हरि जिज्ञासु

यार्सा नेपालको उच्च हिमाली जिल्लाहरुको हिमालको फेदहरुमा पाईने एउटा मुल्यवान जडिबुटी हो । यसलाई ठाउँअनुसार फरक फरक नामले चिनिन्छ । डोल्पा र रुकुमको केहि भागमा यार्सालाई किरा, च्याउ, जीवनबुटी लगायत अन्य नामहरुले चिनिन्छ । नेपालको पश्चिम भागमा पर्ने कर्नाली प्रदेशको उच्च हिमाली जिल्ला जुम्ला डोल्पा र रुकुमको केहि भागमा पाईन्छ यार्सा ।
नेपालको सबै भन्दा ठूलो भुभाग रहेको जिल्ला डोल्पाका बासिन्दाहरुको मुख्य आयस्रोत भनेकै यार्सा संकलन हो । यदि प्रकृतिले उच्च हिमाली जिल्ला डोल्पामा बस्ने नेपाली नागरिकको लागि यार्सा उत्पादन नगर्देको भए डोल्पाका बासिन्दाहरु झनै उच्च गरिबीको रेखामुनी रहन्थेँ । वर्षमा एक पटक चल्छ यार्सा सिजन । करिब बैशाख अन्तिम हप्ताबाट मान्छेहरु गाउँबाट यार्सा संकलनको लागि हिमाली क्षेत्रमा उक्लन सुरु गर्छन । हामीले समाचारमा सुनेका हुन्छौँ स्कुल बन्द गरेर यार्सा संकलन गर्न गएको खबर । प्रायः डोल्पाका बासिन्दाहरु सक्दै नसक्ने बुढापाका बाहेक अरु सबै जना घरमा ताला लगाएर जाने गर्छन यार्सा संकलन गर्न । रुकुम पूर्वको उत्तरगंगा गाउँपालिकामा पर्ने मैकोट क्षेत्रमा यार्सा पाईन्छ ।
त्यहाँका बासिन्दाहरु पनि यार्सा टिप्नको लागि सबै पाटनमा गईहाल्छन् । प्रायः मैकोटबासीलाई बैशाख अन्तिम हप्तादेखि जेठको अन्तिम हप्तासम्म गाउँमा भेट्न गाह्रो हुन्छ । यार्साको सिजन भनेकै एक महिना हुन्छ । यार्सालाई किरा भन्नुको कारण के हो भने, पहिलो पटक यार्सा झुसिल किरा जस्तै हुन्छ । हिमाली क्षेत्रमा पाईने यो झुसिल किरा सानो र पहेँलो रंङको हुन्छ । ऊ नमरुन्जेलसम्म याताउता घस्रीरहेको हुन्छ । जब उसको मर्ने समय आउछ तब ऊ बेस्सरी जमिनमा गाडिन्छ र उ म¥यो भनेपछि उसको टाउकोबाट एउटा च्याउ निस्कन्छ र त्यहि च्याउ जमिनलाई छिचोलेर टुसा जस्तै गरी जमिन बाहिर देखिन्छ । त्यहि च्याउ मान्छेहरुले खोज्दा भेटाउँछन् । र त्यहि च्याउलाई देखेर खनेपछि जमीनमुनी त्यहि झुसिलकिरा हुन्छ तर उ मरेको हुन्छ र अलि साह्रो र मोटो पनि हुन्छ । यदि समयमै त्यसलाई टिप्न सकिएन भने, त्यसको च्याउ फुल्छ र जमिन मुनिको भागको झुसिल किरा विस्तारै लोती परेर जान्छ । त्यसको कुनै काम हुदैन । त्यसैले यसको सिजन भनेकै बैशाख अन्तिम हप्तादेखि जेठको अन्तिम हप्तासम्म मात्र हुन्छ । यार्सा टिप्नको लागि कोही पैँसाको लागि जान्छन् भने कोही यार्सा संकलन संगसंगै प्राकृतिक दृष्यवलोकन गर्नको लागि जान्छन् । उच्च हिमाली क्षेत्र जहाँ जेठको महिनामा समेत हिउँ पर्छ । हामीले बेलाबेलामा हिउँ पहिरोको कारण यार्सा संकलन गर्न गएकाहरुको ज्यान गएको खबर सुनेका हुन्छौँ । यार्सा टिप्न जाँदा धेरैले अकालमा ज्यान गुमाएका हुन्छन् । चिसो अत्याधिक हुन्छ । खानपिन त्यति मिल्दैन । खुल्ला आकाशमा पाल टाँगेर बस्न पर्छ । दाउरा प्रशस्त पाईदैन । बढि हिमपात भयो भने तल झर्नुपर्ने हुन्छ ।

खाना अभावको कारण धेरैलाई लेक लाग्ने सम्भावना बढि हुन्छ । धेरै जना ऋण बोकेर घर फर्किन्छन् । प्रति किलो करिब २७ लाख सम्म पर्ने यार्सा टिप्न गएकाहरु सबैले पैँसा कमाएर ल्याउँदैनन् । यसको मूल्य पनि कहिले घट्छ त कहिले बढ्छ । कुनै समय प्रतिपिस २५० पनि पर्न जान्छ भने कहिले काहिँ प्रतिपिस १५०० सम्म पर्न गएको इतिहास छ । प्रायः यार्सागुम्बा धनीहरुले प्रयोग गर्छन भन्ने छ । स्वदेशमा यसको प्रयोग हुदैन । व्यापारीहरुले विकसित राष्ट्रहरुमा लगेर यसलाई बेच्ने गर्छन । यार्सा संकलनबाट जति नै मानिसहरुले आर्थिक आयआर्जन गर्छन त्यति नै आर्थिक संकलन गर्न पनि गाह्रो छ । उच्च हिमाली क्षेत्रमा पाईने भएकाले बाटो पनि अफ्ठेरो , अक्सिजनको कारण लेक लाग्ने सम्भावना बढि हुन्छ । धेरै व्यक्तिहरु बिरामी भएर फर्कन्छन् । बिरामीको लक्षण देखिने वित्तिकै विरामीलाई तत्काल गाउँ झारिहाल्नु पर्छ । नत्र भने त्यहाँ अर्को समस्या निम्तिन सक्छ । अहिले यार्सा सिजन भएको कारण सबैमा यस्तो चेतना हुनुपर्छ । पैँसा ठूलो कुरो हो भन्दैमा आफ्नो ज्यानको माया मार्नु हुदैन । धैरै व्यक्तिहरुले पैँसाको लागि आफ्नो ज्यानको बाजी थाप्ने गर्छन । यस्तो मूर्खपनले ज्यान जाने सम्भावना बढि हुन्छ । त्यसैले यदि तपाईँ यार्सा संकलन गर्न जाँदै हुनुहुन्छ भने साथमा औषधी पनि बोकेर जानुहोस् । खाने कुरा पनि प्रशस्त बोकेर जानुहोस किनकि खाने कुराको अभावको कारणले खाली पेट हुँदा लेक लाग्ने बढि सम्भावना हुन्छ । त्यसैले भईआइपर्ने हरेक समस्याको ख्याल गर्दै यार्सा संकलन गर्नको लागि यात्रा सुरु गर्नुहोस् । शरिरलाई न्यानो पार्ने कपडा धेरै बोक्नुहोस् । पैसा ठूलो कुरो होईन ज्यान पनि ठूलो कुरो हो ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto