जयमान बुढामगर
लामो समय देखि देखिएको रुकुम पूर्व र रोल्पा जिल्ला बिचको सीमाना विवाद समाधान भएको छ । रुकुम पूर्वको भूमे गाउँपालिका ७ र रोल्पा थबाङ गाउँपालिका २ पर्ने सीमानामा दुबै तर्फका स्थानीयले विवाद गर्दै गरेका थिए । मंराखोला र बाघतारे भन्ने ठाउँमा सीमानाको विषय लिएर पटक–पटक दुई पक्षकै स्थानीयले विवाद उत्पन्न गरेका थिए ।
सीमानाको क्षेत्रमा दुबै जिल्लाका स्थानीयले खेतीपाती, पशुचैपाय चरण देखि ढुङ्गा, गिट्टी, बालुवा तथा जंगलको उपयोग जस्ता कुरामा विवादित बन्दै गएको थियो । एक महिना अगाडि रोल्पाको थबाङ २ का स्थानीयले सामूदायिक वन समूह समिति गठन गर्दा दुबै स्थानीय बिच मनमुताव समेत भएको थियो । त्यसकारण विवाद झन चर्किदै जाँदा भूमे ७ वडा कार्यालयले विवाद समाधानको लागि दुबै जिल्लाका गाउँपालिकामा निवेदन दिएपछि गाउँपालिकाको अग्रसरतामो जिल्ला स्तरीय नीतिगत सहमति तथा नापीको कित्ता नम्बर आधारमा सीमाना टुंगिएको हो । जिल्ला स्तरीय नीतिगत निर्णयबाट पहिलेको दुबै जिल्लाको नापी कार्यालयको नक्सा अनुसार नै विवाद टुंगो लगाईएको भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगरले बताए । उनका अनुसार दुबै जिल्लाका नापी कार्यालयबाट डोर टिम खटिएर प्रस्टसंग नै सीमाना निर्धारण गरिएको छ । ‘नक्सामा उल्लेख सीमानालाई आधार मानेर दुबै जिल्ला छुट्याउने गरि साँध कायम गरिएको छ ।’ अध्यक्ष बुढाले भने, ‘सोहिअनुसार दुबै जिल्लाका डोर टोलीले सीमाना छुट्याएर किला ठोकिसकेका छन ।’ त्यसैगरि रोल्पा थबाङ गाउँपालिकाका अध्यक्ष बीरबहादुर घर्ति मगरले लामो समयदेखिको विवाद समाधान भएको बताए ।
उनका अनुसार ठोकिएको किलाको आधार मानि स्थानीयले प्राकृतिक स्रोत साधनलाई उपयोग गर्ने समेत सहमति भएको र आगामी दिनमा विवाद नहुने गरि समस्याको समाधान गरिएको छ । छलफलमा रुकुम पूर्वको तर्फबाट जिल्ला समन्वय समितिका प्रमुख गजेन्द्रबहादुर ओली, प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगर, भूमे ७ वडा अध्यक्ष धनमान रोका र रोल्पा जिल्लाको तर्फबाट जिल्ला समन्वय समितिका प्रमुख राजबहादुर बुढा मगर, प्रमुख जिल्ला अधिकारी गजेन्द्र एमसी, थबाङ गाउँपालिकाका अध्यक्ष बीरबहादुर घर्ति मगर, थबाङ २ वडा अध्यक्ष बसन्त रोका मगर लगायतको रोहोवरमा दुबै जिल्लाका स्थानीयको छलफलबाट सीमाना विवादको समस्या समाधान भएको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto