डिल्लीबहादुर खत्री
चौरजहारी
रुकुम पश्चिम चौरजहारी नगरपालिकामा रहेको हिमालय माविलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट दुई बिद्यार्थी संगठनले सात बुँदे मागपत्र पेश गरेका छन । बिद्यालयमा भएको अनियमितताको अन्त्य गर्न मागपत्र बुझाएको बताइएको छ । विज्ञप्ती अनुसार सिटिईभिटि तर्फका कक्षाबाट लगिने जम्मा शुल्कको २५ प्रतिशत रकम कम गर्नुपर्ने, कक्षा ६ देखि ९ कक्षासम्म लगिएको २ सय रुपैयाँ भर्ना शुल्क तुरुन्तै फिर्ता गर्नुपर्ने र ११÷१२ कक्षाको भर्ना शुल्क खारेज गर्नुपर्ने, सिटिईभिटि तर्फका बिद्यार्थीलाई ईन्टरनेट सेवा दिनुपर्ने र पुस्तकालय व्यवस्थित तरिकाले सञ्चालन गर्नुपर्ने रहेका छन ।
त्यस्तै तीन बर्षे बालि बिज्ञान अन्तरगत दोस्रो बर्षका बिद्यार्थीको तथ्यांक शास्त्र र कम्प्युटर प्रयोगात्मकको लागि आवश्यक सामाग्री तुरुन्त उपलब्ध बनाउनुपर्ने, बिद्यालयको भौतिक पुर्वाधार सुधार गरिनुपर्ने र बिद्यालय प्रशासनको गतिविधि सुधार गर्नुपर्ने माग राखिएको छ । विज्ञप्तिमा यस अघि २८ गते बिद्यालय प्रशासनमा बुझाएको विज्ञप्तिको बेवास्ता गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको छ । पत्रमा यदि ४८ घण्टाभित्र पनि माग पूरा नभए संघर्षका कार्यक्रम अघि बढाइने उल्लेख छ । ‘आफ्नो ज्ञापनपत्रलाई ध्यान नदिई बिद्यालय प्रशासन र विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन बिच २० प्रतिशत शुल्क कम गर्ने उक्त सहमति प्रति आपति प्रकट गर्दै विद्यार्थीको हकहितको पक्षमा नभएको हुँदा घोर विरोध र निन्दा गर्दैछौं’ पत्रमा भनिएको छ ।