प्रेमकला बाठा
सानिभेरि
अज्ञात रोगले गोठका पशु चौपायाहरु धमाधम मर्न थालेपछि सानिभेरी ५ का किसानहरु चिन्तित बनेका छन। बिशेष गरि वडाका हासु,घापागार,मेल्चौर आदि टोलका भेडा, बाख्रा,गाई र गोरुहरु मर्न थालेपछि किसानहरू चिन्तामा परेका हुन । चौपायाहरुलाइ लक्षण समेत फरक फरक देखिएकोले रोगको पहिचान गर्न औषधि उपचार गर्न समेत गाह्रो परेको स्थानीयवासिको भनाइ छ । यस अघि पशु बिरामी हुदा जडिबुटी खुवाएर निको बनाउने स्थानीयहरु यसपटक भने केहि गरेपनी आफ्ना पशु लाई सन्चो बनाउन नसक्दा हैरान भएका छन। पेट फुल्ने,झोक्राउने,पखाला लाग्ने,मुख पाक्ने,नाक बाट सिगान बग्ने जस्ता लक्षणहरु देखिने गरेको र अन्तमा पशु दुई देखि तीन दिनमै मर्ने गरेको मेल्चौरका स्थानीय झर बहादुर बाठाको भनाइ छ । उनको गोरु पेट फुलेर मरेको थियो त्यस्तै मेल्चौर कै पुष्प कुमार बाठाको बाख्रा मुख पाकेर अनी हासु स्थित स्थानीयका भेडा पखाला लागेर मरेका थिए । अन्यका पनि यस्तै फरक फरक लक्षण देखिएर मरेको स्थानीयको भनाइ छ । बाँकी रहेका पशु समेत झोक्राएकोले सबै पशु मर्ने हुन भन्ने चिन्तामा रहेका छन । लकडाउनको बेला भएको र नजिकमा पशु चिकित्सक नभएकोले पनि उनिहरु थप चिन्तित बनेका हुन । साथै रोगको पहिचान गरि निदान समेत गरिदिन स्थानीय सरकार लाई अनुरोध समेत गरेका छन ।
