काठमाण्डौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले आगामी निर्वाचनमा माओवादीले कसैसँग गठबन्धन नगरी एक्लै चुनाव लड्ने बताएका छन ।

आइतबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता सापकोटाले माओवादीले त्यहीअनुसार अहिले तीन महिने अभियान चलाइरहेको बताउदै तीन महिने अभियान लगत्तै आफूहरु विधान सम्मेलन हुँदै विशेष महाधिवेशनमा जाने उनको भनाइ छ । प्रवक्ता सापकोटाले भने, ‘अहिले हाम्रो एजेण्डामा देश घुमिरहेको छ । तर, त्यो संगठनमा अभिव्यक्त भएको छैन । त्यो संगठनमा अभिव्यक्त हुने र पहिलो पार्टी हुने संकल्पका साथ अगाडि बढेरहेका छौं ।’

प्रवक्ता सापकोटाले अहिले चुनौतीभन्दा पनि बढी सम्भावना रहेको उल्लेख गर्दै चुनौतीमै सम्भावनाका ढोका खुल्ने समेत उल्लेख गरे । उनले पार्टीले पछिल्लो समय देशमा आँधीबेहरी सिर्जना गरेको उल्लेख गर्दै माओवादीको सुदृढीकरण अभियान पनि सफल हुँदै गएको जानकारी दिए । उनले पार्टीमा आकर्षण बढेको र अन्य पार्टीका कार्यकर्ता र पार्टी बाहिरका मानिस हजारौँको संख्यामा प्रवेश गरिरहेको समेत बताए ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...