मेगराज खड्का
रुकुम पश्चिम

राप्ती लोकमार्ग अन्तरगत पर्ने सल्यान रुकुम खण्डको पिथिवाङ खोलामा सडक पुगेको डेढ दशकसम्म पनि मोटरयवल पुल बन्न सकेको छैन । सडक निर्माण भएको मात्र होईन पुल निर्माणकै ठेक्का परेको चार बर्ष वित्दा पनि पुल बन्न नसकेको हो । रुकुम, सल्यान, दाङ, नेपालगञ्ज तथा काठमाण्डौ जोड्ने प्रमुख यस सडकको पुल नबन्दा यहाँका स्थानीयका साथै आवातजावत गर्ने यात्रुहरुले समस्या भोग्दै आएका छन । फेरी बर्षायामको समय आउन लागेको हुँदा छिटोभन्दा छिटो पुल निर्माणको काम थाल्न स्थानीय तथा यात्रुहरुले माग गर्दै आएका छन ।

पुल लामो समयसम्म नबन्दा रुकुममा बेलाबेला स्थानीय तथा सरोकारवाला निकायहरुले दवाब र धर्नाको काम पनि गर्दै आएका छन । पुल छिटो निर्माण गर्न समाजवादी मोर्चा नेपाल रुकुम पश्चिमले विभिन्न विरोधका कार्यक्रम गरेको छ । मोर्चाले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउनुका साथै पुल निर्माण स्थल देखि सडक भिडिजन कार्यालयमा धर्ना समेत दिईसकेको छ । त्यस्तै जिल्ला स्थित अन्य राजनीतिक दल देखि प्रतिनिधी तथा प्रदेशसभा संसदहरुमा नै छिटो पुल निर्माण गर्नुपर्ने आवाज उठिरहेको छ । कर्णाली प्रदेशसभा सांसद महेन्द्र केसी पुलको विषयमा संसदमा आधारणा राख्नुहुदै संघीय सरकारको कमजोरीका कारण पुल अहिलेसम्म निर्माण हुन नसकेको धारणा राखेका थिए । ‘समयमै पुल निर्माण गर्न नसक्ने निर्माण व्यवसायीलाई किन म्याद थप भैसकेको छ, संघीय सरकार र मातहतका कार्यालयहरुले किन आवश्यक निर्णय लिन सकिरहेका छैनन गम्भिर प्रश्न यो हो ।’ उनले संसदमा बोलेका थिए । त्यस्तै राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकायले पनि पुल निर्माणमा भएको ढिलासुस्तीबारे पनि बैठकमा कुरा उठाएका छन ।

संरक्षण निर्माण सेवा प्रालि र सडक डिभिजन कार्यालय चौरजहारी विच २०७६ असारमा ४ करोड १२ लाख रकममा निर्माण सम्झौता भएपनि हालसम्म पनि निर्माण कार्य अलपत्र अवस्थामा छ । विभिन्न सरोकारवाला निकायहरुले दवाव दिएपछि सडक डिभिजन कार्यालयले उक्त निर्माण व्यवसायीसंग ठेक्का तोड्ने तयारी समेत गरेको छ ।

सडक डिभिजन चौरजहारी रुकुम पश्चिमका प्रमुख तेजस्वी शर्माका अनुसार तपाईको ठेक्का किन नतोड्ने भनेर सूचना प्रकाशित भैसकेको र सबै पक्षसंग समन्वयपछि आवश्यक निर्णय लिने बताए । निर्माण कम्पनीले इमेल मार्फत काम गर्ने प्रतिवद्धता जनाएको भएपनि निर्माण स्तथलमा गएर कुनै पनि काम शुरु नगरेको कारण यसपटक ठेक्का तोड्ने तयारी कार्यालयले गरेको छ । जिल्ला सदरमुकामकै मुसिकोट नगरपालिकामा पिथिवाङ खोला पर्छ । पुलको ठेक्का परेको ४ बर्ष मात्र भएपनि सडक सञ्चालन भएको करिब दुई दशक हुँदा पनि पुल नबन्दा सरोकारवाला निकायहरु अचम्ममा परेका छन भने यात्रुहरुले बर्षेणी सास्ती भोग्दै आएका छन ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto