फर्केर हेर्दा त्यो दिन अनि रात (भाग-१)

Byआहा सञ्चार

२०८२ श्रावण १४, बुधबार १८:५९ गते

जनयुद्ध निकै रफ्तारमा थियो !,गाउँ देखि सहर घेर्ने रणनीतिको फलस्वरूप लडाइँ करिब सहर केन्द्रित भैसकेकाले हाम्रा पुराना सेल्टर(सुरक्षित ठाउँ)हरु तिर उति धेरै खतरा नभएपछि समय अनुकुल पारिवारिक भेटघाटको अवसर मिल्थ्यो नै बेलाबखत ।,म अनि क.सुनिता हालको पुर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपलिकामा छुट्टाछुट्टै कार्यक्षेत्रको आ-आफ्नै जिम्मेवारीमा कार्यरत थियौं उतिबेला । नाबालक छोराछोरीसंग भेट नभएको महिनौं पछि सम्बन्धित इन्चार्जको स्वीकृतिमा एक हप्ते बिदा मिलाई छोराछोरी भेट्न घर हिड्ने तयारीमा थियौं हामी दुइजना । गोजीमा पैसो थिएन,हुनु पनि कसरी हुन्थ्यो र !,दुधे बालक समेत छोडेर एकमात्र अठोट `मुक्ति या मृत्यु´को कसम खाएर स-परिवार बर्षौं घर छोडिसकेका हामीसंग थप पैसा हुने कुरै भएन !,न त खाएको कसम भन्दा एकरत्ति बाहिर जान सके म । त्यही “आधारभूत खर्च” नामकको मासिक १५० रुपैयाँ बचाएर भेट हुँदा छोराछोरीको रहर पूरा गर्न सक्ने कुरै थिएन हामी इमानदार युद्धरत कार्यकर्ताको ।

बिदा पाउन बित्तिकै भित्री माया र भावनाको प्रेसरले कुदेर छोराछोरी भेट्न मन लागिरहेको थियो भने लामो समयपछि ‘बा’आमासंगको भेटमा नाबालक छोराछोरीले गर्ने आस/रहर कसरी पुरा गर्ने रित्तो गोजीबाट भन्ने चिन्ताले घर तर्फको पाइला उचाल्न नसकेपछि गाउँबाट एक्लिएर धित मरुन्जेल रोयौं दुबैजना कसैले नदेख्ने गरि ।,आफैमा युद्धरत कार्यकर्ता,निजी स्वार्थको जरा समेत उखेलिसकेको हाम्रो सच्चा क्रान्तिकारी चेतनाले अरु के नै उपाए दिन सक्थ्यो र अपर्झट हामीलाई,तर आज ती दिन संझदा कति सम्मको सोझो र इमान्दार भएर इतिहास निर्माण गरेको रहेछु भन्ने लाग्दछ ।,उतिबेला आँसु पुछ्दै क.सुनिताले भनिन् “यहाँका स्याउ रुकुमकोटतिर निकै बिक्छन,एक डोको लिएर बेच्दै जाँउ,त्यति गर्न सकियो भने घर भेटघाटमा आवस्यक खर्च जुटाउन सकिने छ बुढो ।” केहि समय भावनाको गहिराईमा हराएको म सुनिताको उक्त प्रस्ताव सहज विकल्प बनेझै झसङ्ग झस्किदै स्याउ फलिरहेको लेखतिर नजर दौडाए ।,अनि उनको योजनामा तकसेराको गाउँबाट करिव एक घण्टा लाग्ने स्याउ फलेको लेखतिर लाग्यौं उनी र म ।

स्याउ लटरम्म थिए, ACS (एरिया कमिटी सेक्रेटरी)ले दिएको सिमित बाटो खर्चबाट पुग,अपुगमा डोको समेत गरि २०० दाना स्याउ किनि एक हप्ते बिदा भित्र बालबच्चासंगको मिठो भेटघाट,गाउँघरका आफन्तहरूसंगको भलाकुसारी,अनि तोकिएकै दिनमा कार्यक्षेत्रमा फिर्ता हाजिरको सपना त्यही स्याउले भरिएको डोकामा खादेर उनले बोक्दा म सुस्तिने र मैले बोक्दा उनी सुस्तिने गर्दै क्युवाङको उकालो चढी,काक्रीको ओरालो झरी ‘भारी बोकेर जहान पाल्ने भरिया’ झैँ थाकेका शरीरलाई बास बसालीयो काक्री गाउँमा ।,युद्धरत जिन्दगीमा खुम्चिएका सपनाहरु मध्येको एक धोको नाबालक छोराछोरीसंगको मीठो भेटले जगाएको उर्जामै अघिल्लो दिनको झैं उहीँ डोको बोकेर निस्कियौं बिहानीको मिरमिरे मै ।

आफुलाई जति क्रान्तिकारी सावित गर्न खोजे पनि सरदर भन्दा फरक परिस्थितिको सामाना गर्नुपरे स्वाभाविक रुपमा आत्मागलानी भैहाल्दोरहेछ नै ।,उनी भन्थिन “अब हजुर झोला मात्र बोक्नुस,मलाई धेरैले नचिन्ने भएकाले डोको म बोक्छु ।”वैवाहिक जीवन पछिका महा संकटहरुमा पनि एक अर्का प्रतिको माया अनि भावनामा फरक पहिचान दिदै आएका हामी दम्पती,कथित नैतिकताको बहानामा उनको थाप्लोबाट झरेका पसिना टुलुटुलु हेरिरहन सक्थे र म कसरी !,बाटोमा सोध्ने/किन्नेहरुसंग बास्तबिकता लुकाउन `महिला संगठनको व्यापार हो´ भन्दै बिक्री गर्दै अगाडि बढ्दै जाँदा रुकुमकोट मै सबै स्याउ बेची सकिएपछि भोलि जसरी पनि घर पुग्ने गरि रातसाँझ स्यार्पुखोला किनाराको थलबिर ओलीको होटेलमा पुगियो बास बस्न ।

दुई दिनको स्याउ व्यापारले केहि पैसा कमाएकाले होटेलमा खाना अडर गरि कोठामा थकाइ मार्दै थियौं उनी र म !,सामुन्ने अर्को कोठामा केहि केटाकेटी पिडा सहित सुस्तले अहँ…मरे बाबा… मरे ममि…भन्दै कराएको अलिअलि सुनिन्थ्यो हाम्रो कोठाबाट !,त्यो आवाज सुनेर सुस्केरा हाल्दै उनि भन्थिन “खान खाएर नसुती अहिले नै हिडौं है बुढा,कतै मेरा छोराछोरी पनि…..!” उनको अनुरोधको जवाफ दिन नपाउदै साहुले खान बोलाए !,हात धोएर खान खाने कोठामा छिर्दा त मेरा दुई छोराको साथमा माइलो मामा(हाल नापी कार्यलय आठविसकोटको कार्यालय प्रमुख मानबहादुर आग्री)एउटा कुनातिर गुपचुप भात खाइरहेका देखिए,हतारमा नजिक गइ हेर्दा दुबै भाइको हातमा सेतो पट्टी बाँधिएका थिए !,सोधपुछ हुँदा एकै दिन फरकफरक ठाउँमा खेल्दा साथिहरुले धकलेकाले लडेर दुबैका हात भाँचिएपछी प्राथमिक उपचार पछि दुबै भाईको रेफर हुँदा थप उपचार गर्ने अवस्था नभएपछि एकमात्र विकल्पका रुपमा आमाबुबा खोज्न भनी घाइते भान्जहरुलाई रुवाउदै हिडेका रहेछन् उमेरले अपरिपक्व मामा जबर्जस्ति ।

कतिले दैवका खेल भन्छन् ,कतिले भगवानका लिला, तर म भन्छु कि “संकट भित्रको थप संकट !,आमा बेहोस हुन थालिन् ,छोराहरू भाँचिएको हात दुखाइको पीडा भन्दा पनि एकाएक बज्रीएको खुसीले चिच्याउन थाले !,परिस्थितिको आकस्मिक बज्रपातले घायल हामी सबैका अँखाबाट आँसु बग्न थाले निरन्तर ।,सोध्दै जाँदा झन पिडाको कुरा त के रहेछ भने पुक्दो पैसाको अभावमा आफ्नो नाममा एक खुराक खान मागेर साहुलाई छल्दै दुइजना भान्जलाई आफ्नै हातले भात ख्वाएर एक खुराकको पैसाले सबैको पेट आधाउधी भरेर सुत्ने/सुताउने योजनामा रहेछन् १३/१४ बर्षे मामा । त्यो अवस्था,परिस्थिति र देखे/सुनेका बिषयहरुका कारण रातभरि निदाउन सकिएन भने उनी झन आमा न हुन् पचाउन सक्ने कुरै थिएन,र थप अर्को बिरामी समेत व्योहोर्ने अवस्था आइलाग्यो त्यो दिन,अनि रातमा । तर पनि समयको मागसंगै सच्चा अनि इमानदार क्रान्तिकारी योद्धा हुनुको सत्यताले मेरो हकमा त्यति धेरै ठुलो समस्या पनि संकटका बाबजुद समाधान गरि पुनः आफ्नो कार्यभार सम्हालेर थप चुनौतीको सामना गर्दै अगाडि बढियो निरन्तर । धन्यवाद

फेसबुकमा प्रतिक्रिया दिनुहोस...