मेगराज खड्का
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका नगर प्रमुख रवि कसीले जनताको आवश्यकताको आधारमा बजेट माग गर्दा पनि मन्त्रीले कमिसन मागेको बताएका छन । केहि दिन देखि फेसबुक स्टाटस मार्फत गुणासो पोख्दै आएका नगरप्रमुख केसीले फेसबुक लाईभमै आएर नगरपालिकाका लागि योजना माग गर्दा मन्त्रीहरुले कमिसन मागेको बताएका हुन । प्रदेश र संघको बजेट मन्त्री तथा पहुँचवालालाई कमिशन दिएपछि मात्र स्थानीय तहमा बजेट आउने गरेको उनको आरोप छ ।
स्थानीय तहको आवश्कताको आधारमा बजेट माग गर्दा कमिशन दिनुपर्ने बाध्यता आफुले समेत भोगेको नगर प्रमुख केसीले सार्वजनिक गरेका छन । ‘प्रदेश सरकार वा संघिय सरकारको बजेटको सन्दर्भमा हाम्रो समस्या के छ भने स्थानीय सरकारले मागेको ठाउँमा बजेट नजोने, कोहिले कमिसन दिने नाममा बजेट जाने, कसैले अलिकति नेतृत्वलाई अथवा मन्त्रीलाई पैसा दिएपछि मात्र बजेट जाने  बाध्यता मैले भोगेको छु र मैले माननीय मन्त्रीहरुलाई भनेको छु’ भनले भने, ‘स्थानीय सरकारले आवश्कता अनुसार माग गरे अनुसार बजेट आउनुप¥यो, नकी कमिशन वा प्रतिशत पाउने हिसावले बजेट वितरण गर्दा प्रभावकारी र न्यायचित हुदैन ।’
कमिशन र पहुँचको आधारमा बजेट व्यवस्थापन नभई प्राथमिकताका आधारमा बजेट व्यवस्थापन गरे मात्र स्थानीय तहलाई प्रभावकारी रुपमा काम गर्न सहज हुने नगर प्रमुख केसीको भनाई छ । नगर प्रमुख केसीले आठबिसकोट नगरपालिकामा आवश्कताका आधारमा बजेट उपलब्ध नहुँदा गत आर्थिक वर्षको काम सम्पन्न भएपनि साढे १३  करोड भन्दा बढी बजेट दायित्व बेहोर्नु परेकाले स्थानीय उपभोक्ता समिति र निर्माण कम्पनीलाई रकम दिन नसकेको बताए । नेतृत्वबाट बजेट आउने आश्वासन पाएकाले काम सम्पन्न भइसकको तर एक वर्ष पुग्दा पनि काम गरेका उपभोक्ता समिति र मजदुरहरुले रकम पाउन नसकेको उनको भनाई छ ।
कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री राजकुमार शर्मानै रुकुम पश्चिमका हुन । शर्माले नै कर्णाली प्रदेश सरकारको नेतृत्व गरेका छन भने संघीय सरकारमा अहिले रुकुम पश्चिमबाट कुनै पनि मन्त्री पदमा छैनन् । नाम किटान नगरेपनि नगर प्रमुख केसीले प्रदेश सरकार र आफ्नै राजनीतिक नेतृत्वप्रति बढी लक्षित गरेर आलोचना गरेका छन । उनले राजनीतिक नेतृत्वको आश्वासनका कारण उधारोमा योजना निर्माण गरेपनि अहिले आएर आफ्नै नेतृत्व र मन्त्रीहरुले बजेट नहाल्दा समस्यामा पारेको समेत सार्वजनिक गरेका छन । नेकपा माओवादी केन्द्रबाट निर्वाचित नगर प्रमुख केसीले आफ्नै राजनीतिक नेतृत्व प्रति पटक पटकका फेसबुक स्टाटसहरुमा पनि कडा आलोचना पनि गरेका छन । उनी नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश समिति सदस्य पनि हुन ।
काम गरेको रकम नपाउँदा उपभोक्ता समुह, निर्माण कम्पनीहरुले आन्दोलन गर्ने अवस्था रहेको छ । ‘विकासको काम गर्नुपर्ने थियो गर्यौ, अहिले त्यसो गर्दा समस्या आइलागेको छ,  यस विषयमा नेता मन्त्रीहरुलाई समेत जानकारी बनाएको छु’ उनले भने । उपभोक्ता समुह, निर्माण कम्पनीले काम गरेको पाउनु पर्ने रकमका बारेमा निरन्तर फोन गरिरहेकाले नगर कार्यापालिको छिटै बैठक बसालेर  नगरसभाले दायित्वको बजेटको विषयमा छलफल पश्चात समस्या हल गर्ने प्रत्यत्न गर्ने समेत उनको भनाई छ ।
भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था रुकुम पश्चिका उपाध्यक्ष रमेश खड्काले नगरप्रमुखबाट नै यस्तो कुरा सार्वजनिक भएपछि अन्य क्षेत्र र सर्वसाधारण नागरिकहरुले झन कस्तो समस्या झेलिरहेका होलाल भन्ने एउटा गम्भिर बहस सृजना भएको बताए । ‘सरकारमै बसेका मन्त्रीले मेयरबाटै योजना माग्दा कमिसन माग्ने कुरा त भ्रष्टाचारको रुकुममा अर्को नयाँ शुरुवात भएको देखियो’ उपाध्यक्ष खड्काले भने, ‘योजना भुक्तानी गर्दा उपभोक्ता समितिबाट केहि प्रतिशत माग्ने गरिएको घटना यदाकदा सार्वजनिक हुने गरेको भएपनि योजना मागै गर्दा कमिशन माग्नु झन गम्भिर कुरा हो, सम्वन्धित निकायले यसमा तत्काल ध्यान दिएर छानविन गर्नुपर्छ ।’
हेर्नुहोस भिडियो
फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto

आहा सञ्चारका भिडियो सामग्रीहरु हेर्न तल क्लिक गर्नुहोस तथा युट्युब च्यानल सस्क्राइव गर्नुहोस ।

This will close in 0 seconds