मेगराज खड्का
रुकुम
महालेखा परीक्षकको ५६ औैं प्रतिवेदन अनुसार रुकुम पूर्व र पश्चिम जिल्लाका नौ स्थानीय तहमा गरि आर्थिक वर्ष २०७४÷७५ मा ७५ करोडभन्दा बढी बेरुजु देखाएको छ । महालेखा परीक्षकको कार्यालयले बजेट अनियमित तवरले खर्च गरेर बेरुजु देखाएको हो । रकमान्तर नगरी विनियोजित भन्दा फरक शीर्षकमा बजेट खर्च गरेको, जनप्रतिनिधिले बैठक, भ्रमण भत्ताको नाममा दोहोरो सुविधा लिएको, सार्वजनिक खरीद ऐनको प्रतिकूल हुने गरी निर्माणमा उपकरण प्रयोग गरेको, प्रतिष्पर्धा विना सामग्री खरीद र योजनाको काम गरेको जस्ता कमजोरी स्थानीय सरकारको बेरुजु रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
रुकुम पश्चिमका कुन स्थानीय तहमा कति बेरुजु ?
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा सबैभन्दा बढी बेरुजु रकम देखिएको छ । आठबिसकोट नगरपालिकामा १४ करोड बढी रकम बेरुजु देखाएको हो । त्यस्तै मुसिकोट नगरपालिकामा ९ करोड, चौरजहारी नगरपालिकामा ८ करोड, बाँफिकोट गाउँपालिकामा ६ करोड, सानीभेरीमा ७ र त्रिबेणी गाउँपालिकामा ८ करोड बढी रकम बेरुजु देखिएको छ ।
रुकुम पूर्वको कुन स्थानीय तहमा कति बेरुजु ?
नयाँ जिल्ला बनेको रुकुम पूर्वमा सबैभन्दा बढी पुथा उत्तरगंगा गाउँपालिकमा १२ करोड बढी रकम बेरुजु देखिएको छ । त्यस्तै भूमे गाउँपालिकामा ५ र सिस्ने गाउँपालिकामा ६ करोड बढी रकम बेरुजु देखिएको हो ।
जिल्ला समन्वय समितिमा कति ?
जिल्ला समन्वय समिति रुकुममा पनि बेरुजु देखिएको छ । तर जसरी स्थानीय तहहरुमा करोडौं रकम बेरुजु देखिएको भएपनि जिल्ला समन्वय समिति रुकुममा भने खासै ठुलो रकम भने छैन । महालेखापरिक्षकको रिपोर्ट अनुसार २ लाख १७ हजार रुपैयाँ मात्र बेरुजु देखिएको छ । अघिल्ला बर्षहरुमा जिल्ला विकास हुँदा ठुलो रकम बेरुजु देखिने गरेको भएपनि विकास बजेटहरु स्थानीय सरकारहरुमा नै गएका कारण पनि यसरी थोरै रकम मात्र बेरुजु देखिएको हो ।
बेरुजु हुनुमा रुकुममा कहाँ कमजोरी ?
महालेखा परीक्षकको रिपोर्टमा रुकुमका केहि बिषयहरुमा ठुलो समस्याको रुपमा देखापरेको भन्दै नामै किटान गरेर बेरुजु हुनुको कारण स्पष्ट गरेको छ । जसमा मापदण्ड भन्दा बढी भुक्तानी हुनु पनि हो । निर्माण कार्यमा प्रयोग भएको एक्साभेटर भाडा तथा ईन्धनको रकम भुक्तानी नियमभन्दा बढी भुक्तानी हुँदा बेरुजु रकम देखाएको छ । रुकुम पश्चिमका ३ नगरपालिका र २ गाउँपालिकाले एक्साभेटरको खर्च भुक्तानीमा करिब २ करोड रकम नियम विपरित झुत्तानी दिएका छन । त्यस्तै उपभोक्ता समिति मार्फत गरिएको निर्माण कार्यको लागत अनुमानमा ओभरलोड समाबेश गरि भुक्तानी गरि दिन नमिल्नेमा रुकुमको मुसिकोट नगरपालिकाले करिब ९ लाख रकम भुक्तानी गरेको पाईएको हो । नियम बिपरित भुक्तानी भएको ओभरहेड रकम असुल हुनु पर्दछ ।
रुकुम पश्चिममा बेरुजु रकमको बिस्तृत विवरण
मुसिकोट नगरपालिका ः ९ करोड ३३ लाख
चौरजहारी नगरपालिका ः ८ करोड ५८ लाख
आठबिसकोट नगरपालिका ः १४ करोड २२ लाख
बाँफिकोट गाउँपालिका ः ६ करोड ७३ लाख
त्रिबेणी गाउँपालिका ः ८ करोड २४ लाख
सानीभेरी गाउँपालिका ः ७ करोड ५ लाख
रुकुम पूर्वका कति बेरुजु
पुथाउत्तरगंगा गाउँपालिका ः १२ करोड २४ लाख
भूमे गाउँपालिका ः ५ करोड ६ लाख
सिस्ने गाउँपालिका ः ६ करोड ५८ लाख