शशिराम बोहरा
घर भित्र होस कि गोठ भित्र, पेट भित्र होस कि ओठ भित्र जताततै पाइने, कुहिने, सुनिने र कहिले थुनिने बिषय हो घुस । गाई भैँसिले खाने भुस होस वा रंक देखि डंक सम्म सबैलाई चाहिने घुस ।
बनाउनेले पनि बनाउन जानेको, पण्डितजिले पनि नाम राख्न जानेको, खानेले झन खान जानेको, लानेको त कुरै छाडौ लान जानेको । अप्ठेरोलाई सजिलो बनाउन जानेको घुस । कहिले यसको बन्छ नाम घुस कहिले बन्छ काम भुष । कस्तो महानताको बिषय हो यो घुस ।
रामेको भैसिले आजभोली ४ माना दूध दिन्छ रे हिजो सम्म १ माना जनतन पुर्याउने कौरा भैंसी एकाएक ४ मान दिने भैसके छिन । यसको रहस्य पनि भुस । कालेका छोराछोरी निन्याउरा छन हेर्दै मर्लान जस्ता । बाह्र बर्ष खान नदिएर लखेटेका जस्ता, थोत्रामोत्रा थोत्रामोत्रा भन्दै कन्टेनरमा फालेका चिजबस्तु खाने र लाने खाते जस्ता । उता हिजोको हरिकंगाल लेखे कसैकसैले त नाम पनि बिगारि दिएर बोलाउने लिखे आज मारुती र पजेरोमा सललल गुड्ने, कहिले उड्ने यहि रहस्य हो घुस । जगतमा आएको बिज्ञान र प्रबिधीको विकासका कारणले हो कि भनाई र गराईमा ठ्याक्क मिल्ने डेलिभरी जस्तो । आजको भोलि, मारबाडेको पसल जस्तो सधैं आज नगद भोलि उधारो । रामेको भनाई नै कस्तो ए जेठा बा भोको गोरुले जोत्नै सक्दैन । इतिहास देखि वर्तमान सम्म ठेके देखि लेखे सम्म दानव देखि मानव सम्म सबैले खाने घुस ।
घुस खाने र दिने भनेका देशका महान शत्रु हुन पृथ्वीनारायण शाहको फतफताहत मात्र बिचरा लड्दा लड्दै फुर्सदै भएन सोच्न । घुसको महत्व कस्तो । लिगलिग गेटका घलेका तिघ्रा हेरेका भए पनि भैजाने थियो ज्युमा घ्यु लगाउनेहरुको गौरव र पौरख कथा ब्यथा एउटै हो जनावरको भुस । नखाई कसैले केही नदिने । खानेलाई त के दोष । सबैभन्दा बेवकुफ त छ यो ब्रम्हा । ब्रम्हाले मानव देखि दानव सम्मको सृष्टि गर्दा पेट नबनाई दिएको भए पेट र घुस बिच भेट पनि त हुने थिएन नि । बनाउनेले बनाउन नजानेको खानेले अड्कलेर खान नजानेको ।
घुसको जात र बास पनि कस्तो कस्तो । ब्रह्ममणमा उपाध्याय जस्तो, जातमा ब्रह्ममण जस्तो बासमा उच्च घरानमा बस्ने र चिल्ला मंहगा कारमा गुड्ने कस्तो अनौठो । कालोलाई सेतो बनाउने, अँध्यारोलाई उज्यालो बनाउने । कहिले सिलिक्क, कहिले टिलिक्क । खानेले खान जानेको , लानेले लान जानेको । उच्च घरानमा जन्म लिएको एउटै नाम हो घुस ।
परिवार देखि राष्ट्रसम्म, स्वदेश देखि बिदेशसम्म सेतो कपडा लगाएर सेतो कारमा सिलिक्क गुड्ने, कसैलाई चुट्ने, कसैलाई कुट्ने, कहिले थुत्ने र परेको बेला तुरुन्तै मुत्ने मेरो नाम र काम हो घुस ।
मेरो कुनै देश छैन मेरो कुनै भेष छैन न त मेरो कुनै रंग छ ,न त कुनै ढंग । संविधानका धाराहरुले समानता र स्वतन्त्रता प्रदान गरेको बिषय हो घुस । जातजाती, भाषाभाषी, वर्ण, सम्प्रदायका बिषयमा भेदभाव नगरिने बिषय । न त यसको जात छ न त यसको भात । कहिले मोटरसाइकलको सकर भित्र त कहिले बैंकको लकर भित्र । कहिले सिरानीको खोल भित्र कहिले रक्सिको झोल भित्र भेट्टिने र सोधिने बिषय हो घुस ।
म भाग्य मात्र होइन सर्ब भाग्य बिषय पनि हुँ । म धर्ममा होइन कर्ममा बिस्वास गर्छु । म व्यापारी हुँ चामलका कनिका र बियाँ बनेर पसे जस्तो मेरो धर्म हो । म खसिको मासु भित्र मात्र होइन बाख्रीको मासु भित्र पनि खसी बनी पस्न सक्छु । ब्रम्हचारिदेखी कर्मचारी सम्म मेरो पहुँच छ । पहेँलो बस्त्रमा राम नाम जब्दै सेतो बस्त्रसम्म पुग्न सक्छु ।
मेरो राष्ट्रिय मात्र होइन अन्तराष्ट्रिय स्तरमा पनि आफ्नै महत्व छ । मैले भनी सके मेरो कुनै भौगोलिक सिमा छैन । विश्व भरी मेरो बिमा छ । म सुरक्षित छु , खाते देखि भातेसम्म, सानोदेखी उच्च पदसम्म सबै मेरा अंगरक्षक छन कसले छुन सक्छ मलाई ! बरु जसले मेरो नाम लिन्छ उहीँ टन्न छ उसको खल्ती रन्न छ समाज सबै दंग छ , छिटो बुझिहाल्नुहोस मेरो महत्व । मलाई सबैको आशीर्वाद छ मेरो प्रचार सबैले गर्छन । कोहि कोहि मलाई खाई खाई मर्छन कोहि खाना नपाई डाहले नै मर्छन । मेरो महिमाको बारेमा सांसदलाई सोध्नुहोस कानुन मेरो अनुकुल बन्छ । कार्यपालिकाका अंगहरुलाई सोध्नुहोस यो त मेरो पर्याबाची नै हो अदालतको कुरा हार्ने देखि मार्ने सम्म झार्ने देखि तार्नेसम्म सोध्नुहोस म त प्राकृतिक न्यायको सिद्धान्त नै बनिसकेको छु मेरो उलंघन मात्र पनि प्राकृतिक न्यायको सिद्धान्त बिपरित हुन्छ ।
किनकी जन्मनुको एक अर्थ खानु हो त्यसैले खानैपर्ने हुन्छ । मेरो बिरोध गर्ने गरून् , उफ्रिउन टुक्रिउन मलाई खासै चिन्ता छैन । जति बिरोध गर्छन त्यति महिमा बढ्छ । जति फाले पनि म मर्दिन अजम्बरी छु । मलाई गाली गरे बरदान हुन्छु म । चाहे मान्छेले पाल्ने जनावरलाई होस य त मानवरुपी दमनलाई होस म त संजिवनी भैसकेको छु । त्यसैले मेरो एउटा मन्त्र छ । यो सम्झीराख खण्डन मण्डन गर्नेले त गर्ने गर्छन । श्रीमदभागवत, गीता, वाइवल र कुरानका त खण्डन भए म त भुस र घुसको न हुँ मेरो जति खण्डन हुन्छ त्यति महिमा बढ्छ त्यसैले यो महिमा बुझीराख ।
तिमिले भुस भन या घुस भन जताततै पाइन्छु पिउन देखि हाकिमसम्म, रैतिदेखि रंकसम्म जताततै चाहिन्छु । तिउनको नुन जस्तो हाकिमलाई पिउन जस्तो हेर्दा भने सस्तो सस्तो तर महिमा कस्तो कस्तो जस्ले हान्यो उसले जान्यो खान भने पर्छ मेरो इज्जत राख्न नसक्नेले त तड्पी तड्पी मर्छ ।