रुकुम पश्चिम र जाजरकोटका विभिन्न ठाउँमा २ सय ८० घरपरिवारलाई सरसफाई स्वच्छता सामग्री वितरण गरिएको छ । जारकोट भूकम्पका कारण प्रभावित रुकुम पश्चिमको सानीभेरी गाउँपालिका र आठविकोट नगरपालिका संगै जाजरकोटको भेरी र नलगाड नगरपालिकामा उक्त सामग्री वितरण गरिएको हो ।
यूके एडको आर्थिक सहयोगमा स्टार्ट फन्ड नेटवर्क नेपाल, वल्ड भिजन इन्टरनेशनल नेपाल, नेपाली प्राविधिक सहयोग समुह र पाँच तारा संरक्षण युवा समुहको संयुक्त साझेदारीमा उक्त सरसफाई स्वास्थ्य सामग्रीहरु वितरण गरिएको हो । स्टार्ट फन्ड नेटवर्क नेपाल एन १९ परियोजना मार्फत भूकम्प प्रभावित क्षेत्रमा विशेष गरी गर्भवति, सुत्केरी अमा तथा ५ बर्ष मुनिका वालवालिकाहरुका पोषण अवस्था पहिचान गर्नुका साथै असल खानपिन र आहारमा सुधार ल्याउने लक्ष्य रहेको नेपाली प्राविधिक सहयोग समुहका वास अधिकृत प्रेमबहादुर ओलीले जानकारी दिए ।
उनका अनुसार जाजरकोट भेरी नगरपालिकाका युरी तथा फुलवारी टोलमा ३९, नलगाड नगरपालिकाको अनापानी टोलमा ८१, सानीभेरी गाउँपालिका घनठानामा ८० र आठविसकोटको झिलिंगा टोलमा ८० गरी २ सय ८० घरपरिवालाई प्रतिघरपरिवार २ हजार ९ सय ४४ रुपैयाँ वराबरको सामग्री वितरण गरिएको हो । स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका डा. सुशिल पोख्रेलका अनुसार गर्भवति, सुत्केरी तथा ५ बर्ष मुनिका बालबालिकाहरु कुपोषणबाट प्रभावित हुनसक्ने भएका कारण उनीहरुको हेरचाह, खानपिन, पोषणा र सरसफाईमा ध्यान दिन आवश्यक हुन्छ । भूकम्प प्रभावित क्षेत्रमा प्रभावित सुत्केरी तथा वालवालिकाहरुलाई पोषणा तथा स्वच्छता सरसफाई सामग्री वितरणले राम्रो प्रभाव दिने डा. पोख्रेलको भनाई छ ।
सरसफाई स्वच्छता सामग्री वितरणको लागि प्रभावित घरपरिवारको पारिवारिक वितरण लेखाजोखा, घरको अवस्था वितरण लिई आवश्यक घरधुरी छनौट गरिएको थियो । वितरण स्थलमा सामग्रीको विवरण, मुख्य चार्ट, गुणासो पेटिका, निशुल्क फोन नम्बरको व्यवस्था गरि गुणासो संकलन कार्यको व्यवस्था गरिएको थियो । वितरण कार्यक्रममा वल्ड भिजन इन्टरनेशनल नेपालका परियोजना मेनेजर मानविर विश्वकर्मा, अरुण सेनचुरी, पाँच तारा युवा संरक्षण मञ्चका अध्यक्ष छवि पन्त, नेपाली प्राविधिक सहयोग समुहका वास अधिकृत प्रेमबहादुर ओली, पोषण अधिकृत रामचन्द्र पन्थी तथा चन्द्रबहादुर थापा लगायतका सहभागीता रहेको थियो ।