मेगराज खड्का
सरकारले केहि दिन अघि सार्बजनिक गरेको १ सय नयाँ पर्यटकीय स्थलहरुको सूचीमा रुकुम पूर्व र पश्चिमबाट भने संभावना बोकेका पर्यटकीय स्थलहरु समेटिएका छैनन् । थोरै लगानी र थोरै प्रचारप्रसार गर्दा पनि राम्रो पर्यटकीय संभावना बोकेका रुकुम पश्चिमको डिग्रे शाईकुमारी मन्दिर, स्यार्पु ताल र पूर्वको कमलदह नयाँ पर्यटकीय गन्तब्य र प्रवद्र्धन गर्नुपर्ने पुराना पर्यटकीय स्थल कुनैमा पनि नपरेका हुन ।
सरकारले सार्बजनिक गरेको सूचीमा रुकुम पूर्वबाट प्रवद्र्धन गर्न गुरिल्ला ट्रेल पारेको छ भने नयाँ गन्तब्यमा ढोरपाटन मैकोट सेफोक्सुण्डो पर्यटन पदमार्ग रहेको छ । त्यस्तै रुकुम पश्चिममा स्थापित र प्रवद्र्धन गर्नुपर्ने गन्तब्यहरु कुनै नराखिएको भएपनि नयाँ विकास गरिने गन्तब्यमा गोतामकोट चित्रिपाटन साहासिक पदमार्ग राखिएको छ । रुकुम पश्चिम आठबिसकोट नगरपालिकाका स्थानीय तथा संचारकर्मी हरि परियारले चित्रिपाटनले मात्र पर्यटनको मन तान्न नसक्ने भन्दै त्यस रुटमा अन्य पर्यटकीय स्थल र पूर्बाधार विकासमा जोड दिनुपर्ने बताउछन । ‘सरकारले घोषणा गरेको यो पदमार्ग अपुरो छ, स्यार्पुताल बेशक्याम्प बनाएर झारमारे लेख, ठुलो खर्च, भेडा पाटन हुदै चित्रिपाटन जोड्नुपर्ने थियो’ उनले भने, ‘जसले गर्दा रुकुम पश्चिमको अर्को पर्यटकीय स्थल स्यार्पुताल पनि जोडिने थियो भने साहासिक उक्त पदमार्गको यात्रा थप आनन्दित र रोमाञ्चक हुने थियो ।’ रुकुम पूर्वमा थप प्रवद्र्धन गर्न गुरिल्ला पदमार्ग राखिएको भएपनि रुकुम पश्चिममा भने समेटिएको छैन । तर गुरिल्ला पदमार्गको अवधारणा द्धन्द्धकालमा लडाकु हिडेका रुकुम पूव र पश्चिमका द्धन्द्धग्रस्त क्षेत्रलाई समेटिएको थियो ।
तर रुकुम पूर्वमा मात्र यस कार्यक्रमलाई प्रवद्र्धन दिएर रुकुम पश्चिममा नसमेटिदा गुरिल्ला पदमार्ग अपुरो हुने स्थानीयहरुको भनाई छ । रुकुम पश्चिमका खारा, डलसिंगे, चुनबाङ र महत जस्ता ठाउँहरु द्धन्द्धकालमा लडाकु डिड्ने चर्चित ठाउँहरु हुन । रुकुम पूर्व मैकोटका स्थानीय तथा पर्यटनका जानकार भरतकुमार पुनले सरकारले रुकुम पूर्वबाट छनोट गरेको नयाँ पर्यटकीय गन्तब्यले पर्यटनमा केहि उत्साह थपेपनि प्रभावकारी कार्यन्वयनमा जोड दिनुपर्ने बताउछन । ‘रुकुम पूर्वमा गुरिल्ला पदमार्गको रुपमा राखिएको रैछ, तर यार्सा पदमार्गको रुपमा नाम राखिएको भए निकै राम्रो हुन्थ्यो होला’ पुनले भने । रुकुम पूर्वको ढोरपाटन, मैकोट र पाटन क्षेत्र यार्सा प्रर्यटनका क्षेत्रमा चर्चित छ ।
