मनिषा राई
रोल्पा १४, माघ : जिल्ला खेलकुद विकास समिति रोल्पाको आयोजनामा खेल प्रशिक्षक तथा रेफ्रिहरुका लागि रोल्पामा ५ दिने पुर्नताजगी तालिम शुरु भएको छ । राष्ट्रिय खेलकुद परिषदले देशका विभिन्न ३० जिल्लामा संचालन गर्न लागेको सो तालिमको रोल्पावाट आईतबार औपचारिक सुरुवात गरिएको हो । तालिम उद्घाटन कार्यक्रममा वोल्दै राष्ट्रिय खेलकुद परिषदका निर्देशक नविन उप्रेतीले खेल क्षेत्रलाई धारिलो पार्न प्रशिक्षकहरुलाई तालिम शुरु गरिएको बताए ।
खेल क्षेत्रको विकासका लागि क्लव, विद्यालय तथा समुदाय स्तर सम्म खेलकुद शिक्षा पुग्न जरुरी रहेको उनको भनाई थियो । तालिममा जिल्लाका विभिन्न विद्यालयका खेलशिक्षक, क्वलका प्रतिनिधि र रेफ्री गरि ६५ जनाको सहभागिता रहेको बताईएको छ । राष्ट्रिय खेलकुद परिषदका भलिवल वरिष्ट प्रशिक्षक सुरेश रिमाल, एथलेटिक्सका वरिष्ट प्रशिक्षकद्धय सुशिलनरसिं राना र धनिराम चौधरी र कवड्डीका वरिष्ट प्रशिक्षक सुदेश वैद्यले तालिम सहजीकरण गर्नेे जिल्ला खेलकुद विकास समिति रोल्पाका अध्यक्ष ओमराज घर्तीले बताए ।
