मेगराज खड्का
रुकुम पश्चिम
आगामी प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि रुकुम पश्चिमबाट उम्मेदवारी दिएका १२ उम्मेदवार मध्य ४ जना उम्मेदवार माओवादी मुलका रहेका छन । यी चार जना उम्मेदवारहरु माओवादीको चुनाव चिन्ह हसिँया हतौडाबाट कोहि स्वयम आफै उम्मेदवार र कोहि हसिया हतौडाका उम्मेदवारलाई सघाएर सहयोग गरेको इतिहास छ । तर यसपटक भने चारै जना उम्मेदवारहरु पुरानो माओवादी विराशतको चुनाव चिन्ह हसिया हतौडा बाहेकको नयाँ चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका छन ।
माओवादी जनयुद्धकालमा जनमुक्ति सेनाको डेपुटी कमाण्डर देखि पार्टीको उपमहासचिव समेत भैसकेका नेता जनार्दन शर्मा समाजवादी र माओवादी विचको एकताबाट नेकपा बनेपछि असन्तुष्टि ब्यक्त गर्दै नयाँ पार्टी निर्माण गरे । उनी अहिले रुकुम पश्चिममा प्रगतिशिल लोकतान्त्रिक पार्टीको उम्मेदवारको रुपमा आँखा चुनाव चिन्ह लिएर चुनावी मैदानमा छन । रुकुम पश्चिमबाट पटक पटक जीतेका शर्मा स्थानीय देखि राष्ट्रिय राजनीतिको प्रभावशाली नेताको रुपमा पर्दछन ।
त्यस्तै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) रुकुम पश्चिममा उम्मेदवार गोपाल शर्मा पनि यसअघिको निर्वाचनमा रुकुम पश्चिमबाट माओवादीको हसिया हतौडा चुनाव चिन्हबाट प्रदेश सभासदस्यमा उठेर निर्वाचित भएका थिए । तर यसपटक माओवादी नाम र चुनाव चिन्ह नभएर एकतापछि बनेको नयाँ पार्टी नेकपा र नयाँ चुनाव चिन्ह ताराबाट उम्मेदवारी दिएका छन । यसअघि नेकपा माओवादीको जिल्ला संयोजक देखि केन्द्रीय सदस्य र कर्णाली प्रदेश सरकारको आर्थिक मामिला मन्त्री भएर काम गरिसकेका छन ।
बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले यसपटक निर्वाचनमा भाग लिन पार्टीको नाम परिवर्तन गरेर नेकपा माओवादी राखेको छ । प्रचण्ड नेतृत्वको पार्टीले एकिकृत समाजवादीसंग मिलेर नेकपा माओवादी केन्द्र हटाउदा माओवादी ब्रान्डिङ गर्न विप्लवले नेकपा माओवादी र चुनाव चिन्ह गुलाफको फुल राखेका छन । त्यहि पार्टीबाट रुकुम पश्चिममा चन्द्रबहादुर बुढा प्रतिनिधीसभा सदस्यमा उम्मेदवारी दिएका छन ।
त्यस्तै मानबहादुर शाही यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीबाट रुकुम पश्चिमको प्रतिनिधीसभा सदस्यमा उम्मेदवारी दिएका छन । उनी पूर्ब माओवादी युवा नेता हुन । शाही नेकपा माओवादी केन्द्रको रुकुम काठमाण्डौ सम्पर्क समितिमा रहनुका साथै अघिल्लो प्रदेशसभा निर्वाचनमा जिल्लामै रहेर नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई जीताउन सक्रिय भूमिका खेलेका थिए । पार्टीमा आन्तरिक खटपट भएपछि २०८० माघमा पार्टी छोडेर रास्वपातीर सक्रिय भएका हुन । अघिल्लो प्रदेशसभामा हसिया हतौडामा मत मागेका शाही यसपटक आफ्नै घण्टी चुनाव चिन्हमा मत मागिरहेका छन ।

