नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रुकुम पश्चिमले आगामी फागुन २१ गते हुने निर्वाचन केन्द्रीत चुनावी संकल्प पत्र सार्वजनिक गरेको छ । जिल्ला सदरमुकाम मुसिकोट खलंगामा पत्रकार सम्मेलनको आयोजना गरेर पार्टीको चुनावी संकल्प प्रस्ताव सार्वजनिक गरेको हो ।
नेकपाका केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन समितिका संयोजक वसन्त शर्माले संकल्प प्रस्ताव प्रस्तुत गरेका हुन । जसमा जिल्लाको शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार र आत्मनिर्भर रुकुम पश्चिमको आधार लगायतका विषय समेटिएका छन । सडक पूर्वाधार, सामाजिक विकास, आर्थिक विकास, संस्थागत विकास तथा सुशासन र वन, वातावरण तथा विपत् व्यवस्थापन गरेर पाँच क्षेत्रमा काम गर्ने भनेर नेकपाका तर्फबाट संकल्प गरिएको छ ।
पत्रकार सम्मेलनमा सहभागी नेकपा रुकुम पश्चिमका उम्मेदवार गोपाल शर्माले यो संकल्प पत्र संक्षेपमा रहेको र विभिन्न पालिका तथा वडा गत योजनाहरु स्थानीय आवश्यकताको आधारमा छलफल गरेर अगाडि बढाईने बताए । ‘हामी विगतको समीक्षा र वर्तमानको योजनासहित अघि बढ्नेछौं, सकेसम्म धेरै मतदाताको घरदैलोमा पुग्नेछौं’ उनले भने । पत्रकार सम्मेलनको संचालन नेकपा रुकुम पश्चिमका संयोजक सचिन रोकाले गरेका थिए ।

