भिम बुढाथोकी

१. मध्यपूर्वको त्रासदीबाट सिक्नुपर्ने पाठ।

आजको विश्व व्यवस्था फेरि एकपटक शीतयुद्धकालीन ध्रुवीकरणतर्फ धकेलिएको छ। मध्यपूर्वमा अमेरिकी सैन्य उपस्थितिले ल्याएको अस्थिरता हाम्रा सामु छ। इराक, सिरिया र लेबनान जस्ता देशहरूले आफ्नो सार्वभौमिकताभन्दा माथि उठेर विदेशी सैन्य रणनीतिको हिस्सा बन्दाको मूल्य आज मिसाइल र बमबारीबाट तिरिरहेका छन्। इरानले अमेरिकी सैन्य अखाडाहरूलाई लक्षित गरी गरिरहेका प्रहारहरूले एउटै कुरा प्रमाणित गर्छन्की विदेशी सेनाको उपस्थिति सुरक्षाको ग्यारेन्टी होइन।बरु आक्रमणको निम्तो हो।

यही पृष्ठभूमिमा नेपालले आफ्नो भू-राजनीतिक अवस्थितिलाई पुनरावलोकन गर्न जरुरी छ। दुई विशाल र आणविक शक्तिसम्पन्न छिमेकीहरू चीन र भारतको बीचमा रहेको नेपालले सैन्य अखडा बन्ने सानो मात्र गल्ती गर्‍यो भने हाम्रो हालत मध्यपूर्वको भन्दा पनि भयावह हुन सक्छ।

२. SPP र एमसीसी: रणनीतिक पासो कि विकास?

नेपालमा केही समयदेखि अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (SPP) र एमसीसी (MCC) लाई लिएर ठूलो विवाद भयो। विशेषगरी SPP लाई नेपाली जनताले सैन्य गठबन्धन को रूपमा बुझे र यसको व्यापक विरोध भयो।

तथ्य के हो भने अमेरिकाको ‘इन्डो-प्यासिफिक रणनीति’ (IPS) को एउटा उद्देश्य चीनलाई घेर्नु हो भन्ने देखिन्छ ।नेपाल जस्तो संवेदनशील ठाउँमा अमेरिकी सेनाको कुनै पनि प्रकारको सहकार्य वा उपस्थिति हुनु भनेको उत्तरी छिमेकी चीनका लागि रेड लाइन पार गर्नु सरह हो। यदि नेपालले कुनै पनि विदेशी शक्तिलाई सैन्य तालिम वा सैन्य पूर्वाधारका नाममा यहाँ टेक्ने ठाउँ दियो भने भोलि चीन र भारतले पनि आफ्नो सुरक्षाका लागि नेपालमै सैन्य सन्तुलन खोज्नेछन्। त्यसपछि नेपाल नेपाल रहनेछैन।बरु शक्ति राष्ट्रहरूको ‘प्रोक्सी वार को अखडा बन्नेछ।

३. पञ्चशील र असंलग्न परराष्ट्र नीति: नेपालको एकमात्र रक्षाकवच

नेपालको परराष्ट्र नीतिको मेरुदण्ड भनेकै पञ्चशीलका पाँच सिद्धान्त र असंलग्नता हो। राजा महेन्द्रदेखि वीरेन्द्रसम्म र पछिल्ला समयका कूटनीतिज्ञहरूले समेत यसलाई जोगाउन ठूलो मिहिनेत गरेका थिए।

• असंलग्नता : यसको अर्थ तटस्थता मात्र होइन, बरु कुनै पनि सैन्य ब्लक (Military Block) मा सामेल नहुने प्रतिवद्धता हो। अमेरिका, चीन वा भारत

हामीलाई कसैको पनि सैन्य छत्रछाया चाहिँदैन।

• पञ्चशील : एक-अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र क्षेत्रीय अखण्डताको सम्मान गर्ने यो सिद्धान्तले नै नेपाललाई विश्व मानचित्रमा एउटा शान्तिपूर्ण देशको रूपमा चिनाएको छ।

नेपालले चीनसँग ‘बीआरआई’ (BRI) र अमेरिकासँग एमसीसी (SPP)जस्ता परियोजनामा सहकार्य गर्दा पनि ती केवल आर्थिक र पूर्वाधारमा मात्र सीमित हुनुपर्छ। त्यहाँ सैन्य गन्ध मिसिने बित्तिकै नेपालले  हुन्न भन्न सक्ने साहस राख्नुपर्छ।

४. तेस्रो विश्वयुद्धको सम्भावना र नेपालको जोखिम

विश्व अहिले युक्रेन-रुस युद्ध र इजरायल-हमास-इरान द्वन्द्वका कारण तेस्रो विश्वयुद्धको संघारमा उभिएको जस्तो देखिन्छ। यस्तो बेला साना देशहरू शक्ति राष्ट्रहरूको रणनीतिक प्यादा बन्ने खतरा रहन्छ।

यदि नेपालले कुनै एक पक्षको सैन्य स्वार्थलाई समर्थन गर्‍यो भने के हुन सक्छ ?

क)चीनको सुरक्षा चासो: तिब्बतको सुरक्षालाई लिएर चीनले नेपालमा कडा कदम चाल्न सक्छ।

ख )भारतको भूमिका: नेपालमा विदेशी सेनाको उपस्थिति भारतका लागि पनि टाउको दुखाइको विषय बन्नेछ।

ग)आन्तरिक गृहयुद्ध: विदेशी शक्तिहरूले नेपालका विभिन्न राजनीतिक दल र समूहलाई उचालेर देशलाई आन्तरिक कलहमा फसाउन सक्छन्।

५. समयमै बुझ्नुपर्ने कुरा: हाम्रो मुक्ति कूटनीतिमा छ ,हतियारको साथ होईंन ।

नेपालले बुझ्नुपर्छ कि हाम्रो भूगोल हाम्रो शक्ति पनि हो र कमजोरी पनि। हामीले कसैको पक्ष लिएर अर्कोलाई सिध्याउने खेलमा सामेल हुनु आत्मघाती हुनेछ।

नेपालले के गर्न जरूरी छ?

अ)चीनका लागि: हामीले विश्वास दिलाउनुपर्छ कि नेपाली भूमिबाट चीन विरोधी गतिविधि हुने छैन।

आ)भारतका लागि: भारतको सुरक्षा चासोमा नेपाल सधैँ संवेदनशील छ ।ई)अमेरिकाका लागि: नेपाल विकासमा सहकार्य गर्न तयार हुनु पर्छ ।तर सैन्य रणनीतिमा होइन।

६)इतिहासको शिक्षा र वर्तमानको दायित्व

मध्यपूर्वमा आज जे भइरहेको छ, त्यो वैदेशिक सैन्य हस्तक्षेपको परिणाम हो। नेपालले समयमै SPP जस्ता घातक सम्झौताहरूलाई पूर्ण रूपमा अस्वीकार गरेर र पञ्चशीलको मर्मलाई आत्मसात् गरेर मात्रै आफ्नो सार्वभौमिकता जोगाउन सक्छ।

हामीले बिर्सनु हुँदैन कि जब दुईवटा हात्ती लड्छन् तब मिचिने भनेको घाँस नै हो।हामी त्यो घाँस बन्नु हुँदैन। हामीले त दुई हात्तीको बीचमा रहेको एउटा यस्तो शान्ति टापु बन्नुपर्छ,जहाँ कसैको सेनाको बुट बज्न नपाओस्।

नेपाललाई तेस्रो विश्वयुद्धको भुमरीबाट जोगाउने एउटै बाटो भनेको सन्तुलित, असंलग्न र स्वाभिमानी परराष्ट्र नीति नै हो। आजैबाट सचेत नहुने हो भने भोलि इतिहासले हामीलाई धिक्कार्नेछ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...