जयमान बुढा मगर
राजनीतिक इतिहास बोकेको र राजनीतिकै कारण चर्चामा आइरहने थबाङ यसपाली शैक्षिक उपलब्धीमा पनि अगाडि देखिएको छ । थबाङले एसईईमा रोल्पा जिल्लाबाटै उत्कृष्ट नतिजामात्रै दिएको छैन, इतिहास नै रचेको छ । जिल्लाको सामुदायिक विद्यालय वीर बलभद्र माध्यामिक विद्यालय, थबाङका दुई विद्यार्थीले माध्यामिक शिक्षा परिक्षा (एसईई)मा ‘ए प्लस’को नतिजा ल्याएर जिल्लाबाटै ‘ए प्लस’ ग्रेड ल्याउने विद्यार्थीको रेकर्डसँगै थबाङलाई पनि इतिहास दिलाएका छन् ।
विद्यालय प्रअ कुलबहादुर ओलीका अनुसार चिरञ्जीवी पुन र नेत्रज्योती रोकाले ‘ए प्लस’ ल्याएका हुन् ।

रोल्पाबाट यो वर्ष नीजी तथा अन्य कुनै पनि सामुदायिक विद्यालयहरुले ‘ए प्लस’को नतिजा ल्याउन सकेका छैनन् । थबाङको नतिजा सामुदायिक विद्यालयबाट जिल्लाभरबाट ‘ए प्लस’ ग्रेडको पहिलो रेकर्ड हो । ‘हाम्रा दुई जना विद्यार्थीले ‘ए प्लस’ ग्रेड ल्याएका छन्’ प्रअ ओलीले भने, ‘तर, हाम्रो लागि यो सन्तोषजनक होइन्, हामी कम्तीमा पनि ८ जनाको ‘ए प्लस’को अपेक्षा गरेका थियौं ।’ ‘ए प्लस’को नतिजा ल्याउने जिल्लाकै पहिलो सामुदायिक विद्यालय हुन पाउँदा खुशी लागेको उनको भनाई छ ।
यो नतिजा एकै चोटि आएको होइन्, यो भन्दा ११, १२ वर्ष पहिलेको हाम्रो विद्यालय परिवारको पर्यास पछि मात्र आज यो नतिजा प्राप्त गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजय घर्ती मगरले जानकारी दिए । अभिभावक, स्थानीय बुद्धिजिवी तथा विद्यालयका शिक्षक कर्मचारीको मुख्य लगानी रहेको अध्यक्ष घर्तीको भनाई रहेको छ ।
३३ जना विद्यार्थी एसईईमा सहभागी भएको मध्ये ७ जनाले ए, ३ जनाले बी प्लस, ७ जनाले बी, १२ जनाले सी प्लस र २ जनाले सी ग्रेड ल्याएका छन् । थबाङले अंग्रेजी माध्याममा पठन पाठन सुरु गरेपछिको यो पहिलो ब्याच रहेको विद्यालयले जनाएको छ । कक्षा ९ र १० मा स्मार्ट बोर्ड, आवश्यक्ता अनुसारका कक्षागत प्रोजेक्टरबाट पढाई, कम्प्युटर ल्याब, इलाईब्रेरी, बाल विज्ञान प्राविधिक तथा व्यावसायिक पढाई पनि भइराखेको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto