हरि जिज्ञासु
नेपालको ग्रामीण क्षेत्रको स्वास्थ्य सेवाको दयनीय अवस्थालाई सम्झँदै गर्दा, आज म विश्वको पहिलो नर्स फ्लोरेंस नाइटेगेललाई सम्झन्छु । मानव जीवनको हितका लागि काम गर्ने महत्वपूर्ण सेवामा डाक्टर र नर्सहरूको योगदान अनमोल छ । नेपालको ग्रामीण क्षेत्रमा अस्पतालको अभाव र सरकारले उचित स्वास्थ्य व्यवस्थापन नगरेको कारण सुत्केरी महिलाहरूले अकालमै ज्यान गुमाएका घटनाहरूलाई सोच्दा मन गहिरो शोकले भरिन्छ ।
स्थानीय तहमा स्वास्थ्य चौकी भए पनि, त्यहाँ साधारण टाउको दुख्ने र ज्वरो आउने बिरामीले प्रयोग गर्ने सिटामोल समेत उपलब्ध हुँदैन । स्वास्थ्य चौकीमा स्टेचरको अभावका कारण कतिपय घटनामा     बिरामीलाई ढोका बोकेर अस्पताल पुर्याउनु परेको देखिन्छ । केही गाउँहरूमा यातायातको सुविधा नपुगेको र अस्पतालको अभावका कारण बिरामीलाई बोकेर अस्पताल पु¥याउने क्रममा ज्यान गुमाउने घटनाहरू मैले सुनेका र देखेका छु । कर्णालीका केही गाउँहरूमा बाटोमा सुत्केरी महिलाको मृत्यु भएको खबर पनि हामीलाई चोकचोकमा सुनिन्छ, जसले हामीलाई सधैं पीडित बनाउँछ ।

 

दुर्गम क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले भोगेका स्वास्थ्य समस्याका भयानक घटनाहरू थुप्रै छन् । आर्थिक रूपले कमजोर रहेका परिवारका सदस्य जटिल रोगबाट ग्रस्त भएका बेला, उपचार गर्नको लागि उनीहरूलाई अरू विकल्प छैन । उपचारका लागि पर्ने खर्च जुटाउन सक्ने अवस्था नभएका कारण, परिवारहरू बिरामीलाई घरमै स्याहार गर्नुपर्ने बाध्यता झेलिरहेका छन् । जस्तोसुकै गम्भीर अवस्था भए पनि, आफ्ना सन्तानलाई बचाउन चाहने इच्छा सबैको हुन्छ, र यसका लागि ऋणको       भारी उठाएर भए पनि कर्णालीका दुर्गम गाउँबाट बिरामीहरू काठमाडौँका प्रमुख अस्पतालमा पुर्याउँछन् ।
आर्थिक रूपले सम्पन्न परिवारका बिरामीहरू उपचारका लागि काठमाडौँका प्रमुख निजी अस्पतालहरूमा जान्छन्, र केहीले विदेशमा पनि उपचार गराउँछन् । तर, आर्थिक रूपले कमजोर हुनेहरूले नगर अस्पतालसम्म पनि पुग्न सक्दैनन्, र यसले त्यहाँका नागरिकहरूलाई ठूलो पीडा पुर्याउँछ । सरकारले स्वास्थ्य क्षेत्रमा व्यापक सुधार ल्याउन सकेको छैन र अझै नागरिकहरूले आफ्ना आफन्त गुमाउनुपर्ने पीडा भोगिरहेका छन् । अब, नाम चलेका अस्पतालहरूमा काम गर्ने नर्सहरूको अवस्था भने हृदयविदारक छ । सरकारी अस्पताल, प्रदेश अस्पतालदेखि ठूला निजी अस्पतालसम्म हजारौं नर्सहरूले बिरामीहरूको सेवा पुर्याइरहेका छन् । तर, सरकारले उनीहरूको श्रमको उचित मुल्यांकन गरेको देखिँदैन । निजी अस्पतालका सञ्चालकहरूले नर्सहरूको श्रम प्रयोग गरेर नाफा कमाइरहेका छन्, तर कतिपय अस्पतालमा त नर्सहरूले तलब समेत प्राप्त नगरेको घटनाहरू बाहिर आएका छन् ।
धनी र पुँजीपतिहरू उपचारका लागि निजी अस्पतालहरूमा जान्छन्, जहाँ विशेषज्ञ डाक्टरले बिरामीलाई जाँच गर्छन् र त्यसपछि गइरहन्छन् । बिरामीलाई रातभरि औषधि र इन्जेक्सन दिने काम नर्सको हुन्छ । यद्यपि, बिरामीको परिवारले नर्सको योगदानलाई कहिल्यै कदर गर्दैनन् । समृद्धि र धनको प्रतीक बनिरहेका पुँजीपतिहरू, क्याफेमा कफी पिउँदा वेटरलाई टिप्स दिँदै सान देखाउँछन्, तर बिरामी भएपछि उपचार गर्ने नर्सलाई टिप्स दिनको बारेमा सोच्दैनन् ।
नर्सहरूको श्रमले चिकित्सा सेवा प्रणालीलाई समृद्ध बनाएको छ, तर निजी अस्पतालमा उनीहरूको स्थिति अझ दयनीय छ । डाक्टरहरूले आफूलाई मानव सेवामा समर्पित गरेका हुन्छन् र बिरामीहरूको समस्या गहिरो रूपमा बुझ्ने प्रयास गर्छन् । स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनु भनेको केवल भौतिक संसाधनको सुधार मात्र होइन, नर्सहरूको श्रमको उचित मूल्यांकन र सम्मान गर्नु पनि हो । नेपालको स्वास्थ्य प्रणालीको सुधारको अवस्था चिन्ताजनक छ । यदि स्वास्थ्य सेवामा सुधार ल्याउन चाहिन्छ भने, सरकारले स्वास्थ्य क्षेत्रमा अधिक ध्यान दिनु पर्छ । नर्सहरूको श्रमको सही मुल्यांकन र मान्यता दिनु अत्यन्तै आवश्यक छ, ताकि उनीहरूलाई समर्पण र कष्टका आधारमा उचित सम्मान मिलोस् ।
हामी मध्य धेरैले एउटा कफिसपमा कपि सुरुम्म तानेर वइटरलाई टिप्स दिन्छौँ तर आफ्नो बिरामी आफन्तको उपचारमा खटिने नर्सलाई टिप्स अर्थात सहयोग गर्न सक्दैनौँ । त्यसकारण हामीले हाम्रो चेतना बदल्नुपनि जरुरी छ ।
फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto