सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले शुक्रबारबाट सर्वसाधारणका लागि थप सार्वजनिक निष्काशन अर्थात एफपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४६ लाख ७२ हजार ९५४ रुपैयाँ ५० पैसाबराबरको ४६ हजार ७२९.५४५० कित्ता शेयर निष्काशनमा ल्याएको हो । लघुवित्तले निष्काशन गरेको एफपीओमा साउन ८ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे निष्काशन अवधि साउन १८ गतेसम्म लम्बिनेछ ।
लघुवित्तको एफपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन मार्फत पनि आवेदन दिन सकिनेछ ।
लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभूतिकर्तामा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
सूर्योदय वोमी लघुवित्त कम्पनी ऐन, २०६३ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अन्तर्गत स्थापित लघुवित्त कम्पनीको हो ।
लघुवित्तको व्यावसायिक योजना अनुसार स्वःसक्षमता र दिगोपनालाई अझ बलियो बनाउदै ५५ जिल्ला भित्र १९२ शाखा कार्यालयहरु मार्फत कार्यक्रम विस्तार गरी त्यस क्षेत्रका १ लाख ८३ हजार २६६ जना सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गरिरहेको छ ।
साविकको सूर्योदय लघुवित्त वित्तीय संस्था र वोमी लघुवित्त वित्तीय संस्था मर्ज भई बनेको यस संस्थाको कुल चुक्ता पूँजीको ७०.३६ प्रतिशले हुन आउने संस्थापक समूहको र २९.६४ प्रतिशतले हुन आउने सर्वसाधारण समूहको शेयर कायम रहेको हुनाले बैंंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा गाभ्ने÷गाभिने (मर्जर)का लागि अन्तिम स्वीकृति पत्र प्रदान गर्दा दिएको निर्देशन बमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुटयाउनु पर्ने हुँदा एफपीओ निष्काशन गरेको हो ।
