राष्ट्रिय युवा परिषदले रुकुम पश्चिमका युवाहरुलाई युवा सहभागिता, परिचालन र नेतृत्व विकास लगायतका विभिन्न विषयमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । बिहिबार जिल्लाको मुसिकोट नगरपालिकामा युवा विद्यार्थीहरूलाई युवा सम्बन्धी विभिन्न विषयमा जानकारीमुलक प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा त्रिभुवन जनता मावि खलङ्गाका विद्यार्थीहरु लगायतका अन्य युवाहरु गरेर १ सय जना बढीको सहभागिता रहेको थियो । कार्यक्रममा युवा मार्ग दर्शन तथा वृत्ति परामर्श कार्यक्रम मार्फत सीप विकास देखि विभिन्न विषयमा जानकारी गराइएको हो ।

विशेष गरी विद्यार्थीहरूलाई राष्ट्रिय युवा परिषद्ले गर्ने मुख्य ५ आधार स्तम्भका बारेमा जानकारी गराइएको राष्ट्रिय युवा परिषद्का उपसचिव कर्ण कुवँरले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा तथा व्यावसायिक शिक्षा, रोजगारी, उद्यमशीलता र सीपमूलक तालिम तथा स्वास्थ्य, सामाजिक सुरक्षाका बारेमा स्पष्ट पारिएको थियो । त्यस्तै युवा सहभागिता, परिचालन र नेतृत्व विकास तथा खेलकुद र मनोरञ्जनका विषयमा पनि विद्यार्थीहरूलाई जानकारी गराइएको थियो । युवा परिषद्ले युवाहरूलाई लक्षित गरेर विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने गरेको र सोही अन्तर्गत मुसिकोटमा यो कार्यक्रम सम्पन्न भएको उपसचिव कँवरले जानकारी गराउनुभयो । परिषद्ले मुख्य गरी युवाहरूको सीप तथा क्षमता विकासका लागि काम गरिरहेको उहाँले बताउनुभयो ।

त्रिभुवन जनता माविका प्रधानाध्यापक गोपीराम केसीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय युवा परिषद्का उपसचिव कर्ण कुवँरको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा त्रिजमाविका सहायक प्रधानाध्यापक संगम केसी, पूर्व प्रधानाध्यापक हरिप्रसाद खनाल लगायत पत्रकारहरुको आतिथ्यता रहेको थियो । कार्यक्रमको सहजीकरण उपसचिव कर्ण कुवँर सहित मुसिकोट खलङ्गा बहुमुखी क्याम्पसका उपप्राध्यापकहरू हर्कबहादुर ओली र टेकबहादुर ओली लगायतले गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रियाहरु
adv.