शनिबार डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । अमेरिकी डलर महंगिएसँगै नेपाली रुपैयाँ कमजोर बनेको छ ।
नेपाल राष्ट्र बैंक अनुसार शनिबार अमेरिकी डलरको बिक्रीदर १३४ रुपैयाँ १७ पैसा कायम भएको छ । यो हालसम्मकै उच्च हो । यसअघि असार ७ गते डलरको बिक्रीदर १३४ रुपैयाँ १५ पैसा पुगेको थियो। । सोमूल्य भन्दा डलर २ पैसा महँगो भइ शनिबार नयाँ रेकर्ड बनाएको हो । यस दिन डलरको खरिददर भने १३३ रुपैयाँ ५७ पैसा रहेको छ ।
अमेरिकी डलरको तुलनामा भारतीय रुपियाँ कमजोर बन्दै गइरहेका कारण नेपाली रुपैयाँ पनि दिन प्रतिदिन कमजोर हुँदै गएको हो । भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ । यसले गर्दा भारु कमजोर हुँदा नेपाली रुपैयाँ समेत कमजोर भएको हो ।
डलरको भाउ महंगिदै जाँदा आयात भने झनै महँगो हुनेछ । आयातको भुक्तानी डलरमा गरिने भएकोले डलर महँगो हुँदा बढी रकम तिर्नुपर्छ । यस्तै राज्यले विदेशी दातृ निकायसँग लिएको ऋणको भार पनि बढ्ने भएको छ ।
डलरको भाउ महंगो हुँदा पर्यटन क्षेत्र, निकासीकर्ता र रेमिट्यान्स रकम पठाउनेलाई मात्र केही फाइदा हुन्छ । तर आयातको हिस्सा धेरै भएकोले डलर महंगिदा फाइदा भन्दा बेफाइदा बढी हुन्छ ।