मानव विकासमा पोषण

Byआहा सञ्चार

२०७५ फाल्गुन २२, बुधबार ०९:४७ गते

डिकेन्द्र शाह
मान्छेहरु अगाडि गएका हुन्छन्, प्रगतिमा धेरै लम्केका हुन्छन,हाम्रो देश नेपालको तुलनामा अरु देश विदेशहरु धेरै समग्र विकासमा अगाडि छन् । थोरै देशहरु हाम्रो देशभन्दा पछाडि होलान् । तर प्रायःहामी नेपालीहरु भन्ने गर्छौ विकास निर्माणमा यो भएन त्यो भएन सँधै पछाडि प¥यौँ । जताततै हामीहरुले कुराहरु मात्र गर्छौ,घास दाउरा मेलापात जाँदाहोस्, चिया पसलमा होस्,या शहरका चोकचोकदेखि सरकार सदनसम्म हाम्रो देश नेपालमा विकास समृद्धि हुन सकेन भनेर निन्दा आलोचना भईरहेको हुन्छ । किन यस्तो भईरहेको छ त ? वास्तवमा नेपाललाई समृद्ध बनाउनका लागि धेरै व्यवस्थाहरु ढले,युद्धहरु भए,आन्दोलनहरु भए ।
केही समुहरु अझैँ युद्ध गर्ने धक्कीहरु छरीरहेका छन् । यो सब हुनुमा त यो लेखकलाई लाग्छ,सही तरीकाले मानवीय विकास हुन सकेन । किनभने राम्रा कम भन्दा कम भए खाली जालजेल गर्ने तानाबाना बुन्ने मान्छेहरु बढी भए भने देश कसरी अगाडि बढ्न सक्ला त । यो भनिरहदा सबै गलत मात्रै छौँ भनेर भन्न खोजिएको होइन तर राम्रो नियतका मान्छेहरु अधिकांस पछाडि परेका छन् । सँधै सड्यन्त्र जालीहरुको हातमा मात्र तलदेखि माथिसम्म शक्ति शासन पर्न गयो भने कसरी सम्पनता,मानवीय विकासमा महत्वपूर्ण योगदान पुग्ला त । हामी नेपाली मान्छेहरु सबै भोका छौँ,गायकले गाएझैँ सक्नेले लुटेको लुट्इ छन्,नसक्नेले अभावै अभावमा छन् । यो ढुक्क सङ्ग भन्न सकिन्छ कि जसले सक्छ उसले खान्छ । नेपालको इतिहासदेखी अहिलेसम्म यो प्रथा चलिरहेको छ । विगतको इतिहास त जंगली थियो, अशिक्षित थियो भनौँ । अहिलेको समयमा यस्तो हुनुको पछिडि सही ढङ्गले मानविय विकास हुन सकेन । सिङ्गो देशमा दुई चारजना सम्पन्नशाली र विद्वान भएर केही हुने वाला छैन ।

नेपालमा कुपोषणको अवस्था :
नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सवैक्षण्,२०१६ अनुसार ५ वर्षमुनिका बालबालिकामा हुने पुड्कोपन ३६ प्रतिशत रहेको छ भने २७ प्रतिशत बालबालिका कम तौलका छन् । यसमध्ये ५ प्रतिशत बालबालिका धेरै नै कम तौल भएका छन् । त्यसैगरी १० प्रतिशत बालबालिका ख्याउटे छन् भने तीमध्ये २ प्रतिशत बालबालिका कडा किसिमका छन् । पाँच बर्षमुनिका बालबालिकाको अधिक तौल र मोटोपन २.१ प्रतिशत्, प्रजनन उमेरका महिलामा अधिक तौल र मोटोपन २२ प्रतिशत र दीर्घ रुपमा शक्तिको कमी भएका प्रजनन उमेरका महिलाको सङ्ख्या १७ प्रतिशत छ ।

पोषणको आवश्यकता :
बाल मृत्युको लगभग ८५ प्रतिशत मृत्यु एक बर्षभित्रै र ६७ प्रतिशत जन्मेको २८ दिन (नवजात अवस्था) भित्रै हुन्छ । आधाभन्दा बढी (५३ प्रतिशत ) बालबालिकाको मृत्युको कारण कुपोषण हो । पोषण स्थितिमा सुधार नभई बाल मृत्युदरमा कमी ल्याउन सकिने सम्भावना न्यून छ । भिटामिन ए को अवस्था सुधारले २३–३४ प्रतिशतसम्म बाल मृत्युदर घटाउन मद्धत गर्छ । गम्भीर शीघ्र कुपोषण भएको बच्चा, अन्य बच्चाको तुलनामा ५–२० गुणा बढी मर्न सक्ने संभावना हुन्छ । ६ महिनासम्म आमाको दुधमात्र खाने भएमा तथा उचित पूरक आहार पाएमा २० प्रतिशतसम्म बाल मृत्युदर घटाउन सकिन्छ । आइरणको कमीले हुने रक्तअल्पताले बौद्धिक क्षमता ९ अंक सक्म घटाउँछ । न्यून आयोडिनको कमीले बौद्धिक क्षमता १० अंक सम्म घटाउँछ । अत्यन्त पुड्कोपनले बौद्धिक क्षमता ५–१० अंक सम्म घटाउँछ । जन्मँदै कम तौल (२.५के.जी.) भएमा बौद्धिक क्षमता ५ अंक सम्म घटाउँछ । नेपाल जस्तो विकासशिल देशमा बालबालिकाहरु २४ महिनाको हुँदासम्म उचाई ११ से.मी. सम्म कम विकास हुन सक्छ । पुड्का बालबालिकाहरु पछि गएर पुड्का वयस्क हुन्छन् । १ प्रतिशत उचाई कम हुँदा २.४ प्रतिशत उत्पादकत्व घट्छ । यी समग्र अवस्थालाई सुधार गर्न पोषणको आवश्यकता पर्दछ ।

पोषणमा सुधार :
कुपोषण अन्तर पुस्ता चक्रमा आधारित छ । कम तौल र कम उचाई भएका महिलाले सानो र कम तौल भएका बच्चा जन्माउँछन् । यस्तो समस्या भनेको किशोरी अवस्थामा गर्भवति हुनु हो । किशोरावस्थाको गर्भाधारणबाट कम तौल भएका बच्चा जन्मने संभावना धैरै हुन्छ । खानपान र उचित स्याहारसुसार नभएमा त्यस्ता बच्चाको वृद्धि विकासमा पनि असर पछृ । यस्ता बच्चामा धेरै सङ्क्रमण हुने खतरा हुन्छ पनि बढी हुन्छ,जसले गर्दा न्यून पोषण हुन्छ । यस्ता बच्चामा प्रायःजसो २ वर्षभित्र नै पुड्कोपन देखिन्छ र मृत्युको खतरा पनि बढी हुन्छ । जन्मदा हुने तौलले गर्दा बच्चाको वृद्धिविकास र पछि गएर वयस्क अवस्थाको उचाईमा असर पर्ने हुन्छ । त्यसैले कुपोषणलाई दीर्घकालिन रुपमा सम्बोधन गर्न आमा गर्भवती भएदेखी बच्चा २ वर्षको नभएसम्मको १००० दिन अति संवेदनशील र महत्वपूर्ण हुन्छ । किशोरीहरु,१००० दिनका महिला र बालबालिका पोषण सुधारका लागि प्रवेशविन्दु हो ।

पोषणमा लगानी आवश्यक :
विश्व पोषण प्रतिवेदन अनुुसार कुपोषणको कारणबाट कुल ग्राहस्थ उत्पादनमा ११ प्रतिशतसम्म ह्रास हुन्छ । यसरी बालबालिकामा गरिने लगानीले मानव जीवन र समग्र अर्थव्यस्थामा सन्तोषजनक प्रतिफल प्राप्त हुन्छ । पोषणमा भएको एक डलर लगानीले १८ डलरसम्म प्रतिफल प्राप्त हुन्छ भन्ने विभिन्न अध्ययनले आउँछ । यस तथ्यले पोषणमा सुधार नभई कुनै मुलुक विकसित हुन सम्भव छैन भन्ने देखाउँछ । जीवनको पहिलो २ वर्षभित्र हुने पोषण अवस्था नै समग्र मानव संसाधन वा पुँजीको सूचकका रुपमा लिइन्छ । पहिलो २ वर्षभित्र बच्चाको दिमागको विकास ८० प्रतिशत हुने अध्ययनले देखाउँछ । हाल नेपालको बहुआयामिक गरिबीको दर २८.६ प्रतिशत देखिएको छ यसको मुख्य कारण प्रजनन् उमेरका महिला तथा बालबालिका रहेको कुपोषण र विद्यालय शिक्षाको बञ्चिति रहेको छ । त्यसकारण पोषणमा लगानी आवश्यक छ ।
अन्त्यमा,हाम्रो देश नेपाल विकसित मुलुक बन्ने हो भने विशेषगरी मानविय विकास बढी जोड दिनु आवश्यक छ । हुनत सरकारले अहिले गरिबी र बेरोजगार हटाउँछौ भनेको छ,कतिसम्म सफलता हुने हो । सबै मान्छेहरु सकारात्मक सोचका सभ्य भए भने त केहीमा पनि कमी भएन भौतिक संरचनाहरु धमाधम बन्छन हरेक कुरामा समुदाय विकास भई देश नै विकसित हुनेछ । केवल सपना मात्र बाड्ने व्यवहारमा नउर्ताने हो भने त समृद्धिशाली देश कसरी बल्ला ? सरकारले बहुक्षेत्रीय पोषण कार्यक्रम त गरिरहेको छ । स्वास्थ्य,कृषि,पशुपंछि,शिक्षा,खानेपानी तथा सरसफाई,महिला तथा बालबालिका र स्थानिय शासन जस्ता क्षेत्रहरुले हरेक तहमा एकिकृत रुपमा कार्यक्रम कार्यान्यवन गरी कुपोषण घटाउने सकिने मान्यता यो योजनाले लिएको छ । यस्ता कार्यक्रम देखावटी मात्र नभएर बृहत रुपमा बढी से बढी कार्यक्रमहरु लागु गर्नुपर्छ । एकले मात्र यो क्षेत्रमा परिवर्तन गर्न सकिदैँन,हरेक बहुक्षेत्रीय तरिकाले अगाडि बढेमा हाम्रो गाँउ,समाज र देश आमुल परिवर्तन हुने कुरामा दुईमत छैन् । समग्रमा मानवीय विकास भए मात्र हाम्रो देश समृद्ध बन्न सक्छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto