हरि जिज्ञासु

मलाई प्राय हिमाल छेउ जान मन लाग्छ । हिमालको दृष्य नजिकबाट नियाल्न मन लाग्छ । दुई वर्ष अघि नोभेम्बर सिजनमा गोरखाको मनास्लु आधार शिविर हुँदै लार्केपास पुगेर मनाङ हुँदै काठमाण्डौँ फर्केको थिएँ । त्यहाँका यादहरु पनि अझै मनमा ताजा भएर बसेका छन् । आठ अजार एक सय १६ मिटर उचाई रहेको मनास्लु हिमाल, विश्वका अग्ला हिमालहरु मध्येको आठौँ स्थानमा पर्छ । लार्केपास जसको उचाई पाँच हजार एक सय ६ मिटर रहेको छ, त्यसैलाई पार गरेर मनाङ पुगेको छु ।
त्यसपछि मलाई एक दिन सगरमाथा आधार शिविरसम्म पुग्नु थियो । गत चैत्र २६ गते काठमाण्डौँबाट सगरमाथा आधार शिविरसम्मको यात्रा तय गरेँ । केही दिन अघि मेरा केही साथीहरुलाई सगरमाथा आधार शिविर पुग्ने योजना रहेको बताएको थिएँ । केही साथीहरुलाई जानको लागि आह्वान गरेको पनि थिएँ । कतिको अफिस छुट्टी नमिल्ने, कतिको स्वास्य समस्या, कतिको आर्थिक समस्या यस्तै–यस्तै कारणले म एक्लो यात्रा तय गर्न बाध्य भएको थिएँ । म एक्लो निस्किएँ तर यात्रामा धेरै नयाँ साथीहरु भेटिए । हामी नेपालीहरुलाई नेपालको हिमाल हेर्न फुर्सद छैन । हाम्रा विदेशी पाहुनाहरु नेपाल आएर हाम्रा हिमालहरु हेरेर रमाईरहेका छन् । हिमाली क्षेत्रका व्यवसायीका अनुसार पछिल्लो केही वर्ष यता नेपालीहरु पनि हिमाल हेर्न ट्रेक गरीरहेका छन् तर निकै थोरै ।

म हिमालको छेउमा पुगेर त्यहाँको सुन्दरता हेर्न कन्जुस्याई गर्दिन । किनकि मलाई हिमाल मन पर्छ । मलाई कहिलेकाँही लाग्छ, “हिमालयमा जन्मेको व्यक्तिले हिमाल नदेख्नु भनेको बढो दुःखको कुरा हो । किनकि हामी हिमालसँग रमाउनुपर्छ ।”

विश्वको सर्वोच्च शिखर सगरमाथा जसले नेपाललाई चिनाएको छ । जसको फेदमा पुग्न सक्नु पनि म आफूलाई भाग्यमानी सम्झन्छु । कतै टाढाको यात्रा गर्नु भनेको घुम्नु मात्र होइन, यो त गहिरो अध्ययन हो । १२ दिनको यात्राले मलाई खम्बु क्षेत्रको जनजीविन अध्ययन गर्ने मौका मिल्यो ।

त्यहाँका केही सुन्दर हिमालहरु चिन्ने मौका मिल्यो । सोलुखम्बु जिल्लाको सदरमुकाम सल्लेरी हुँदै सगरमाथाको चुच्चोसम्म चहलपहल गरिरहेका शेर्पा समुदायको जनजीवन पढ्न सुनौलो अवसर मिल्यो ।
लुक्लामा सन् १९६४ मा एडमण्ड हिलारीको पहलमा निर्माण गरिएको तेञ्जीङ हिलारी विमान स्थलबाट हवाई यात्रा गर्न मौका मिल्यो । निकै जोखिम मानिने लुक्का विमान स्थलको इतिहास अझ गजव छ । हवाई यात्रा गर्नेहरु लुक्लाबाट सगमाथा आधार शिविर तर्फको यात्रा गर्नेहरुको ढोका खुल्छ । कम हिढ्नेहरु ८ दिनमा सगरमाथा आधार शिविरसम्म पुग्न सक्छन् । म लुक्लाबाट ६ दिनको यात्रा पछि सगरमाथा आधार शिविर पुगेको थिएँ । काठमाण्डौँको कोलाहलमा जीवन चलाई रहेको मलाई केही दिन टाढा पुगेर एउटा फरक जनजीविनको अध्ययन र अवलोकन गर्दा मनमा शान्तिको महसुस् हुँदोरहेछ । वर्षौदेखि बिलाएर सकिन नसकेको हिउँको थुर्पोमा पाइला टेक्दा अरु दुःखहरु हराएको महसुस हुँदोरहेछ । आफूलाई तनाबबाट मुक्त भएको आभास गरिदोरहेछ ।

हिमाल छेउमा पुगेपछि यो सुन्दर जीवनको मुल्य पनि अझ गजवले थाह हुँदोरहेछ । कहिलेकाँही लाग्छ, “प्रकृतिको सुन्दरता हेर्नको लागि यात्रा गरिएन भने हाम्रो जीवन अधुरो रहन्छ । अझ हाम्रो नेपाल त झन् प्राकृतिक सुन्दरताले धनी छ । यही प्राकृतिक सुन्दरता हेर्नको लागि हामीले आफूलाई तयार गर्न सकेनौँ भने हामीले कमाएको आर्थिक कुरा पनि अली खल्लो लाग्न सक्छ । व्यर्थ लाग्न सक्छ । मान्छेको जीवन पनि त निकै छोटो छ । यो छोटो जीवनमा धेरै कुरा गरेर छिटो सकाउनु छ । खम्बु पासाङल्हामु गाउँपालिका–२ लुक्काबाट नै सुन्दर हिमालका दृष्यहरु देखिन थाल्छन् । खम्बु क्षेत्रको प्रमुख व्यापारिक केन्द्र नाम्चे बजार पुगेदेखि माथितिर त हिमाल नै हिमाल ।

नाम्चे बजारबाट सगरमाधा आधार शिविर पुग्न, त्याङबोचे, पाङबोचे, दिङवोचे, लोवोचे, गोरक्पेस हुँदै यात्रा गर्नुपर्छ । धेरै हिमालहरु आफ्नो छेउमा देखिन्छन् । विदेशी पाहुनाहरु यात्रामा साथी बन्न सक्छन् । जर्मनी, जापान, स्कटल्याण्ड, अमेरिका, पोल्याण्डका केही साथीहरु मसँग जोडिए अर्थात म उनीहरुसँग जोडिएँ ।

 

क्षेणिक समयका लागि भए पनि उनीहरु मेरा साथी बने । कोही हिड्दा हिड्दै साथी बनेँ, कोही होटलमा खाना खाँदाखादै साथी बने, कोही हिमालको दृष्य खिच्दा–खिच्दै साथी बने । ती यादहरु अझै पनी मनमा ताजा रुपमा बसेका छन् । मलाई लाग्छ हिमालसँग जोडिएको मेरो सम्बन्ध म बाँचुन्जेल रहीरहन्छ । सगरमाथा संकट हिमाली क्षेत्रमा केही समस्याहरु पनि छन् जसलाई अझै पनि नेपाल सरकारले समाधान गर्न सकिरहेको अवस्था छैन । नेपालको अर्थतन्त्र नेपालका हिमालहरुले धानेको छन् । विदेशी पाहुनाहरुले नेपालमा धेरै खर्च गरिरहेका हुन्छन् ।

तर नेपाल सरकारले हिमाली यात्रालाई अझै व्यवस्थित गर्न सकिरहेको छैन । जलवायु परिवर्तनको कारण सगरमाथा पग्लिदै छ । हिमालहरु सुख्खा हुँदैछन् । यी समस्याको समाधान कसरी गर्ने चिन्ता छ । खम्बु क्षेत्रमा पुगेपछि त्यहाँ धेरै ठूलो जनगुनासो पनि मैले भेटाएँ । त्यहाँ अर्थतन्त्र चलायमान छ तर विदेशी पाहुनाहरुले अझै राम्रो सेवा सुविधा पाउन सकिरहेको अवस्था छैन । आफ्नो जीवनको आधा उमेर सगरमाथा क्षेत्रमा भारी बोकेर बिताएका केही भरीया दाईहरुको दुःखेसको सुन्न प¥यो । आफ्नो आधा जीवन क्लाइमिङ गाइड गरेर सकाएका व्यक्तिहरु पनि भेटेँ, जसको भनाई छ, “हामीले हिमाल चिन्यौँ तर नेपाल सरकारले हिमाल र हामीलाई चिन्न सकेन ।” खम्बु पासाङल्हामु गाउँपालिका–४ नाम्चे बजारमा शेर्पा संग्रालय सञ्चालन गरेका लाक्पा सुनाम शेर्पासँग मैले एउटा प्रश्न गरेको थिएँ,“शेर्पा युवाहरु हिमाल चढ्ने पेशाबाट विस्तापित भए अर्थात उनीहरुले यो पेसा छोडे भने पर्वतारोहीहरु सगरमाथाको चुचुरोमा कसरी पुग्छन् ? उहाँको जावाफ थियो,“नेपाली उखान छ नी, कालो गए गोरो आउँछ ! त्यसकारण शेर्पा युवाहरुले पेशा छोड्दैमा समस्या निम्तिने होइन । अरु समुदायका व्यक्तिहरु पनि हिमाल चढ्न तयार हुन सक्छन् ।
तर चिन्ता सगरमाथा रहन्छ रहँदैन भन्ने हो । सगरमाथामा हिउँ भएन भने कोही चढ्दैन । त्यसकारण यो विषयमा सबैले ध्यान दिनु जरुरी छ ।” विश्वका सयौँ पर्वतारोहीहरुलाई सगरमाथाको चूचुरोमा पु¥याएर उनीहरुको नाम संसारभरी चिनाउन सफल भएका शेर्पा गाइडहरुको कथा सुन्ने मौका पनि मिल्यो । उनीहरुले सगरमाथा आधार शिविर पुग्दाको अनुभव सुनाए, “खम्बु क्षेत्रका धेरै शेर्पाहरुको पेसा हिमाल चढ्नु हो । धेरैले ८ पटक बढी सगरमाथाको चुचुरोलाई छोएका छन् र पाइला टेको छन् । विश्वसको सर्वोच्च शिखर सगमाथाको चुचुरोले हामीलाई चिन्यो तर नेपाल सरकाले हामीलाई अझै चिन्न सकेन । हामी गुमनाम छौँ । हामीलाई सरकारबाट गतिलो सेवा सुविधा छैन । सगरमाथा क्षेत्रमा वर्षौ भारी वोकेर आफ्नो जिविका चलाई रहेका भरीया दाईहरुको कथा झन दर्दनाक छ ।

सिजनको समयमा उनीहरुलाई होटलमा बास वस्ने अवस्था हुँदैन । होटल व्यवसायहीहरुले भरीयाहरुको लागि छुट्टै बस्ने व्यवस्था गरिदिनुपर्ने उनीहरुको माग छ । यस्ता र यी समस्याहरु छन् । यी समस्याको समाधान गर्नको लागि नेपाल सरकार र पर्यटनसँग सम्बन्धित रहेर काम गर्ने संघस्थाहरुमा धान पुग्नु आवश्यक छ । हामीले हिमाल चिन्न सकेनौँ भने हाम्रो कम्जोरी हुनेछ । हामीले पर्यटन बलियो बनाएनौँ भने हाम्रो अर्थतन्त्र ओरोलो लाग्नसक्छ । अन्य हिमालहरुलाई खोजी गर्नु आवश्यक छ । हिमाल सुरक्षाको व्यवस्था गर्नुपर्छ । यही मे १६ देखि काठमाण्डौँको होटल सोल्टीमा सगरमाथा संवाद कार्यक्रमको आयोजना गरिएको छ । विभिन्न देशका उच्चस्तरीय प्रतिनिधिहरुको सहभागी हुनेछ । त्यहाँ यस्ता समस्याहरुको उठान गरियोस् भन्ने मेरो चाहना हो ।

फेसबुक प्रतिक्रियाहरु
adv.