मेगराज खड्का
रुकुम
चालु आर्थिक वर्ष भित्रै जिल्लामा एक हजार बढीले रोजगारी पाउने भएका छन् । विभिन्न स्थानीय तहलाई संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले परिपत्र नै जारी गरेर बेरोजगारी सूचीमा दर्ता भएकालाई ३० दिन बराबरको रोजगार दिन भनेको छ । जसमा रुकुम पूर्व र पश्चिममा गरि १३ सय १८ जनाले रोजगारी पाउने उल्लेख गरेको छ ।
सरकारले चालु वर्षको बजेटमार्फत नै प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत यस्तो गर्ने व्यवस्था गरेको हो । रुकुम पश्चिममा जसमा सबैभन्दा बढी मुसिकोट नगरपालिकामा १ सय ९४ जनाले रोजगारी पाउने छन । त्यस्तै आठबिसकोट नगरपालिकामा १ सय ८१, चौरजहारी नगरपालिकामा १ सय ६२, त्रिबेणी गाउँपालिकामा १ सय २६, बाँफिकोट गाउँपालिकामा १ सय ३१ र सानीभेरी गाउँपालिकामा १ सय ४० जना बेरोजगार ब्यक्तिहरुले रोजगार पाउने छन । त्यस्तै रुकुम पूर्वमा रहेका ३ स्थानीय तहमा ३ सय ८४ जना बेरोजगारले रोजगार हुने अवसर पाउने छन । जस अन्र्तगत सिस्ने गाउँपालिकामा १ सय २२, भूमे गाउँपालिकामा १ सय ३१ र पुथाउत्तरगंगा गाउँपालिकामा १ सय ३१ जनाले रोजगार पाउने छ ।
उक्त रोजगारी सृजनाको लागि स्थानीय तहमा सशर्त अनुदानका रूपमा आउनेछ । ७७ वटै जिल्लामा सञ्चालित यस कार्यक्रम मार्फत पाँच वर्षमा वैदेशिक रोजगारमा जानुपर्ने अवस्थाको अन्त्य गर्ने लक्ष्य सरकारको छ । नेपालको पछिल्लो आर्थिक सर्वेक्षणअनुसार प्रत्येक वर्ष झण्डै पाँच लाख युवा रोजगारीको खोजीमा बजार प्रवेश गर्छन् । तीमध्ये सरदर एक हजार युवा वैदेशिक रोजगारमा जान्छन् । बेरोजगार व्यक्तिलाई न्यूनतम एक सय दिनसम्मको रोजगारी दिने र वर्षभरि परिवारको कुनै पनि सदस्यले सय दिन बराबरको रोजगार नपाए उक्त अवधिमा पाउने पारिश्रमिकको ५० प्रतिशत बराबर निर्वाह भत्ता दिने प्रावधान प्रधानमन्त्री रोजगार कार्यक्रमले गरेको छ ।