ब्राजिलियन महिला फुटबलरले अब पुरुष बराबर तलब र पुरस्कार पाउने भएका छन्। ब्राजिलियन फुटबल कन्फेडेरसन (सीबीएफ) ले बुधबार महिला र पुरुषको सुविधामा विभेद नगरिने जनाएको हो। ‘यहाँ कुनै लैंगिक भिन्नता छैन। सीबीएफले पुरुष र महिलालाई समान व्यवहार गरिरहेको छ।’ सीबीएफका प्रमुख रोजेरियो काबोकाले भने । सीबीएफले समन्वयकर्ताको रुपमा डुडा लुइजेली र एलाइन पेलेग्रिनोलाई नियक्त गरेको जनाएको छ ।
यो कदमले पुरुष टोलीका नेयमार, ग्रेवियल जेसस, रोबर्टो फर्मिनो जस्तै मार्टा, फर्मिगा र लेटिसिया सान्तोस लगायत शीर्ष महिला फुटबलरले समान सुविधा पाउने छन्। कन्फेडेरेसनको निर्णयपछि ब्राजिलियन महिला टोलीका प्रशिक्षक पिया सुन्दाजेले घोषणालाई ‘ऐतिहासिक कदम’ को रुपमा चित्रित गरेकी छन्। सीबीएफले यो कदमलाई ‘फुटबलको समानतातर्फ परिवर्तनको यात्राको हिस्सा’ को रुपमा रहेको जनाएको छ। ब्राजिल फुटबलका लागि चर्चित मुलुक हो।
ब्राजिलियन पुरुष टोलीले ५ पटक विश्वकप फुटबल जितेका कारण पावरहाउसको रुपमा चिनिन्छ। ‘क्यारिनाहस’ उपमा पाएको ब्राजिलियन महिला टोली सन २००७ को विश्वकपमा उपविजेताका साथै २००४ र २००८ को ओलम्पिकमा रजत पदक प्राप्त गर्न सफल भएको थियो । थाहाखबरडटकमबाट