प्रभात गुरुङ
रुकुम
लुकुमखोला लघु जल विद्युत उपभोक्ता समितिद्धारा संचालित विद्युत एक महिना देखि अवरुद्ध भएको छ । गत जेठ ३१ गते पुरानो काठको पोल ढलेर तार सर्ट भएपछि उक्त विद्युत लाइन अवरुद्घ भएको थियो । अवरुद्घ भएको लामो समय बितिसक्दा पनि विद्युत सञ्चालनमा आउन सकेको छैन । विद्युत नहुँदा विद्युतिय कामकाज ठप्प भएको छ ।
अझै पनि विद्युत सञ्चालनमा आउने निश्चित छैन । बिद्युत सर्ट हुँन्दा ट्रान्सफर्मर लगायतका मेसिनहरुमा समेत क्षति भएका कारण बिद्युत संचालनमा ढिलाई भैरहेको समितिले जनाएको छ । खराब भएका सामानहरु खरिद गर्न हालसम्म ७३ हजार रुपैयाँ खर्च भइसकेको समितिका अध्यक्ष रुजिधन घर्तीले बताए । उनका अनुसार मेसिन मर्मत गरि पुनः सञ्चालनमा ल्याउन करिब ३ लाख रुपैयाँ खर्च लाग्ने अनुमान छ ।
समितिसँग अहिले उक्त रकम अपुग रहेकाले केही रकम ऋण लिने प्रकृयामा रहेको छ । समितिको आगामी दिनहरुमा मापदण्ड विपरित विद्युत प्रयोग गर्नेलाई कारबाही गर्ने समेत जनाएको छ । बिद्युत मर्मतमा पहल भएपनि वर्षा यामसँगै यातायातका साधानहरु अवरुद्ध हुँदा समान ढुवानीमा समस्या भएको छ ।
