हस्तबहादुर केसी
कमरेड पुष्पलालको पहलकदमी र नेतृत्वमा र गोविन्द निरञ्जन वैद्य , नरबहादुर कर्मचार्य , नारायण विलास जोसी र मोतिदेवी श्रेष्ठ सहित पाँच जना युवाहरु मिलेर २००६ साल बैशाख ९ गते (लेनिनको जन्म दिन सन १९४९ अप्रिल २२ ) का दिन भारतको कलकत्ता शहरको एक बंगालीको घरमा नेपाल कम्युनिस्ट पार्टीको निर्माण गरिएको थियोे । यसरी आज नेपाल कम्युनिस्ट पार्टीले ७७ वर्ष पुरा गरिसकेको छ । तर यति लामो अबधि पार गरि सक्दासम्म पनि नेपाल कम्युनिस्ट पार्टीले आफ्नो लक्ष्य , उद्श्ये पुरा गर्न सकेको छैन ।
स्थापनादेखि नै नेपाल कम्युनिस्ट पार्टीले तत्कालीन देशको वर्ग विश्लेषण गर्दै देश अर्ध सामन्ती र अर्ध उपनिवेशिक अवस्थामा रहेकोले नेपालमा गरिने क्रान्ति भनेको ” नयाँ जनवादी क्रान्ति ” हो भनिएको थियो । नयाँ जनवादी क्रान्तिको मुख्य दुश्मन घरेलुु प्रतिक्रियावादका रुपमा सामन्तवाद , दलाल तथा नोकरशाही पुँजीवाद हो भने बाह्य दुश्मन विश्व साम्राज्यवाद , प्रभुत्ववाद र भारतीय विस्तारवाद भएको ठोस विश्लेषण गरिएको थियो ।र राष्ट्रिय पुँजीपति वर्गदेखि शहरीया मजदुरसम्म र धनी किसानदेखि कृषि मजदुरसम्म नेपाली क्रान्तिका मित्र शक्ति ठोस गरिएको थियो भनेर नेपाली मजदुर – किसानहरु महान् नयाँ नेपाली जनवादी क्रान्तिका मुख्य शक्ति किटान गरिएको थियो । र यो नयाँ जनवादी क्रान्तिको नेतृत्व मार्क्सवाद – लेनिनवादको मार्गनिर्देशनमा सञ्चालन गरिने नेपाली सर्वहारा वर्गको संगठित अग्रदस्ता नेपाल कम्युनिस्ट पार्टीले गर्नेछ भनेर किटान गरिएको थियो । र “जमिन जोत्नेको , घर पोत्नेको ” भन्ने नारा तय गरिएको थियो ।
खआज नेपाली कम्युनिस्ट आन्दोलनले ७७ वर्ष पुरा गरिसकेको छ ।यति लामो ऐतिहासिक अबधिमा यस आन्दोलनभित्र वर्गसंघर्ष , अन्तरसंघर्ष र जनसंघर्षका अनेकौं जटिल , बांगाटिङ्गा र कहालिलाग्दा घुम्तीहरु रहेका छन् । झापा संघर्ष , महान् माओवादी जनयुद्ध , भिमानकाण्ड , छिन्ताङकाण्ड , पिस्करकाण्ड , म्याग्दीको सिङकाण्ड , सुर्खेतकाण्ड लगायत राष्ट्रिय स्वाधीनताका आन्दोलनहरुमा समेत गरेर हजारौं नेपाली आमाका असल र आँटी छोराछोरीहरुले ज्यान उत्सर्ग गरेर शहिदवरण गरिसकेका छन् भने हजारौं घाइते , अपांग र तत्कालीन प्रतिक्रियावादी सत्ताद्वारा गरिएका हजारौं ज्यान बिपत्ता पारिएकाहरु समेत गरेर लाखौं नेपाली जनताको बलिदानीको गौतमगाथाले भरिपुर्ण रहेकोे छ नेपाली कम्युनिस्ट आन्दोलन । यति भएर आजसम्म पनि महान् नेपाली नयाँ जनवादी क्रान्ति सम्पन्न भएको छैन । महान् नेपाली जनता र अमर तथा वीर योध्दा शहिदहरुका महान् नेपाली क्रान्तिका सुडन्दर सपनाहरु अधुरै छन् , अपुरै छन् ।
यद्यपि नेपाली कम्युनिस्ट आन्दोलन लामो समय पहिलेदेखि अनेकौं समुह – उप- समुहहरुमा विभाजित अवश्यै रहयो ।अत : सारमा यस आन्दोलन भित्र क्रान्तिकारी र संशोधनवादी दुई परस्पर विरोधी धाराकै द्वन्द्व प्रमुख बनेर आयो । आज नेपाली कम्युनिस्ट आन्दोलनको घोर दक्षिणपन्थी संशोधनवादी – नवसंशोधनवादी सुधारवादी ( संसदवादी ) धाराले आफूलाई विजातीय कित्तामा सामेल गर्दै दक्षिणपन्थी एवं मिलेराँवादी हुँदै आधुनिक संशोधनवादी धारामा गुणात्मक ढंगले फड्को हान्न मात्रै पुगेन प्रतिक्रियावादी सरकारको नेतृत्व गर्दै साम्राज्यवाद र विसतारवादको दलालको रुपमा आफूलाई खडा गरेर राष्ट्रघाति महाकाली सन्धि , राष्ट्रघाति अमेरिकी एमसीसी संझौता समेत गरेर साम्राज्यवाद र विस्तारवादको सामु लम्पसार परेर वर्गीय र राजनीतिक रुपमा समेत आत्मसमर्पण गरेर राष्ट्रघनतको कलंकको टीका लगाएर अझै पनि आफूलाई कम्युनिस्ट भएको भन्न र भनाउन छोडेको छैन ।
यसको विपरीत नेपाल कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारा आज मार्क्सवाद – लेनिनवाद – माओवाद / विचारधाराका रुपमा विकास गर्दै आएको भएतापनि उसंग छदम संशोधनवादले घर गरिरहेको छ र यस प्रकारको प्रवृत्तिले महान् नेपाली क्रान्तिलाई अलमल्याउने कार्य गर्दै आएको छ। किनभने उसले क्रान्तिका रणनीतिक कार्यदिशा सशस्त्र जनविद्रोहको दिएको भएता पनि व्यवहारमा अनगिन्ती बुर्जुवा व्यवहार र कार्यशैली अवलम्बन गर्दै आइरहेको छ ।
मुलुकको वर्तमान वर्गीय विश्लेषण देश अझैसम्म पनि अर्ध सामन्ती र अर्ध नवउपनिवेशिक अवस्थामै रहेको र आज पनि नेपाली क्रान्तिको मोडल नयाँ जनवादी क्रान्ति भएको अर्थात् महान् नयाँ नेपाली जनवादी क्रान्तिका कार्यभारहरु पुरा गरेर वैज्ञानिक समाजवादमा प्रवेश गर्ने भन्ने कार्यदिशा आजको “ठोस परिस्थितिको ठोस विश्लेषण ” भएतापनि लेनिनकै शब्दमा ” नयाँ ढंगको कम्युनिस्ट पार्टी ” निर्माण गर्ने दिशामा व्यवहारमा अलमलमा पर्दै आएको छ र ” स्वाधीन क्रान्तिकारी संयुक्त सरकार ” को नारा दिदै आएको छ । यसले नितान्त अन्तिममा संसदीय व्यवस्थामा छिर्ने बाटो तय गरेको देखिन्छ । यस प्रकारको तात्कालिक कार्यदिशाले क्रान्तिकारी धार र स्प्रिटलाई मत्थर पार्न सक्छ र पार्दै पनि आएको छ ।
आज नेपाली कम्युनिस्ट आन्दोलन दुई विपरीत कित्तामा विभाजित हुन पुगेको छ ,जो यस प्रकार छन् :
(१) संसदवादी कम्युनिस्ट पार्टीहरु ( सरकरी कम्युनिस्टहरू ),
(२) क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु ( गैर सरकारी कम्युनिस्टहरू ) ।
(१) संसदवादी कम्युनिस्ट पार्टीहरु ( सरकारी कम्युनिस्टहरू ) ;
आज नेपालमा क्रियाशील कम्युनिस्ट पार्टीहरु नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) , नेपाली कम्युनिस्ट पार्टी ( नेकपा ) लगायतका वर्तमान प्रतिक्रियावादी , पश्चगामी संविधान २०७२ को नियम भित्र रहेर पार्टी नै निर्वाचन आयोगमा दर्ता गरेर संसदीय निर्वाचनमा भाग लिएर बहुमतको सरकार र अल्पमतको प्रतिपक्ष हुने संसदीय व्यवस्थालाई आफ्नो कार्यदिशा बनाउँदै आएका माथि उल्लेखित नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) , नेपाली कम्युनिस्ट पार्टी ( नेकपा ) लगायतका नामधारी , नक्कली कम्युनिस्ट पार्टीहरु कम्युनिस्ट पार्टी त कहाँ हो कहाँ ? वामपन्थी पार्टी समेत होइनन् ।
वामपन्थीहरू कम्युनिस्ट भइसकेका हुँदैनन् , उनीहरूले क्रान्तिको नेतृत्व गरिरहेका कम्युनिस्ट पार्टीहरुका नीति , कार्यक्रम , कार्यदिशा , रणनीति र कार्यनीतिलाई स्वीकार गरिरहेका हुन्छन् र उनीहरू विभिन्न जनवर्गीय तथा मोर्चा संगठनहरुमा संगठित भएर क्रान्तिलाई समर्थन गर्ने र सहयोग गर्ने नीति अवलम्बन गरिरहेका हुन्छन् । वामपन्थीहरू परिवर्तनशील हुन्छन् र आमूल परिवर्तनको पक्षधर हुन्छन् । कम्युनिस्ट पार्टीहरुले नेतृत्व गरिरहेका क्रान्तिकारी आन्दोलनका पूर्ण समर्थक र सहयोगी हुन्छन्
वामपन्थीहरू पहिलो नम्बरमा देशभक्त र जनवादी हुन्छन् । वामपन्थीहरू राष्ट्रिय स्वाधीनताका कट्टर पक्षपाती हुन्छन् । कम्युनिस्टहरू पनि देशभक्त जनवादी हुन्छन् ।
(१) एमाले – नेपाली कम्युनिस्ट पार्टीहरु कसरी कम्युनिस्ट होइनन् ?
यहाँ नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) नेपाली कम्युनिस्ट पार्टी ( नेकपा ) लगायतका प्रतिक्रियावादी सरकारमा दर्ता भएका संसदवादी पार्टीहरुलाई अहिलेसम्म पनि वामपन्थी , कम्युनिस्ट भनिन्छ । यहाँनीर बुझ्नुपर्ने कुरा के हो भने पहिले २०५३ साल असोज ४ गते नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) राष्ट्रघाति महाकाली सन्धिमा हस्ताक्षर गरेर राष्ट्रघातको कलंकको टीका लगायो । राष्ट्रिय स्वाधीनतामाथि गध्दारी गरेको त्यस दिन देखि नै नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) वामपन्थी कम्युनिस्टबाट बाइगड भएको हो ।
त्यस्तै २०७८ साल फागुन १५ गते तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) का अध्यक्ष र नेपाली कम्युनिस्ट पार्टी ( नेकपा ) अध्यक्ष प्रचण्डले “बाह्रौं बुँदे व्याख्यात्मक ” शब्दजाल छिराए नेपाली जनताको र देश दुनियाँका आँखामा छारो छर्दै राष्ट्रघाति अमेरिकी ” एमसीसी संझौता ” नेपालको संसदबाट दुई तिहाई मतले पारित गराएर एमाले पछि निर्लज्ज ढंगले राष्ट्रघातको कलंकको टीका लगाएर आफू र आफैंले नेतृत्व गरेको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) वामपन्थी कम्युनिस्टको लाइनबाट हटाउने कार्य गरेका थिए । तर आज तिनै राष्ट्रिय गध्दारहरुलाई वामपन्थी कम्युनिस्ट भनिदैछ , भनाइदै छ , यो गलत कुरा हो । अझै पनि तिनीहरूलाई वामपन्थी कम्युनिस्ट भन्नु गैर मार्क्सवादी दृष्टिकोण हो । जाली झेली , सिल्ली शैली र आचरण हो ।
(२) एमाले – नेपाली कम्युनिस्ट पार्टीहरुले किन समाजवाद स्थापना गर्ने भनिरहेका छन् ?
अहिलेसम्म पनि नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) , नेपाली कम्युनिस्ट पार्टी ( नेकपा ) लगायतका संसदवादी सरकारी कम्युनिस्ट पार्टी र व्यक्तिहरुले समाजवादको स्थापना गर्ने भनिरहेका छन् । उनीहरूले पार्टीको विधानहरुमा नेपाली विशेषताको समाजवाद स्थापना गर्ने भनेर लेखका छन् । चुनावी घोषणापत्रहरुमा यिनै कुरा लेखेका छन् । उनीहरू कै मुख्य भूमिकामा लेखिएको २०७२ सालको प्रतिक्रियावादी , पश्चगामी संविधानमा पनि ” समाजवाद उन्मुख ” भन्ने शब्द लेखाएका छन् ।
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) , तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादी ) , तत्कालीन नेत्र विक्रम चन्द ( विप्लव ) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र उपेन्द्र यादव नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका बीचमा ” समाजवादी मोर्चा समेत गराएर देशका विभिन्न ठाउँहरुमा भेला , गोष्ठी , प्रशिक्षण कार्यक्रम , वृहत् आमसभाहरु सञ्चालन गरेको देखिन्थ्यो र ठूलै हल्ला खल्ला मच्चाउने गरेका पनि थिए ।
यी सबै हल्लाहरु जनतालाई ढाँटेर,झुक्याएर , नेपाली जनतालाई उल्लु र भेडा- बाख्रा बनाए आम निर्वाचनमा भोट बटुल्ने खेल मात्रै थियो । किनकि उनीहरूले नजाने कुरा पनि भएन कि उनीहरू कै मुखले भनेको , प्रचार गरेको समाजवाद भनेको सन १९०० पहिलो दशक मै फ्रान्सका समाजवादी नेता , दोस्रो अन्तर्राष्ट्रियका नेता समेत रहेका मिलेराले ” कम्युनिस्टहरु पहिले संसद मै गएर संसदबाटै समाजवाद स्थापना ” गर्ने भन्ने विचार अगाडि सारेका थिए । त्यसलाई लेनिनहरुले ठाडै अस्वीकार गरेका थिए ।
पछि सन १९१७ महान् रुसी अक्टोबर समाजवादी क्रान्तिको समयमै जर्मन कम्युनिस्ट पार्टीका नेता कार्ल काउत्स्कीले पनि ” संसदबाट समाजवाद ” लागु गर्ने विचार अगाडि सारेका थिए । उनको विचार पनि संशोधनवादी भएको करार गर्दै आफ्नो गुरु समेत रहेको काउत्स्कीलाई गध्दार घोषणा गरेर ” गध्दार कार्ल काउत्स्की ” नामक पुस्तक लेखेर प्रकाशित गरेका थिए ।
सन १९५६ मा पुगेर तत्कालीन सोभियत कम्युनिस्ट पार्टी ( बोल्सेविक) का महासचिव एवम् तत्कालीन सोभियत समाजवादी रुसका राष्ट्रपति ख्रुश्चोवले पनि मिलेरा र काउत्स्की विचारलाई अंगिकार गरेर शान्तिपूर्ण संक्रमणको नीति अगाडि सारेका थिए र उनकै नेतृत्वमा रुसी समाजवादमाथि प्रतिक्रान्त गराएर पुँजीवादको स्थापना गराएका थिए ।
सन १९५६ मै चीनका कम्युनिस्ट नेता ल्यू शाओ चि र देङ शाओ पिङले पनि ख्रुश्चोवकै विचार चिनिया कम्युनिस्ट पार्टी र चिनिया समाजवाद भित्र घुसाएर चिनिया समाजवादमाथि नै प्रतिक्रान्ति गराएर पुँजीवादको पुनःस्थापना गराएका थिए । देङ शाओ पिङले त ” बिरालो सेतो हुनु र कालो हुनुले फरक पर्दैन मुसा मारे हुन्छ ” भन्ने विचार स्थापित गराएका थिए ।
चीनमा ख्रुश्चोवका चेलाहरुले त चिनिया कम्युनिस्ट पार्टीको हेडक्वाटर कब्जा गर्न सम्म सफल भएका थिए । जसका कारण तत्कालीन समाजवादी चीनका राष्ट्राध्यक्ष माओ त्सेतुङले त ” हेडक्वाटरमा बमबारी गर ” भनेर उर्दी नै जारी गरेका थिए र सन १९६६ देखि सन १९७६ सम्म दश वर्षे ” महान् चिनिया सर्वहारा साँस्कृतिक क्रान्ति ” समेत सञ्चालन गरेका थिए ।
(३) नेपाली संसदवादी कम्युनिस्टहरूले किन समाजवाद स्थापनाका कुरा गर्दछन् त ?
यी नेपाली संसदवादी सरकारी कम्युनिस्टहरूले किन नेपाली विशेषताको समाजवाद स्थापना गर्ने कुरा गरिरहेका छन् त ? यो,बुझ्नै पर्ने बहुतै महत्त्वपूर्ण विषय हो । किनभने “समाजवाद ” भन्ने शब्दावली ज्यादै ठूलो शब्दावली हो । यो शासन प्रणालीशीत अन्तरसंबन्धित विषय हो । सर्वहारा वर्गको शासन सत्ता , कम्युनिस्ट पार्टीहरुले चलाउने जनसत्ता सम्बन्धि विषय हो । त्यसैले यसलाई हल्का फुल्का रुपले लिने र बुझ्ने गर्नु हुँदैन । यो ज्यादै गहिरो र गहन विषय हो । किनभने सर्वहारा वर्गको नेतृत्वमा , कम्युनिस्ट पार्टीले मार्क्सवाद – लेनिनवाद – माओवादको पथप्रदर्शन ( मार्ग दर्शन ) मा चल्ने सत्ता संग जोडिएको विषय हो । त्यसैले यसलाई मालेमावादी विश्वदृष्टिकोण अर्थात् मार्क्सवादी दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनका आधारमा , मालेमावादी द्वन्द्ववादका आधारमा बिना पूर्वाग्रही ढंगले बुझ्ने , अध्ययन – विश्लेषण गर्नेछ र अन्तिममा वैज्ञानिक ढंगले संश्लेषण गर्ने पध्दति अंगाल्नु पर्ने हुन्छ सच्चा मार्क्सवादीहरुले । किनभने समाजवादी व्यवस्थामा सर्वहारा वर्गको अधिनायकत्व हुन्छ । अर्थात सर्वहारा वर्गले देशको शासन सत्ता आफ्नो हातमा लिएको हुन्छ । मजदुर – किसानहरुको सहभागीतामा सरकार सञ्चालन हुन्छ र जनताका देशका मालिक हुन्छन् ।
समाजवाद भनेको के हो भन्ने विषयमा कार्ल मार्क्स ( १८१८- १८८३ ) र फ्रेडरिक एंगेल्स( १८२० – १८९५ ) ले सन १८४८ फेब्रुअरी २१ दिन लण्डनबाट जारी गरिएको विश्व विख्यात ” कम्युनिस्ट घोषणापत्र ” मै स्पष्टताका साथ ” काल्पनिक समाजवाद र सच्चा ( वैज्ञानिक ) समाजवाद ” बारेमा वृहत् सैध्दान्तिक मान्यता सहित लेख्नुभएको छ । त्यही समाजवाद नै वैज्ञानिक समाजवाद हो ।
तर नेपाली कम्युनिस्ट आन्दोलनमा लाखौं नेपाली जनताले रगत र पसिना बगाउँदै आएका छन् । हजारौंको संख्यामा शहिदवर्ण गरेका छन् हजारौं हजार घाइते , अपांग , घरवारबिहिन छन् । हजारौंको संख्यामा राज्यले नेपाली जनताका छोराछोरीहरुको ज्यान बेपत्ता पार्दै आएको छ , आजसम्म उनीहरूको अत्तोपत्तो छैन । अर्थात् नेपाली कम्युनिस्ट आन्दोलनमालाई लाखौं , करोडौं जनताले लगानी गरेका छन् । नेपाली जनताले त्यसको प्रतिशतफल चाख्न चाहन्छन् । नेपालमा सच्चा कम्युनिस्टहरूको सरकार आओस् भन्ने चाहन्छन् । कम्युनिस्टहरूले मात्रै वास्तविक रुपमा नयाँ नेपाल निर्माण गर्न सक्छन् भन्ने विश्वास गर्दछन् । त्यसैले अहिलेसम्म पनि नेपाली जनसंख्याको करीब ८० प्रतिशत हिस्सा कम्युनिस्टहरूलाई मन पराउने र विश्वास गर्ने जनताको पंक्ति छ नेपालमा । कम्युनिस्टहरू सत्ता आफ्नो हातमा लिए भने हाम्रो भविष्य नै त्यसैमा छ भन्ने आशा र विश्वास नेपाली जनताले राख्दै र प्रकट पनि गर्दै आएका छन् ।
यही कुरा यी संसदवादी सरकारी कम्युनिस्टहरूले बुझेका हुनाले संसदीय निर्वाचनहरुमा जनताको भोट सोरसार पारेर बहुमत ल्याउने र भ्रष्ट सरकार निर्माण गर्ने मनसायले उनी नेपाली जनतालाई झुक्याउनका निम्ति नेपाली विशेषताको समाजवाद स्थापना गर्ने भन्ने गफ गरिरहेका छन् ।
समाजवादी व्यवस्था त सर्वहारा वर्गको अधिनायकत्व सहितको कम्युनिस्ट पार्टीको सरकार भएको वैज्ञानिक व्यवस्था हो । अर्थात् वर्गीय दृष्टिकोणबाट भन्नु पर्दा सर्वहारा वर्गीय शासन प्रणाली हो । जसले एकत्ववादलाई स्वीकार गर्दछ ।
नेपाली संसदवादी सरकारी कम्युनिस्टहरूले दलाल तथा नोकरशाही पुँजीपति वर्गको सत्ता र उसको सरकारको नेतृत्व स्वीकार गर्नेहरुले समाजवादी व्यवस्था हुने कुतर्क गरेर जनतालाई ढाँट्दै आएका छन् । उनीहरूले बहुलवादलाई आफ्नो दार्शनिक आधार बनाउदै आएका छन् बहुदलीय व्यवस्था यी सरकारी कम्युनिस्टहरूको आदर्श हो । एकातिर बहुमत सरकार , अल्पमतको प्रतिपक्ष हुने संसदीय व्यवस्थालाई संसार कै उत्कृष्ट व्यवस्था भन्दै आएकाले छन् भने अर्कोतिर नयाँ जनवादी क्रान्ति अर्थात् नयाँ खाले पुँजीवादी क्रान्ति भइसक्यो । अब समाजवाद स्थापना हो भनेर जनताका बीचमा भ्रमको खेती रहेका छन् र कम्युनिस्ट भएको देखाउन र पुष्टि गराउने ठूलो चेष्टा गर्दै आएका छन् ।
(४) संसदवादी कम्युनिस्टहरूले किन चुनावमा हारे ?
२०७४ को संसदीय आम निवेदनमा एमाले , तत्कालीन माओवादी केन्द्रले मात्रै झण्डै दुई तिहाई मत ल्याएर झण्डै दुई तिहाईको सरकार पनि चलाएका थिए । २०७९ सालको आम निर्वाचनमा एमाले दोस्रो ठूलो पार्टी बनेको थियो । त्यस्तै माओवादी केन्द्रले तेस्रो पार्टी बनेको थियो । तर यस पटक अर्थात् २०८२ साल फागुन २१ सम्पन्न आम निर्वाचनमा त एमाले र नेपाली कम्युनिस्ट पार्टी ( नेकपा ) लगायतका संसदवादी सरकारी कम्युनिस्ट पार्टीहरु यति लज्जास्पद तरिकाले पराजित भए ।
यसको मुख्य कारण के हो ? यी संसदवादी सरकारी कम्युनिस्टहरूले फागुन २१ गते सम्पन्न आम निर्वाचनमा नराम्रोसंग , देश दुनियाँलाई हसाउने गरि लज्जास्पद ढंगले हार्नुका पछाडि निम्न कारण रहेका छन् :
( क) आफूलाई ” कम्युनिस्ट हौँ , हामी समाजवादी व्यवस्था स्थापना गर्छौ ” भनेर जनतालाई ढाँटेका कारण जनताले चिने , मतदानद्वारा उनीहरूलाई सोत्तर बनाई दिए ।
( ख) आफूलाई कम्युनिस्ट हौँ भन्दै हिंड्ने गरे र एमालेका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलिले ” म भ्रष्टाचार पनि गर्दिन , भ्रष्टाचारीलाई हेर्न पनि सक्दिन” भन्दै पनि हिंडे । उनलेे भ्रष्टाचार शुन्य सहनशीलताका कुरा भट्ट्याउँदै हिंडे । त्यो उनको उनको पार्टी चरित्र र अनुहार पनि हेरे र सबै जाने बुझेपछि नेपाली जनताले एमालेलाई मतदानद्वारा सोत्तर बनाई दिए ।
( ग) तत्कालीन माओवादी केन्द्र र हालका नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पलाल दाहाल प्रचण्डले पनि आफूलाई खाँटी क्रान्तिकारी माओवादी देखाउन कहिल्यै चुकेनन् । तर उनको दायित्व , काम र कर्तव्य एमाले , काँग्रेस लगायतका भ्रष्टाचारीहरु , तस्करहरु , माफियाहरु , विचौलियाहरुलाई बचाउने र संरक्षण गर्ने र कहिले एमालेमा गएर उनीहरूलाई बलियो बनाउने र कहिले काँग्रेसकहाँ गएर प्रधानमन्त्री बन्ने काँग्रेसलाई बलियो बजाउने काम गरेको नक्कली कम्युनिस्ट भएको पनि नेपाली जनताले , बुझे , थाहा पाएपछि मतदानद्वारा उसलाई पनि सोत्तर पारि दिए ।
( घ) एमालेले , तत्कालीन माओवादी केन्द्र र हालको नेपाली कम्युनिस्ट पार्टी र तिनका नेताहरूले आफूलाई कम्युनिस्ट भने , भनाए , देश र जनताका बफादार सिपाही हौँ भन्दै राष्ट्रियता , राष्ट्रिय स्वाधीनताका ठूला ठूला हाँक दिए । केपी ओलिले नेपालको चुच्चे नक्सा छपाएर जताततै बाँड्दै हिंडे । तर उनैले राष्ट्रघाति महाकाली सन्धि गरेको , प्रचण्डले राष्ट्रघाति अमेरिकी एमसीसी संझौता गराएको कुरा पनि जनताले थाहा पाएर उ
ती नक्कली राष्ट्रवादीहरु र उनीहरूका पार्टीहरुलाई मतदानद्वारा सोत्तर पारिदिए ।
( ङ) संसदवादी सरकारी नक्कली कम्युनिस्टहरू जुन जुन बेला कहिले काँग्रेस , कहिले एमालेको काँधमा चढेर त कहिले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई बाँदर धपाउने लौरो जस्तो बनाएर आलो- पालो गरि सरकार चलाउने मौका पाएको बेला उनीहरूले राणाशासकहरु , राजा – महाराजाहरुले जस्तै देशलाई आफ्नो वीरता जस्तो र जनतालाई रैती जस्तो व्यवहार गरेर जनतामाथि शासन गर्दै आएका थिए , त्यो पनि नेपाली जनताले राम्रोसँग थाहा पाएपछि मतदानद्वारा उनीहरूलाई सोत्तर पारि दिए ।
( च) एमाले – माओवादीहरु जब जब सरकारमा तब तब उनीहरूले जनताको सम्पत्ति , राष्ट्रको सम्पत्तिमाथि ब्रह्मलुट मच्चाउने , राष्ट्रिय सम्पत्ति लुट्ने र देशलाई कंगाल बनाउने , युवाहरुलाई विदेशतिर लखेट्ने , पार्टी भित्रका इमानदार र पार्टी तथा नेताहरुले गलत व्यवहार सच्याउनु पर्छ , रुपान्तरण हुनुपर्छ भन्नेहरुलाई पार्टीबाटै जुन लखेट्ने गर्दै आएका थिए , त्यो गैर कम्युनिस्ट व्यवहार पनि जनता बुझेपछि उनीहरूलाई मतदानद्वारा सोत्तर पारि दिए ।
( छ) सरकारमा गएको बेला होस् वा नगएको बेला होस् , एमाले – माओवादी लगायतका संसदवादी कम्युनिस्ट पार्टी नेताहरू यति धेरै घमण्डी , अहंकारी र स्वाँठ बन्ने गरेका थिए , त्यो पनि अर्थात् कम्युनिस्टहरू यस्ता हुँदैनन् भन्ने कुरा नेपाली जनताले बुझ्दै आएकाले आफ्नो ज्यान हत्केलामा राखेर मात्रै होइन सहिद भएर भए पनि सहयोग गर्दै आएका थिए , तर नेपाली जनताले उनीहरूको वास्तविक चरित्र र अनुहार देखेपछि र चिनेपछि मतदानद्वारा सोत्तर पारी दिए । आदि आद। धन्यवाद । ( केसी : वरिष्ठ मार्क्सवादी दार्शनिक एवं अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन् ) ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस...

