आहा सञ्चार संबाददाता
जिल्लाको त्रिवेणी गाउँपालिकामा हिंसा निगरानी समूह गठन गरिएको छ । गाउँपालिकाभित्र हुने मानवअधिकार उल्लंघन र हिंसाका घटनाहरुको समाधानका लागि पैरवी गर्ने उद्देश्यले समूह गठन गरिएको हो ।
युएसएआइडी र एफएचआई ३६० को सहयोगमा मानवअधिकार संरक्षण तथा कानूनी सेवा केन्द्र (हरप्लेस) नेपालले त्रिवेणी गाउँपालिकामा सञ्चालन गरिरहेको मानवअधिकार प्रवद्र्धनका लागि स्थानीय सरकारको क्षमता अभिबृद्धि परियोजना अन्तर्गत समूह गठन गरिएको हो । द्वन्द्वपीडित सञ्जाल त्रिवेणीका अध्यक्ष ओमप्रकाश विसीको संयोजकत्वमा स्थानीय शिक्षक, मानवअधिकार रक्षक, सामाजिक कार्यकर्ता, राजनैतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको २५ सदस्यीय हिंसा निगरानी समूह गठन गरिएको हरप्लेस नेपालका कार्यक्रम संयोजक सुरेन्द्र खत्रीले जानकारी दिए । उनका अनुसार यस समूहको प्रत्येक त्रैमासिकमा दुईवटा बैठक बस्ने र त्यस अवधिमा यहाँ भएका मानवअधिकार उल्लंघन र हिंसाका घटनाहरुको समीक्षा र समाधानका लागि पैरवी गर्नेछ ।
हिंसा निगरानी समूह गठन कार्यक्रमका सहभागीहरुले त्रिवेणी गाउँपालिकामा हुने सबैखाले हिंसाको न्यूनिकरणका लागि सक्रिय हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा त्रिवेणी गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्तीमगर, प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र रावल, राजनीतिक दलका प्रतिनिधि, शिक्षक, सामाजिक कार्यकर्ता, नागरिक समाजका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । हिंसा निगरानी समूह गठन पूर्व हरप्लेसका कार्यक्रम संयोजक सुरेन्द्र खत्रीले परियोजनाको बारेमा जानकारी गराउँदै निगरानी समूहले गर्नुपर्ने काम कर्तव्यको बारेमा जानकारी गराए । कार्यक्रमको सहजिकरण हरप्लेसका जिल्ला कार्यक्रम अधिकृत महेश केसीले गरेका थिए ।