक, आलु चप साधा अम्लेट, मसला अम्लेट सोते पोट्याटो र स्पीङ रोल लगायतका रहेको तालिमका प्रशिक्षक मनोज कुमार बस्नेतले जानकारी दिए । ३ दिनसम्म सञ्चालित तालिममा वडा नम्बर ७ का १ पुरुष र १४ जना महिलाको सहभागिता रहेको थियो । मंगलबार देखि सञ्चालित तालिम बिहीबार औपचारिक कार्यक्रम गरि समापन गरिएको छ । समापन कार्यक्रममा जिल्ला समन्वय समिति रुकुम (पश्चिम)का प्रमुख राजकुमार शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यसैगरि नगर प्रमुख देबीलाल गौतमको बिशेष आतिथ्यता रहेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल, जिल्ला समन्वय समिति रुकुम (पश्चिम)का सदस्य टेकबहादुर ओली, नगरपालिका वडा नम्बर ४ का अध्यक्ष निर्मल कुमार पुन, कार्यपालिका सदस्य धिरन सिर्पाली, लेखा अधिकृत रामबहादुर केसी, कानुन अधिकृत ललित बुढा लगायतको आतिथ्यता रहेको थियो । वडा नम्बर ७ का अध्यक्ष हिमबहादुर पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संस्कृति तथा पर्यटन विकास केन्द्र नेपाल रुकुम (पश्चिम)का अध्यक्ष पहलसिहं घर्तीले गरेका थिए ।
फेसबुक प्रतिक्रियाहरु