आहा सञ्चार संबाददाता
रुकुम कपडा सिलाई व्यवसायी संघले मुसिकोट नगरपालिका रुकुम पश्चिममा ज्ञापन पत्र बुझाएको छ । आफ्ना बिभिन्न १० बुदा सहितको मागपत्र संघको एक प्रतिनिधि मण्डलले शुक्रबार बुझाईएको हो । संघका अध्यक्ष चन्द्रबहादुर नेपाली र सचिब बिमला घर्तीको हस्ताक्षर भएको उक्त मागपत्रमा नगरपालिका मार्फत हुने सिलाईकटाई सम्बन्धी तालिम लगायतका सम्पुर्ण गतिबिधीहरु संघ मार्फत समन्वय गरेर मात्र संचालन गर्न मागरिएको छ ।
त्यस्तै मुसिकोट नगरपालिका बजार क्षेत्रभित्र सिलाईकटाई तालिम केन्द्र भवन निर्माणका लागि आवश्यक बजेट छुट्याउन, सिलाईकटाई व्यवसायीलाई बैंक मार्फत सर्बसुलभ ऋण उपलब्ध गराउनमा पहल गर्न, व्यवसायिक बिमा कार्यक्रममा आवश्यक नीति बनाउन संगै बाहिरबाट आउने तयारी पोशाकलाई प्रतिस्थापन गरि स्थानीय तयारी पोशाकलाई प्रवद्र्धन गर्न माग गरेको हो । जिल्ला समन्वय समिति र घरेलु तथा साना उद्योग विकास समिति रुकुम पश्चिममा समेत बोधार्थ गरिएको उक्त मागपत्रमा आफ्नो संस्थालाई योजना तर्जुमा गोष्ठीमा सहभागी बनाउनुपर्ने, सिलाईकटाई व्यवसायमा लाग्ने करमा ५० प्रतिशत छुट गर्न, सिलाईकटाई व्यवसायबाट निस्कने कपडाको फोहोरलाई पुनः प्रयोग गर्न प्रसोधनको व्यवस्था गर्न र व्यवसायीलाई बिद्युतिय मेसिन अनुदानमा उपलब्ध गराउन पनि माग गरेको छ । आफ्ना मागहरुको कार्यतालिका बनाएर सम्बोधन नगरिए कडा संघर्षमा पनि उत्रिने पनि चेतावनी दिईएको छ ।
