मेगराज खड्का
रुकुम
रुकुम पश्चिममा आएको १ अर्ब ३४ करोड बढी रकम खर्च हुन नसकेर फिर्ता भएको छ । आर्थिक बर्ष २०७६÷७७ का लागि संघ र प्रदेश सरकारबाट रुकुम पश्चिममा आएको ठुलो रकम खर्च हुन नसकेर फ्रिज भएको हो । कोष तथा लेखा नियन्त्रक कार्यालय रुकुम पश्चिमका कोष नियन्त्रक खिमबहादुर केसीका अनुसार संघिय सरकारबाट जिल्लाका ६ स्थानीय तह र कार्यालयहरुमा आएको बजेटमा चालु तर्फ ९५ प्रतिशत र पुजीगत तर्फ ५५ प्रतिशत मात्र बजेट खर्च भएको छ ।
त्यस्तै प्रदेश सरकारबाट बिनियोजन गरिएको चालु बजेटतर्फ ७८ प्रतिशत र पूँजीगत खर्च तर्फ ५२ प्रतिशत रकम मात्र खर्च भएको छ । कोष नियन्त्रक केसीका अनुसार संघिय सरकार मार्फत आएको चालु तर्फको ३ अर्ब ३४ करोड मध्य ३ अर्ब २० करोड रुपैयाँ मात्र खर्च भएको छ । तर यो बजेट कमचारीहरुको तलब भत्ता लगायतको बजेट भएका कारण बढी खर्च भएको हो । यस बजेटमा पनि १३ करोड बढी रकम खर्च नभएर फिर्ता भएको छ । त्यस्तै संघिय सरकारबाट विकास बजेटको रुपमा आएको ७४ करोड ४३ लाख पूँजीगत बजेट मध्य ४१ करोड २४ लाख बजेट मात्र खर्च भएको छ । जसमा ३३ करोड १८ लाख बढी रकम खर्च हुन नसकेर फ्रिज भएको छ । त्यसैगरी प्रदेश सरकारबाट जिल्लामा आएको ८० करोड ८८ लाख बजेट मध्य ६३ करोड १८ लाख मात्र खर्च भएको छ । जसमा १७ करोड बढी रकम खर्च हुन नसकेर फिर्ता भएको छ । जसमा कर्मचारीहरुको तलव भत्ता देखि बिभिन्न तालिम लगायतका कार्यक्रमहरुको लागि बजेट थियो ।
त्यस्तै पू्ँजीगत बजेट तर्फ १ अर्ब ४९ करोड बजेट रहेकोमा ७९ करोड ४२ लाख रुपैयाँ मात्र खर्च भएको छ । आर्थिक २०७५÷७६ मा कुल ५ अर्ब ३१ करोड बजेट जिल्लामा आएकोमा ४ अर्ब ४ करोड मात्र खर्च भएको थियो । प्रत्येक आर्थिक बर्षमा जिल्लामा ठुलो विकास बजेट आउने भएपनि बिभिन्न बहानामा खर्च हुन नसकेर फिर्ता हुदै आएको छ । स्थानीय सरकार तथा जिल्ला स्थित कार्यालयहरु मार्फत हुने योजना छनौटमा कमजोरी, कर्मचारीको अप्रयाप्तता , योजनामा बिबाद, समयमै अख्तियारी नआउने र योजना कार्यन्वयनमा उपभोक्ता तथा कार्यालयहरुको चासो नहुनुका कारण पनि बजेट खर्च नहुने समस्या भएको बताईएको छ । तर यस बर्ष कोरोना महामारीको कारण बिभिन्न विकास आयोजना तथा गतिबिधीहरु संचालन हुन नसक्दा बजेट खर्च हुन नसकेको कोष तथा लेखा नियन्त्रक कार्यालय रुकुम पश्चिमले बताएको छ ।
फेसबुक प्रतिक्रियाहरु