भारतमा रक्षामन्त्री राजनाथ सिंहले दिएको चेतावनीलाई ठूलो महत्व दिएर हेरिएको छ । उनले पहलगाम आक्रमणका दोषीहरूलाई मात्रै नभई भारतीय भूमिमा उक्त घृणित कार्यका योजनाकारहरूमाथि पनि कारबाही गर्ने उद्घोष गरेका छन् । विश्लेषकहरू अब भारतले सैन्य कारबाही गर्छ कि गर्दैन भन्ने प्रश्नभन्दा पनि कहिले, कसरी र कस्तो सैन्य कारबाही गर्छ भन्ने प्रश्न महत्त्वपूर्ण भएको ठान्छन् ।
]पहलगाममा कम्तीमा २६ जनाको ज्यान जाने गरी मङ्गलवार भएको रक्तपात सन् २०१९ पछि भारत प्रशासित कश्मीरमा लडाकुहरूले गराएको सबैभन्दा घातक घटना थियो । त्यहाँ मारिएका व्यक्तिहरू सैनिक वा सरकारी कर्मचारी नभई भारतकै सबैभन्दा मनोरममध्येको उपत्यकामा बिदा मनाउन पुगेका सर्वसाधारण मानिसहरू थिए । त्यही कुराले पनि उक्त आक्रमण कति क्रूर र प्रतीकात्मक थियो भन्ने देखाउँछ । उक्त आक्रमण सर्वसाधारण मानिसप्रति मात्र लक्षित थिएन, विवादित जम्मू–कश्मीर क्षेत्रमा जनजीवन सामान्य देखाउन भारतीय पक्षले गरिरहेको कडा मेहनतप्रति थियो । भारत विभाजन भएर पाकिस्तान बनेपछि दुवै देशले कश्मीरमा आफ्नो पूर्ण स्वामित्व हुनुपर्ने दाबी गर्दै आएका छन् । तर कश्मीर दुई भागमा विभक्त छ, एउटामा पाकिस्तानको र अर्कोमा भारतको शासन छ । पहलगाममा भएको रक्तपातपछि भारतले जनाउन सक्ने सम्भावित प्रतिक्रिया दबाव र विगतका नजिर दुवैले निर्धारण गर्ने विज्ञहरू बताउँछन् ।
भारतले प्रतिरोधात्मक कदम चाल्न थालिसकेको छ । भारतले पाकिस्तानसँगको सीमामा अवस्थित मुख्य नाका बन्द गरेको छ, पानी बाँडफाँटको सन्धि स्थगित गरेको छ र पाकिस्तानी कूटनीतिज्ञहरूलाई निष्कासित गरेको छ भने पाकिस्तानी राहदानी भएका केही मानिसहरूलाई ४८ घण्टाभित्र भारत छोड्न निर्देशन दिएको छ । पाकिस्तानले कश्मीरको घटनामा आफ्नो संलग्नता नभएको दाबी गरेको छ । भारतले अहिले चालेका कदमको जबाफ दिन इस्लामाबादमा अधिकारीहरूले छलफल गर्न थालेको बिबिसीले लेखेको छ ।
