हरि जिज्ञासु
म हिमालय देशमा जन्मेकोमा खुसी छु । विश्वको सर्वोच्च शिखर सगरमाथाको देशमा जन्मनुमा मलाई गर्व लाग्छ । म मात्र होइन, तपाईं पनि हिमालय देशमा जन्मेको कारण भाग्यमानी हुनुहुन्छ । तर विडम्बना, देशको राजनीतिले हिमालय चिनेन । नेपालका सुन्दर हिमालहरूले विश्वको ध्यान खिचेको राजनीतिज्ञहरूलाई थाहा भएन । उनीहरूलाई बरु थाहा भयो, भ्रष्टाचार, दुराचार र अपारदर्शिता । अनि कसरी बन्छ देश, कसरी बन्छौँ हामी ?
मैले शीर्षक नै स्वर्गको नजिक राखेकोमा तपाईंलाई अलि अचम्म लाग्न सक्छ । म यो नयाँ वर्षको पहिलो दिन विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर पुगेको थिएँ । दुई वर्षअघि उत्तरी गोरखाको मनास्लु आधार शिविर पुगेको मलाई एक दिन विश्वको सर्वोच्च शिखर सगरमाथा आधार शिविर पुग्नु थियो । मनले आँटेपछि पुगिदोरहेछ । यस पटक पुगेरै छोडेँ । आहा ! क्या दामी ।
नेपाल पर्वतारोहण महासंघका अनुसार नेपालमा चार सय बढी हिमालहरू चढ्नको लागि अनुमति दिइएको छ । त्यसैगरी केही हिमालहरू जटिलताको कारण अझै अनुमति दिइएको छैन । नेपालमा अझै धेरै हिमालहरू छन् तर तिनीहरूको खोज अनुसन्धान भएको छैन । नयाँ हिमालहरू भेटिइरहन्छन्। मैले हिमालबारे लेख लेखिरहँदा तपाईंलाई पनि तपाईंको गाउँघरको हिमालको पक्कै याद भयो होला । एकपटक सोच्नुहोस् त, तपाईंको गाउँमा कुन हिमाल छ ?
तपाईंले समाचारमा पक्कै पढ्नुभयो होला, यस वर्ष हिमाल आरोहणबाट मात्र रोयल्टी ७७ करोड उठेको छ । यदि समाचार पढ्नुभएको छैन भने अहिले नै समाचार पढ्नुहोस्, गुगलमा भेटिन्छ । रोयल्टी मात्र ७७ करोड उठेको छ, विदेशी पाहुनाहरूले नेपालमा खर्च गरेको रकम जोड्ने हो भने त वर्षेनि अर्बौं रकम नेपाल भित्रिन्छ । किनकि हामी स्वर्गको नजिक छौँ नी त ।
तपाईं अचम्मित हुनुहुन्छ होला, “हामी कसरी स्वर्गको नजिक छौं ?” यदि तपाईं धर्मकर्ममा विश्वास गर्नुहुन्छ भने, स्वर्गलाई तपाईं आकाशमाथि सम्झनुहुन्छ । त्यसैले विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालमा छ । सगरमाथा भन्दा अग्लो विश्वको कुनै पनि चुचुरो छैन ।
मलाई त लाग्छ हालसम्म ९ हजार बढीले सगरमाथाको चुचुरोमा पाइला टेकेका छन्, उनीहरू जिउँदै स्वर्गको नजिक पुगेका छन् । त्यसैले हामी स्वर्गको नजिक छौं । हा हा ! स्वर्गको नजिक पुग्नको लागि अनगिन्ती जटिलताहरू छन् । म पश्चिम नेपालको रुकुममा जन्मेको मान्छे । हुन त पाँच हजार ९ सय ११ मिटर उचाइ रहेको सिस्ने हिमाल मेरो घरपारि छ । सिस्ने हिमाललाई छिचोलेर आएको घामको किरण घरको झ्यालबाट म सुत्ने कोठामै पुग्थ्यो । सिस्ने हिमालको आधार शिविरसम्म पुगे पनि सिस्ने हिमाल चढ्ने आँट आएन । बिना अनुमति र बिना तालिम आँट गर्ने कुरा पनि भएन । मनास्लु र सगरमाथा आधार शिविर पुगेपछि कहिलेकाहीँ आफ्नो गाउँको हिमालसम्म पुगौं कि भन्ने जोश चल्छ । तर व्यवहारिक रूपमा गाह्रो छ ।
मैले करिब ६ हजार मिटर उचाइ रहेको सिस्ने हिमाल चढ्न जोश चल्छ भन्ने बित्तिकै तपाईंलाई पनि जोश चल्न सक्छ । सक्नुहुन्छ भने, एक पटक हिमाल चढ्नुहोस् । यदि तपाईं प्रकृति प्रेमी हुनुहुन्छ भने, तपाईं त्यहाँ रमाउनुहुन्छ । हिमालले फेरि बोलाउँछ तपाईंलाई । सगरमाथा आधार शिविर पुगेपछि मलाई पनि सगरमाथाको चुचुरोमा पुग्न जोश चल्थ्यो । तर के गर्नु, व्यवहारमा अर्कैँ छ । सगरमाथा चढ्नको लागि सबै कुराले साथ दिनुपर्छ – आर्थिक, शारीरिक र दृढ संकल्प । यी कुरा मिल्यो भने सगरमाथा पुगिन्छ । अर्थात् स्वर्गको नजिक पुगिन्छ । किनकि हामी स्वर्गको नजिकको देशमा छौं नी त ।
मैले माथि धेरै ठाउँमा स्वर्गको नजिक उल्लेख गरेको छु । मैले स्वर्गको नजिक शीर्षक राख्नुको पनि एउटा अचम्मको रहस्य छ । म सगरमाथा आधार शिविर पुग्दा एकजना जर्मनी नागरिक महिलासँग भेट भएको थियो । खुम्बु पासाङल्हामु गाउँपालिका स्थित मन्जो गाउँको एउटा होटलमा खानाको क्रममा भेटिएकी उनीसँग सगरमाथाको बारेमा धेरै कुरा भए । अर्थात् उनी त्यहाँबाट मेरो साथी बनिन् । संयोग, उनले ९ पटक सगरमाथा तर्फको यात्रा गरिसकेकी रहिछन् । उनी सगरमाथा आधार शिविरतर्फ जाँदै थिइन् । म पुगेर फर्कँदै थिएँ ।
केही हप्ता अघि काठमाडौंको होटल सोल्टीमा विश्वको ख्यातिप्राप्त व्यक्तिहरूको सहभागितामा सगरमाथा संवाद चलिरहेको थियो । त्यहाँ सगरमाथा र जलवायु परिवर्तन लगायतका विषय उठान गरेर छलफल गरिएको थियो । सगरमाथा क्षेत्रमा धेरै समस्याहरू छन् । जुन समस्याहरू म आफैले पनि भोगेको छु – होटल नपाउने समस्या, भरियाको समस्या लगायत अन्य धेरै समस्या छन् । त्यसको समाधान त गर्नैपर्छ । तर अर्को कुरा, हिमालमा जटिलता धेरै छ । सगरमाथा संवादमा यी विषयहरू उठान हुनुपथ्र्यो । तर राम्रो कुरा, नेपालमा पहिलो पटक आयोजित सगरमाथा संवादले सगरमाथा पग्लनुमा हाम्रो पनि कमजोरी छ भन्ने कुरा विकसित राष्ट्रका जिम्मेवार व्यक्तिहरूलाई जिम्मेवारी बोध गरायो ।
सगरमाथाको यात्रामा भेटिएकी ती जर्मनी नागरिक महिलाले गत हप्ता इमेलमा एउटा खबर पठाइन् । सगरमाथाको बारेमा जर्मनीको एक प्रतिष्ठित पत्रिकामा एउटा लेख छापिएको रहेछ । सगरमाथा यात्राको जटिलता र त्यहाँका विभिन्न समस्याहरू त्यस पत्रिकामा उठान गरिएको रहेछ ।
उनले मलाई पत्रिकाको प्रतिलिपि समेत फोटो खिचेर पठाएकी थिइन् । म जर्मन भाषा बुझ्दिन भन्ने उनलाई थाहा भएर त्यहाँ लेखिएको शीर्षक समेत उल्लेख गरेर खबर पठाएकी थिइन् । सगरमाथामा केही समस्याहरू छन् । उनीले पठाएको पत्रिकालाई मैले गुगल गरेर हेरेँ । पहिलो शीर्षक जर्मन भाषामा छापिएको रहेछ, जसको अर्थ नेपालीमा “स्वर्गको नजिक” हुँदो रहेछ । अनि दोस्रो शीर्षकमा लेखिएको रहेछ, “नेपाल अद्भुत पनि हुन सक्छ, पीडादायी पनि हुन सक्छ ।” यी शीर्षक राखेर नेपालको सगरमाथाको विषयमा राम्रा र नराम्रा विश्लेषण गर्दै लेख विश्वमा प्रकाशित हुने गर्छन् । त्यही शीर्षक मलाई मन परेर यहाँ स्वर्गको नजिक बनाएको हुँ । हामी साँच्चिकै स्वर्गको नजिकका नागरिक हौँ । तर, हामी कहाँ छौं भन्ने हामीले चिन्न सकेनौं । यो निकै दुःख लाग्दो कुरा हो । शान्ति र समृद्धि हामीमा हुनुपर्ने, विश्वले हामीबाट सिक्नुपर्ने – तर के गर्नु ? हिमाललाई विश्वले चिन्यो । हामीले हिमाललाई चिन्न सकेनौं ।
