आहा संचार संबाददाता
रुकुम पश्चिमको सदरमुकाम मुसीकोटमा खोलिएका अधिकांश मासु पसल अवैध रहेको पाईएको छ । मुसीकोट नगरपालिकाले गरेको अनुगमणका क्रममा मुसीकोटका सल्ले र बागबजारमा खोलिएका अधिकांश मासु पसलहरु अवैध रहेको पाईएको हो । सल्ले र बागबजारका १४ वटा पसलमा अनुगमण गरिएकामा एउटा मात्र पसल दर्ता गरिएको पाईएको अनुमण समितिका संयोजक तथा मुसीकोट नगरपालिकाका उपप्रमुख प्रेमकुमारी सुनारले जानकारी दिईन । उनका अनुसार मासु पसलनै दर्ता नगरेको, बोर्ड तथा मुल्य सुचि नराखेको, सरसफाईमा ध्यान नदिएको, खाद्यान्न पसल र मासु पसल एकै ठाउँमा राखिएको जस्ता त्रुटीहरु भेटिएको हो ।
अनुगमणका क्रममा अधिकांश मासु पसल अवैध रहेको भेटिएपछि नगरपालिकाले मासु पसललाई बैधानिक बनाउँनका लागि एक हप्ताको समय दिएको छ । एक हप्तासम्म पनि पसल संचालनको प्रक्रिया पुरा नगरे बन्द गरिदिने नगरपालिकाले चेतावनी दिएको छ । ‘१४ वटा पसल अनुगमण गरिएकामा एउटा मात्र पसल दर्ता भएको भेटिएको छ, उपप्रमुख सुनारले भनिन, ‘एक हप्ता भित्रमा दर्ता लगाएतका प्रक्रिया पुरा गर्न भनेका छौं, तोकिएको समयमा प्रक्रिया पुरा नगर्ने पसललाई बन्द गरिने छ ।’ मासु पसलले उपभोक्ताको स्वास्थ्यलाई ख्याल नगरेको अनुगमण टोलिको निष्कर्ष छ । अनुगमणमा सहायक प्रमुख जिल्ला अधिकारी शेरवहादुर पुन, मुसीकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत माधवप्रसाद शर्मा, पशु शाखाका कर्मचारी, पत्रकार लगायतको सहभागीता रहेको थियो ।
फेसबुक प्रतिक्रियाहरु