भिम बुढाथोकी
विद्यालय कुनै भवन मात्र होइनकी यो एउटा जीवित संसार हो जहाँ बिहानीको घामसँगै आशाहरू फुल्छन् । हरेक कक्षाकोठामा भविष्यका सपना उम्रिन्छन् अनि प्रत्येक दिन साना–साना अनुभवहरूले ठूला–ठूला जीवनका अध्यायका महान बोधहरू निर्माण गर्छन् । विद्यालय एक जीवन्त चित्र भित्र एक मीठो हाँसो, अनुशासन, जिज्ञासा, कक्षा कोठामा मनोरम क्रियाकलाप, पुस्तक कक्षको शान्तता, खेलमैदानको चहल–पहल र शिक्षकको मायाले बनेको एउटा सामूहिक धड्कन हो । यही धड्कनको स्पन्दन बलियो छ भने मात्र विद्यालयको गुणस्तर वृद्धि सम्भव हुन्छ ।
गुणस्तरताको यो वृद्धि एक्लै न प्रधानाध्यापकले, न मात्र शिक्षकले, न अभिभावकले, न मात्र विद्यार्थीहरूले गर्न सक्दछन । विद्यालयको समग्र प्रगति त्यो क्षणबाट शुरु हुन्छ जब विद्यालयभित्रका सबै मानिसहरू एउटै उद्देश्य, एउटै चाहना र एउटै प्रतिबद्धतामा एकतातर्फ बग्न थाल्छन् । सिंगो टिमको सक्रियताले मात्र विद्यालयलाई साँच्चिकै “जीवन निर्माण केन्द्र” बनाउँछ ।

१) गाउँको सानो विद्यालयदेखि सुरु हुने ठूलो अन्तर्सत्ता ।
नेपालका धेरै विद्यालयहरू ठूला नगरमा नभई गाउँ–बस्तीका यथार्थ भित्रै जन्मन्छन् । पहाडको पाखामा उभिएको सानो भवन, टिनको छाना, केही जीर्ण कक्षाहरू, विद्यालयको माथिबाट उडिरहेको हावासँग खेल्ने झण्डा, यत्ति मात्र होईन विद्यालय । भित्र पसे पछि मात्र देखिन्छ एक संसार जसलाई ठूलो बनाउन इच्छुक धेरै हातहरू सक्रिय छन् । यही विद्यालयहरूको विकासका कथा धेरैजसो समान छन् जहाँ अभाव, चुनौती र संघर्षले सुरु हुने कथा । तर संयुक्त प्रतिबद्धताले उज्यालो हुने विद्यालयको गुणस्तर वृद्धि त्यतिबेला मात्र सम्भव हुन्छ जब विद्यालयभित्रका सबै भूमिकामा रहेका वहनकर्ता आफ्ना–आफ्ना दायित्वलाई मात्रै होइन, “साझा भविष्य” निर्माण गर्ने अभिप्रायलाई पनि बुझ्छन् ।

२)नेतृत्वको दृष्टि ः परिवर्तनको पहिलो बिउ ।
विद्यालयको टिम कोही एकजनाबाट बन्न सक्दैन । तर टिमलाई दिशा दिने शक्ति नेतृत्व हो । प्रधानाध्यापक केवल प्रशासन चलाउने व्यक्ति मात्र होइनकि विद्यालयको भविष्य देख्न सक्षम स्वप्नद्रष्टा पनि हुनुपर्छ ।
जब प्रधानाध्यापकले बिहानै विद्यालयको आँगनमा उभिएर कक्षाहरू, शिक्षकहरूको तयारी, विद्यार्थीहरूको क्रियाकलाप, विद्यालयको वातावरण र ऊर्जा निरीक्षण गर्छन्, तब बिस्तारै विद्यालय एउटा अनुशासित परिवारजस्तै अगाडि बढ्न थाल्छ ।
शिक्षकहरूको सम्मान गर्ने, उनीहरूको कठिनाइ बुझ्ने, उनीहरूलाई सिकाइका नयाँ तरिकाहरूमा उकास्ने र विद्यालयका लक्ष्यहरू स्पष्ट रूपमा साझा गर्ने नेतृत्व नै गुणस्तर वृद्धि प्रक्रियाको पहिलो ढुङ्गा हो। नेतृत्वले “म” होइन “हामी” भन्ने मनोवृत्ति बोकेको हुनुपर्छ। विद्यालयको सफलतामा जुनसुकै भूमिका किन नहोस्, सबैको हात बराबरी छ भन्ने भावना जगेर्ना गर्न नेतृत्व सक्षम भयो भने विद्यालय परिवर्तनको यात्रामा एकैपटक प्रवेश गर्छ ।

३) शिक्षक ः विद्यालयको आत्मा ।
विद्यालयमा सिकाइ, प्रेरणा, अनुशासन, व्यवहार र मूल्य यी सबैलाई एउटै सूत्रमा बाँध्ने शक्ति शिक्षकहरूको सक्रियता हो। शिक्षक मात्र पढाउने व्यक्ति होइननकी उनीहरू जीवनका सहयात्री पनि हुन् ।
शिक्षकको हातमा किताब मात्र हुँदैन, एउटा मनोविज्ञान, एउटा कलात्मकता, एक धैर्य र एउटा विशाल सपना पनि हुन्छ जसले प्रत्येक विद्यार्थीलाई सक्षम बनाउने सपना बोक्दछन ।

कुनै कक्षामा जांदा ती विद्यार्थीहरूको आँखामा चमक देखिनु शिक्षकका लागि सबैभन्दा ठूलो पुरस्कार हो । तर त्यो चमक नदेखिने दिनहरू पनि हुन्छन् । विद्यार्थीहरू उदास, थाकेका, ध्यान नहुने,घरको समस्याले बिथोलिएका हुन सक्दछन ।यहीथरीका दिनमा शिक्षकको सक्रियता, धैर्य र संवेदनशीलता विद्यालयको गुणस्तर वृद्धि प्रक्रियालाई टिकाइराख्छ । शिक्षकहरूले नयाँ पद्धति अपनाएर कथावाचन मार्फत सिकाइ, क्ष्ऋत् बाट सिकाइ, समूहगत कार्य, परियोजना–आधारित मूल्यांकनले विद्यालयको वातावरण नै परिवर्तन हुन्छ ।
सिर्फ पाठ्यपुस्तकमा बाँधिएको शिक्षण नभई जीवनसँग जोडिएको सिकाइले विद्यार्थीहरूमा जिज्ञासा, सृजनशीलता र जिम्मेवारी भावना पैदा गर्छ । यिनै विद्यार्थीहरू विद्यालयको पहिचान निर्माण गर्ने आधार बन्छन् ।

४) विद्यार्थी ः विद्यालयको धड्कन ।
विद्यालयको प्रकृतिगत, मानवीय, सामाजिक र शैक्षिक सबै आयाम विद्यार्थीकै वरिपरि घुम्छ। विद्यार्थीहरूको हाँसो, उनीहरूको प्रतिस्पर्धा, उनीहरूको उर्जा, उनीहरूको अनौपचारिक टिप्पणी यी सबै विद्यालयलाई जीवित राख्ने अङ्ग हुन् । विद्यार्थी मात्र सिक्ने प्राणी होइनकी उनीहरू विद्यालयलाई सिकाउने पनि गर्छन् । कसरी व्यवहारले असर गर्छ, कस्तो वातावरण चाहिन्छ, कस्तो शिक्षणले प्रभाव पार्छ भन्ने कुरा मुख्य हो ।
जब विद्यार्थीहरू आफ्नो सिकाइमा सक्रिय बनाइन्छन् तब अरूले भनेपछि मात्र होइन, आफूले समझेर काम गर्छन् अनि मात्र त्यो दिन विद्यालयको गुणस्तर वास्तविक रूपमा बढ्न थाल्छ । विद्यालयका विद्यार्थीहरू खेलकुदमा, सिर्जनात्मक लेखनमा, विज्ञान प्रदर्शनीमा, नृत्य–सङ्गीतमा, सामाजिक कार्यमा सहभागि भए भने विद्यालय “पढाउने ठाउँ” मात्र नभई “व्यक्तित्व निर्माण केन्द्र” बन्छ । अनि यिनै गतिविधिहरू विद्यालयको समग्र विकासमा सबैभन्दा मीठो फूलझैँ अवस्थित हुन्छन्।

५)अभिभावक ः विद्यालयको बाहिरी आधार
विद्यालयले भविष्यमुखी बनाएको बीउले घरमा पानी पाउनुपर्छ । घर र विद्यालयबीचको पुल बलियो छैन भने विद्यार्थी दुवैतिरबाट टुक्रिन्छ । अभिभावकले विद्यालयका नियमलाई समर्थन गरे, बच्चाको सिकाइमा समय दिए, शिक्षकका सुझावलाई सम्झे, विद्यालयका कार्यक्रमहरूमा उपस्थित भए मात्र विद्यालयको वातावरणमा सकारात्मक ऊर्जा थपिन्छ । अभिभावकको सहयोगबाट विद्यालयका अनेक समस्याहरू समाधान गर्न सकिन्छ । कहिलेकाहीँ अभिभावक–विद्यालय सहकार्यले गाउँकै रूपान्तरण सम्भव बनिदिन्छ ।

६) समुदाय ः विद्यालय रहेको जग
विद्यालय समुदायको बीचमा जन्मन्छ र समुदायकै उक्साहटले बढ्छ । स्थानीय तह, समाजका विभिन्न निकाय, युवाहरू, दाताहरू, पूर्वविद्यार्थीहरू सबै मिलेर विद्यालयको विकासमा हात मिलाए भने परिणाम चमत्कारिक हुन्छ । समुदायले विद्यालयलाई आफ्नो गौरव ठान्यो भने मात्र विद्यालय केवल शिक्षा दिने केंद्र मात्र नभई त्यो गाउँको “आँखा” बन्छ ।
समुदायबाट आएको सानोतिनो सहयोग जस्तो कक्षाकोठा मर्मत गर्ने, खानेपानी जडान, खेल सामग्री दिने, बगैँचा बनाउने आदि कार्यहरू यी साना देखिने तर ठूलो भरपुरी शक्ति हुन् । यी हातहरू मिल्नेबित्तिकै विद्यालयको गुणस्तर बढ्ने मार्ग स्वतः खुल्दै जान्छ ।

गुणस्तर वृद्धि ः एक दिनमा सम्भव नहुने तर दैनिक सम्भव हुने प्रक्रिया
विद्यालयको गुणस्तर कुनै एक–दुई प्रोजेक्टले बढ्दैन । यो निरन्तर यात्रा हो जसमा योजना, प्रयोग, समीक्षा, असफलता, सुधार, सफलता, पुनः प्रयासका प्रयासहरू यी सबै मिलेर एउटा सुन्दर वृत्त बनाउँछन् । कक्षा कोठाको वातावरण सुधार्न, विद्यार्थीहरूको सिकाइ सूचांक बढाउन, शिक्षकलाई समय–समयमा तालिम दिन, अभिभावकलाई सचेत बनाउन, व्यवस्थापनलाई अनुशासित बनाउन अनि विद्यालयको वातावरणमा सौन्दर्य बढाउन यी सबै कार्यले विद्यालयलाई नयाँ रूप दिन्छ । शैक्षिक गुणस्तर–वृद्धिको यात्रा कुनै एक “कमिटि” बाट होइन, “मन” बाट सुरु हुनु पर्दछ । जब विद्यालयका सबै पक्षहरूले आफ्नो मन परिवर्तन गर्छन् तब “यी विद्यार्थीहरूको भविष्य मेरो हातमा छ” भन्ने अनुभूति जाग्छ र त्यस्तो विद्यालयले प्रगति अगाडि बढ़दछ ।

समग्र विकास ः विद्यालयको समन्वित धुन
विद्यालयमा सबै कक्षाकोठा चम्कनुपर्छ, खेलमैदान रमाइलो हुनुपर्छ, पुस्तकालय पढÞिनु पर्दछ, प्रशासन समयमै चल्नुपर्छ, शिक्षकहरू तयारीसहित प्रवेश गर्नुपर्छ, विद्यार्थीहरू प्रेरित हुनुपर्छ, अभिभावकहरू विद्यालयमा विश्वास गर्नुपर्छ ताकी यी सबै कुरा एकैसाथ चले मात्र विद्यालयको समग्र विकास हुन्छ । यो विकास भौतिक मात्र होइन; मानसिक, मूल्यगत, सांस्कृतिक र मानवीय विकासलाई पनि समेट्छ । विद्यालयमा हरेक दिन चल्ने सूक्ष्म कामहरू प्रधानाध्यापकको जोशीलो अभिप्रेरणा,विषयगत शिक्षकहरूको सक्रिय क्रियाशीलता र कर्मचारीले बिहान सबेरै सफÞा गरेको आँगन; यी सबैले विद्यालयको पहिचान बनाउँछन् ।
विद्यालय एक विशाल बगैँचा जस्तै हो
त्यसमा सबैले पानी हाल्नुपर्छ, सबैले जरा हेरचाह गर्नुपर्छ, घाम–छाया दुवै साझा हुन्छन्, अनि फूलहरू पनि सबैले बराबरी सुगन्धित पाउँछन् । अन्तिम सत्य ः विद्यालय टिम एक–एक पलको भाषा हो । विद्यालयको टिम केवल बैठकमा देखिने दस्ताबेज होइन । टिम त्यो ऊर्जा हो,टिम त्यो आवाज हो,टिमको त्यो साझा सम्बन्ध हो,टिम त्यो मन हो जसले विद्यालयलाई चलाइरहन्छ । विद्यालयको गुणस्तर कागजमा होइन, विद्यार्थीको हाँसोमा लेखिन्छ, शिक्षकको आँखामा चमकमा देखिन्छ, अभिभावकको विश्वासमा अडिन्छ र समुदायको हातेमालोमा स्थायी बन्छ ।

यहाँसम्मको यात्रा कसैले एक्लै चलाउन सक्दैन।सिंगो टिम जब एउटै दिशामा उभिन्छ । तब मात्र विद्यालयको भविष्यले स्वच्छ आँखा खोल्छ । विद्यालयको आँगनमा आशा फुल्छ । परिश्रमको धूलो पनि फूलझैँ देखिन थाल्छ । त्यसैले विद्यालयको गुणस्तर वृद्धि कुनै व्यक्तिको चमत्कार होइन यो त सिंगो विद्यालय परिवारको सामूहिक मनको सुन्दर यथार्थ हो ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...