रुकुम पश्चिममा आत्महत्या रोकथाम दिवसको अवसरमा आइतबार विभिन्न कार्यक्रम गरेर मनाईएको छ । सदरमुकाम खलंगा सहित स्थानीय तहहरुमा प्रभातफेरी तथा सचेतनामुलक कार्यक्रमहरु आयोजना गरेर दिवस मनाईएको छ । १० सेप्टेम्बरमा विश्वभर आत्महत्या रोकथाम दिवसको रुपमा मनाउने गरिएको छ ।
आशा जोगाऔँ, जीबन बचाऔँ भन्ने मुल नाराका जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको आयोजना तथा मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र सी.एम.सी नेपाल सहितका विभिन्न सरकारी तथा गैर सरकारी निकायहरुको सहभागितामा २१ औँ विश्य आत्महत्या रोकथाम दिवस मनाईएको हो । कार्यक्रमको अवसरमा रुकुम सदरमुकाम खलंगाको बालमन्दिरबाट शहिद प्रतिष्ठान नेपालको हल सेरीगाउँ सम्म प्रभातफेरी गरिएको थियो भने त्यसपछि अन्तरक्रिया कार्यक्रम समेत आयोजनामा गरिएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्त, मुसिकोट नगरपालिका नगर उपप्रमुख बिमल कुमार पुन, जिल्ला अस्पताल सल्लेका डा. सुशिल पोख्रेल, अस्पताल विकास समितिका अध्यक्ष टेक कुसारी लगायत सुरक्षाकर्मी, विद्यार्थी तथा सरोकारवालाहरुको सहभागीता रहेको थियो । अन्तरक्रिया कार्यक्रमको संचालन सहायक प्रमुख जिल्ला अधिकारी प्रबेश बढुवालले गरेका थिए ।
त्यस्तै जिल्लाको सानीभेरी गाउँपालिका स्वास्थ्य शाखाको आयोजना र मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र सी.एम.सी नेपालको सहकार्यमा प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम पनि सिम्लीमा सम्पन्न भएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष बिर्ख बहादुर बिष्ट, वडा नम्बर ९ का वडा अध्यक्ष शेर बहादुर खड्का सहित सुरक्षाकर्मी, विद्यार्थी लगायत सरोकारवाला निकायहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन गाउँपालिकाका वाल अधिकार अधिकृत मानबिर ओलीले गरेका थिए ।