हरि जिज्ञासु
मलाई प्रकृति मन पर्छ । म प्रकृतिसँग रमाउन चाहान्छु । प्रकृतिसँग रमाउने जति चाहाना भएपनि मेरो केहि सपनाहरुले मलाई प्रकृतिदेखि धेरै टाढा राखेका छन् । म काठमाण्डौँको कोलाहलमा हराइरहेको छु । म काठमाण्डौँको कोलाहबाट उम्केर कहिलेकाँहि हिमाल हाँसिरहेको ठाउँमा पुगेर हिमाल जस्तैगरी मुस्कुराउँ जस्तो लाग्छ । हिमाल जस्तैगरी मुस्कुराउँनको लागि मान्छेलाई त्यति सजिलो पनि कहाँ छर ? हिमाल प्रत्येक वर्ष हिउँ पर्दाखेरी हाँसिरहेको हुन्छ तर मान्छेको हाँस्नु अनी रुनुको ठेगान हुदैन ।

केहि दिन अगाडी अलिकति फूर्सद निकालेर गाउँ जाँने निर्णय गरेँ । काठमाण्डौँबाट पोखरा र बाग्लुङ हुँदै लुम्बिनी प्रदेको एक मात्र हिमाली जिल्ला रुकुम पूर्व पुग्ने योजना बनाएर नाइट गाडि चडेँ । बाग्लुङको बुर्तिबाङ पुग्ने वित्तिकै झिसमिसे उज्यालो भयो । बाटोमा देखिन थाले सुन्दर बस्तीहरु । तराईमा गर्मी सुरु भएपनि ढोरपाटनबाट उदाएको चिसो हावाको कारण मेरो शरिरले जाडोको महसुस गरेको थियो । प्रकृतिसँग सँगै रमाउन चाहाने मेरो मनले त्यो चिसो शिरेटोको खासै वास्ता गरेन । ढोरपाटनलाई छिचोलेर रुकुम पूर्ब पुग्नको लागि हतार गरिरहेको गाडिले मज्जाले हर्न बजाउँदैथ्यो । आफ्नो सिजन अनुसार ढकमक्क फूलेका लाली गराँसहरुले मलाई रुकुम पूर्वमा स्वागत गर्दैछन् भन्ने आभास हुन्थ्यो ।

मध्यपहाडी लोकमार्ग आसपासमा केहि चराहरु चिरविर गरेको आवाज सुनिन्थ्यो । ढोरपाटनको खोँचबाट बगेको चिसो पानीको शान्तमय आवाजले मेरो मन झनै प्रकृतिसँग लोभिएको थियो । यो पटक हिउँदे वर्षा नभएको कारण हिमालहरु सुख्खा छन् । यदि हिउँदे वर्षा भएको भए मध्यपहाडी लोकमार्ग हिउँको कारण केहि दिन बन्द हुन्थ्यो । मध्यपहाडी लोकमार्ग हुदै रुकुम पश्चिम पुग्ने मेरो यात्रा सकभर हिउँमय हुनेथियो । ढोरपाटनमा म प्रशस्थ हिउँ देख्ने थिएँ । तर यो पटक ढोरपानमा कतै कतै हिउँको थुप्रो देखियो हिउँको पहाड देखिएन । म हिउँ खेल्न चाहान्थेँ र हिउँ सँगै हाँस्न चाहान्थेँ । तर हिउँ नभएपनि मैले मन बुझाएँ प्रकृतिसँग गुणासो गरेन । बरु ढोरपाटनलाई छिचोलेर रुकुम पूर्वको सुन्दर मगर बस्ती लुकुम गाउँ पुगेपछि त्यहाँका किसानहरुले प्रकृतिसँग खुबै गुणासो पोखेको भेटेँ ।

अरुले उत्पादन गरेको चामललाई किनेर सजिलै पकाएर खाने म जस्तोलाई किसानको पीडा त्यति सजिलै कहाँ थाह हुन्छ र ? बढो मेहनतका साथ दुःख गरेर लगाएको गहुँ पानी नपरेको कारण राम्रो नफलेपछि किसानहरु दुःखी छन् । असाध्यै सुन्दर छ लुकुम गाउँ । आन्तरिक तथा बाह्य पर्यटकहरु टम्म मिलेको लुकुम गाउँ हेर्न जान्छन् । मैले पनि यो पटक रुकुम पूर्वको लुकुम गाउँलाई अलि नजिकबाट अध्ययन गर्ने मौका पाएँ । टम्म मिलेको लुकुम गाउँभित्रै पसेर त्यहाँको संस्कारगत कुरालाई केहि अध्ययन गर्ने मौका मिल्यो । जसरी बाहिरबाट लुकुम गाउँ सुन्दर देखिन्छ त्यसरी नै गाउँभित्रको बातावरण सुन्दर अनी सफा देखिन अझै सकेको छैन । लम्जुङको घलेगाउँ जस्तै देशकै नमुना गाउँ बनाउँनको लागि रुकुम पूर्वका सबै स्थानीय तहहरुले बढी मेहनत गर्नुपर्ने देखिन्छ । किनभने रुकुम पूर्वमा बाग्लो मगरबस्ती भएका कारण मगर समुदाय साँस्कृतिक रुपमा पनि धनी छ । ती सुन्दर मगर गाउँहरुलाई नमुना बस्तीको रुपमा स्थापना गरी आन्तरिक तथा बाह्य पर्यटकहरुको लागि गन्तव्य स्थान बनाउन सकिन्छ ।

रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा एउटा कार्यक्रम भएका कारण त्यस कार्यक्रममा म तीन दिनसम्म बसेँ । रुकुम पूर्वको एउटा ऐतिहासिक धरोहर कमल दह पनि हो । पूर्बी रुकुमको सदुमकाम रुकुमकोट पुगेपछि कमल दहको अबलोकन संधै गरिरहन्छु । म मात्रै होइन धेरै जनाले कमल दहको अबलोकन गर्नुहुन्छ । यो सिजन भनेको कमल फूल्ने सिजन होइन रहेछ । आजभोली बरु कमलका जराहरु निकाल्दारहेछन् । कहिलेकाँहि कसैले कमलको जरा निकालेको दृष्य भने देख्न सकिन्थ्यो । कमल दहलाई उचित व्यवस्थापन गरी पर्यटन व्यवसायमा जोड्नको लागि हरप्रयास गरेको देखिएतापनि अझै मेरो नजरले कमल दहको व्यवस्थापन पूर्ण भएको देख्न सकेन । कमल दहलाई पर्यटन व्यवसायमा जोड्नको लागि अझै केहि वर्ष लाग्छ जस्तो देखिन्छ । हामी कमल दह सँधै हेरिरहेकालाई धेरै वास्था नहोला तर जिल्ला भन्दा बाहिरका पर्यटकहरु त्यहाँ पुगेपछि कमल दह र त्यहाँको व्यवस्थापनले केहि सकारात्मक सन्देश दिनुपर्छ ।

मैले शिर्षकमै मेरो गाउँमा पनि हिमाल हाँस्छ, अनी गुराँस फूल्छ लेखेको छु । रुकुमकोटबाट पश्चिम रुकुमको सदमुकाम मुसिकोट खलंगा पुगेपछि अर्को दिन म मेरो गाउँ जाने निर्णय गरेँ । मेरो गाउँमा अझै गाडि जाँदैन । गाउँमा अझै गाडि जाँदैन भनेपछि हजुरलाई अच्चम लाग्छ होला । तर यो कुरा साँचो हो । तपाईँलाई थाह छ, हिमाल हाँस्ने र गुराँस फूल्ने ठाउँमा सजिलै कहाँ मोटर जान्छ त ? रुकुम पश्चिमको विकट मानिने गाउँहरु भनेकै स्याँलाखदीका गाउँहरु हुन् । रुकुम खलंगाबाट ती गाउँमा जानको लागि जोकोही सजिलै आँट गर्न सक्दैनन् । हामी त हाम्रो जन्मभूमि भएकाले प्रिय लाग्ने भएका कारण जति पीडा भए पनि जान्छौँ । हाम्रो बाजे र बाबाहरुले पचास केजी चामल बोकेर तीन हजार भन्दा बढी मिटर अग्लो झारमारे लेकलाई कयौँ पटक पैतलाले कुल्चेका छन् । गाउँमा हुँदा बुवाको साथमा मैले पनि कयौँ पटक बैरागी ठाँटीबाट चामल बोकेर स्याँलाखदी पुर्याएको छु । घोडा हुनेहरुले घोडामा सामान ओसार्ने चलन भए पनि घोडा नहुनेहरुले गाउँमा भोकमरी पर्दा आफैले चामल बोकेर गाउँ पुर्याउँने बाध्यता थियो ।

ती कहाली लाग्दा दुःखका दिन सम्झँदा लाग्छ, मान्छेको जीवन पनि क्या हो क्या हो । बाँच्नको लागि जस्तोसुकै कठिन प्रस्थितिलाई कठिनसाथ सामाना गर्नुपर्ने । बाजे र बाबाहरुले ती जटिल समस्यालाई कठिनसाथ सामाना गरेपछि आज हामी यहाँ पुगेका छौँ । अहिले हाम्रो गाउँमा मोटरबाटो पुगेको छ । तर मोटरबाटो पुगेपनि म प्रत्येक बर्ष गाउँ जाँदाखेर हिँडेर जानुपर्छ । कहिलेकाँहि ट्याक्टर गएपनि ट्याक्टरलाई धकेलेर मात्र गाउँ पुर्याउनुपर्छ । यो पटक पनि ट्याक्टरमा गाउँ जाने बाध्यता भयो । ट्याक्टरलाई झारमारे लेकको उचाई छुन गाह्रो हुन्छ । बेलाबेलामा धकेलेपछि मात्र ट्याक्टरले बल्ल झारमारे लेकको उचाइ छुन्छ । ज्यानको बाजि थापेर त्यहाँका नागरिकहरुले आजभोली ट्याक्टरमा यात्रा गरिरहेका छन् । ट्याक्टर नै पाएन भने हिँडेर उनीहरुले दुःखको यात्रा अझै गर्दैछन् । जब झारमारे लेकमा पुगेपछि सुन्दर सिस्ने हिमालले हामीलाई स्वागत गर्छ अनी हामीले हाम्रो दुःखलाई भूलिदिन्छौँ । किनकि सिस्ने हिमालको मिठो मुस्कानले हामीलाई खुसी थपिदिन्छ । दुःख र गरिबीले थिचेपनि त्यहाँका नागरिकहरु स्वाभिमानसाथ बाँचिरहेको भेटिन्छन् ।

यो वर्ष हिउँदे वर्षा नभएको कारण पनि सजिलै ट्याक्टरमा गाउँ जान पाइयो । यदि हिउँदे वर्षा भएको भए झारमारे लेकमा टम्म हिउँ हुन्थ्यो । बाटो सबै हिउँले पुरिएको हुन्थ्यो । बाध्यताले बल्ल बल्ल मान्छेहरु हिउँलाई कुल्चीएर हिडिरहेका हुन्थेँ । यदि हिउँदे वर्षा भएर झारमारे लेकमा टम्म हिउँ भएको भए यात्रा रमाइलो नै लाग्थ्यो होला तर गाउँमै आफ्नो जीवनलाई माटोसँग मिलाएर संघर्ष गरिरहेका नागरिकहरुलाई त त्यो बाटोमा वर्षौ हिँडिराख्ने बाध्यता छ । यदि कोहि झारमारे लेकलाई आफ्नो पैतलाले कुल्चेर स्याँलाखदी पुग्छ भने त्यसले साँच्चिकै फरक खालको जीवन शैली देख्नेछ र उसले आफ्नो मनमा फरक कुराको अनुभूतीको महशुस् समेत गर्नेछ । टम्म मिलेका सुन्दर गाउँहरु । आफ्नै जीवन शैली । प्रत्येकको घरमा गाइभैँसी र बाख्राहरु । अनी सहर बजारलाई छोएका अन्य गाउँहरु भन्दा विल्कुल फरक संस्कार र शैली । स्याँलाखदीबासीहरुमा एकखालको छुट्टै पहिचान लुकेको भएता पनि यसलाई कसरी पर्यटन व्यवसायमा जोड्न सकिन्छ भन्ने चिन्ता जिम्मेवारी निकायमा नभएको कारण मलाई अलि दुःख लाग्छ ।

म चाहान्छु स्याँलाखदीका गाउँहरुलाई गाउँ जस्तैगरी विकास गनुपर्छ । गाउँमा शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथामिकता दिएर गाउँलाई गाउँकै रुपमा हामीले विकास गरेमा हामी स्याँलाखदीबासीको पहिचान बच्नेछ । यदि विकासको नाममा हामीले हाम्रो मौलिकतालाई भुल्यौँ भने हाम्रो पहिचान अस्तित्व मेटिनेछ । हाम्रो घर अगाडि मुस्कुराइरहेको सिस्ने हिमालको भ्यालु घट्नेछ । अर्थात सिस्ने हिमालको शिर निहुरिनेछ । अनी घर माथीको जंगलमा ढकमक्क रुपमा फूलेको गुराँसले पनि फूल्न अल्छी गर्न सक्छ । त्यसकारण हिमाल हाँस्ने र गुराँस फूल्ने हाम्रो स्याँलाखदीलाई गाउँ जस्तैगरी विकास गरौँ । एउटा पहिचान बनाऔँ । नमुना सहितको गाउँ बनाउनको लागि हामी लागि पर्नुपर्छ । गाउँमा सरसफाई अत्यन्त आवश्यक छ । गाउँ हेर्नको लागि गएका पर्यटकहरुले देख्ने वित्तिकै उनीहरुले हाम्रो गाउँको शिक्षा र सरसफाई देखेर केहि सिक्नुपर्छ । किनकि अहिले मान्छेहरु सहर भन्दा गाउँ हेर्न चाहान्छन् गाउँलाई हामीले नमुना गाउँको रुपमा देशमा चिनाउँन सकेमा त्यहि नै हाम्रो पहिचान हो ।

रुकुम पश्चिमको स्याँलाखदीका सुन्दर गाउँहरुलाई नमुना गाउँको रुपमा विकास गरी त्यहाँको प्राकृतिक स्रोत र साधनहरुलाई भरपूर प्रयोग गरेर अझै सुन्दरता झल्काउँन सकिन्छ । झारमारे लेक, चित्रिपाटन, काँडा दह लगायत धेरै सुन्दरताले भरिएका दृष्यहरु हामी त्यहाँ देख्न सक्छौँ । विहान उठ्ने वित्तिकै सेताम्ये सिस्ने हिमालको दृष्य र सिस्ने हिमालको शिरबाट उदायको सुर्यको प्रकाशले स्याँलाखदीवासीलाई थप उर्जा दिन्छ । त्यहि उर्जाको कारण जस्तो सुकै जटिल समस्या भएता पनि त्यहाँका नागरिकहरु हाँसिरहेका छन् । यदि आठविसकोट नगर सरकार लगायत समग्रह जिम्मेवारी निकायले रुकुम पश्चिमको स्याँलाखदीका सुन्दर गाउँहरुको विकास गाउँ जस्तै गरी नमुनामाको रुपमा विकास गर्न सकेन भने हाम्रो मौलिकता हराउँने सम्भावना धेरै छ । त्यकारण हाम्रो गाउँको मौलिकता र त्यहाँको सुन्दरतलाई देशको पहिचानसँग जोड्ने हो भने गाउँलाई गाउँ जस्तैगरी विकास गरौँ । एकै प्रकारका घर बनाऔँ । प्रत्येक घरमा धारा सहित ट्वाइलेट र बाथरुम पनि बनाऔँ । प्रत्येकको घर आँगन हरियो राखौँ । त्यहाँको कृषिलाई पूर्ण रुपमा अर्गानिक सावित गरौँ । बाजे र हजुर बाजेहरुले प्रयोग गरेका पूराना सामग्रीहरुलाई एउटा नमुना संग्रायलय स्थापना गरी त्यहाँ जम्मा गरौँ । त्यसले गर्दा आउँने पूस्ताले हाम्रो पुर्खाको सम्पती र पहिचानलाई अध्ययन गर्ने मौका पाउँनेछ । गाउँ भित्रिएका पाहुनाहरुलाई आदरणीय तरिकाले स्वागत गर्ने शैलीको विकास गरौँ । यस्तो खालको व्यवस्थापन नै नमुना गाउँको पहिचान हो ।

मलाई थाह छ, लेख्दा लेख्दै शिर्षक बाहिर गएको छु । तर बास्तवमा मेरो गाउँमा पनि हिमाल हाँस्छ अनी गुराँस फूल्छ । विडम्बना के हो भने मेरो गाउँमा हिमाल हाँसेको र गुराँस फूलेको कुरा धेरै व्यक्तिलाई बुझाउँनुछ अनी देखाउनु छ । जिम्मेवारी निकायको ध्यान गएर मोटरबाटो सजिलो रुपमा मेरो गाउँमा पुग्यो भने धेरै पाहुनाहरुलाई गाउँ घुमाउने मन छ । मेरो गाउँको मौलिकता देखाउने मन छ । मेरो गाउँमा रहेका अनगन्ती प्राकृतिक स्रोतहरुले मेरा पाहुनाहरुलाई स्वागत गर्नेछन् । त्यसकारण मेरो गाउँमा हिमाल हाँस्छ अनी गुराँस फूल्छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto

आहा सञ्चारका भिडियो सामग्रीहरु हेर्न तल क्लिक गर्नुहोस तथा युट्युब च्यानल सस्क्राइव गर्नुहोस ।

This will close in 0 seconds