मेगराज खड्का
रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा रहेको त्रिभुवन जनता माबिका बिद्यार्थीहरुको छात्रबास तथा प्रशासनिक भवनका लागि काम थालिएको करिब एक दशक पुग्न लाग्दा पनि सम्पन्न हुन सकेको छैन । भारतीय दुतावासको आर्थिक सहयोगमा तत्कालिन जिल्ला विकास समिति मार्फत ठेक्का आह्वान भएर काम थालिएको थियो ।
आर्थिक बर्ष २०६६/६७ मा कामको थालनी भएपनि करिब ९ बर्ष सम्म पनि निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले बिद्यालयलाई भवन हस्तान्तरण गर्न नसकेको हो । २ बर्ष भित्र भवन निर्माण सक्काएर बिद्यालयलाई हस्तान्तरण गर्नुपर्ने सम्झौता थियो । हाल १५ वटा कोठा सहितको भवन निर्माण भएको भएपनि फिनिसिंङको काम अझै बाँकी छ । भवन निर्माण भएको समेत लामो समय बितिसक्दा पनि भवनको झ्यालढोका र रंगरोगन सहितको काम अझै अधुरै रहेको हो । बिद्यालय भवन निर्माण सम्पन्न नभएर बिद्यालयलाई हस्तान्तरण नहुँदा सञ्चालन गर्ने भनिएको बिद्यार्थी छात्रबास र व्यवस्थित प्रशासनिक कामकाज प्रभाबित बनेको बिद्यालयका प्रध्यानध्यापक हरि प्रसाद खनालले जानकारी दिए । उनका अनुसार उक्त भवन निर्माणको काम नसकिएका कारण दुतावासबाट त्रिभुवन माबि र जिल्लाका अन्य शैक्षिक संस्थाहरुमा दिने अन्य सुबिधा समेत रोकिएको छ । ‘बिद्यालय भवन निर्माण सम्पन्न भएर बिद्यालयलाई हस्तान्तरण नहुँदा छात्रबास र प्रशासनिक भवनको काम त रोकिने भयो नै दुताबासबाट जिल्लामा आउने अन्य सहयोग पनि रोकिएको छ’ उनले भने, ‘दुताबासले जिल्लामा दिएको एउटा आफ्नो आयोजना सम्पन्न भएर हस्तान्तरण नभए सम्म अर्को योजना दिने गरेको छैन, जसले गर्दा हाम्रो बिद्यालय लगायतका अन्य संस्थाहरुको लागि दिने तयारी गरिएको पुस्तकालय, एम्बुलेन्स लगायतका अन्य सुबिधाहरु पनि रोकिएका छन ।’
२ करोड ७८ लाखको लागतमा भवन निर्माण सम्पन्न गर्ने ठेक्का थियो । उक्त ठेक्का स्वच्छन्द्ध कन्ट्रक्सन प्रालिले पाएको थियो भने जिल्लामा भवन निर्माण गर्ने जिम्मा उक्त निर्माण कम्पनी मार्फत टेकबहादुर पुनले लिएका थिए । भवन निर्माणको पहिलो किस्ता ल्याईरहेको भएपनि भवन निर्माणको काम सम्पन्न नभएका कारण अन्तिम किस्ता भने अझै पनि भुक्तानी भएको छैन । दुतावासको कर्मचारीहरुले जिल्लामा आएर पहिलो पटक अनुगमन गरेपनि पछिल्लो समय आएका छैनन । भवन निर्माणको ढिलासुस्तीको बिषयमा उक्त निर्माणको जिम्मा लिएका व्यवसायी पुन संग प्रश्न गर्दा बिभिन्न कारणले समयमै भवन निर्माण गर्न नसकेको स्वीकार्दै बाँकी काम छिटै सम्पन्न भएर हस्तान्तरण गर्ने बताए । भवनको निर्माणको अधिकांस काम सम्पन्न भएको र फिनिसिङको कामका लागि पनि आफु लागिरहेको उनको भनाई छ । ‘भवनको काम अन्तिम चरणमा छ, झ्याल ढोका राख्ने काम पनि करिब एक महिना भित्रै सम्पन्न हुन्छ’ उनले भने, ‘दुताबासका कर्मचारीहरु अन्तिम अनुगमनका लागि जिल्लामा नआउँदा मैले लिनुपर्ने अन्तिम किस्ता पनि भुक्तानी भएको छैन भने स्रोत जुटाउन समस्या हुँदा केहि ढिला पनि हुन गयो ।’ दुताबासले तत्काल भुक्तानी नगरेपनि आफैले ऋण काढेर भएपनि छिटै भवन निर्माण सम्पन्न पर्ने उनको भनाई छ ।
‘भवन निर्माण सकिएपनि मैले पाउनुपर्ने सबै भुक्तानी नपाएसम्म बिद्यालयलाई भवन हस्तान्तरण गर्न त सकिदैन’ उनले भने, ‘त्यसका लागि दुतावासका कर्मचारीहरु जिल्लामा आएर भवन निर्माणको मुल्यांकन गरेर अन्तिम रिपोर्ट दिन आवश्यक छ ।’ रुकुमको बिभिन्न योजना आयोजनामा ढिलासुस्ती गर्ने ९ ठेकेदार कम्पनीको सूची यसअघि नै जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले गृह मन्त्रालयमा बुझाइएको छ । आयोजना सम्झौता अवधि भन्दा धेरै समय कटि सक्दा पनि निर्माण नगरेको भन्दै ९ ठेकेदार कम्पनिको सूची गृह मन्त्रालयमा पठाइएको थियो । जसमा त्रिभुवन जनतामा माबिको भवन निर्माण ठेक्का लिएको स्वच्छन्द कन्ट्रक्सन सूर्य जेभी पनि रहेको छ ।