डिल्लीबहादुर खत्री
रुकुम पश्चिम चौरजहारी नगरपालिकामा अझै पनि दुई एम्बुलेन्स खरिद गरिएको छैन् । आर्थिक बर्ष २०७४/०७५ को बजेटबाट ३ वटा एम्बुलेन्स खरिद गर्ने भनी बजेट नीति तथा कार्यक्रम पारित गरिए पनि आर्थिक बर्षको अन्त्य भई २०७५/०७६ को ३ महिना बितिसक्दा सम्म पनि एक वटा मात्रै एम्बुलेन्स खरिद गरिएको छ । बाँकी दुई एम्बुलेन्स भने नगरपालिकामा कहिले आउँछन् स्वयम नगरपालिकाको कार्यालय नै अनविज्ञ छ । नगरपालिकाको पहिलो नगर सभाबाट प्रति एम्बुलेन्स २२ लाखको दरले खरिद गर्ने गरि ६६ लाख बजेट विनियोजन गरेको थियो ।
१ वटा एम्बुलेन्स ११ लाखमा खरिद गरि सञ्चालनमा ल्याएपनि बाँकी २ एम्बुलेन्स कहिले खरिद गर्ने र कति पर्ने हो सर्वसाधारण त परको कुरा नगरपालिकनै अनविज्ञता प्रकट गरेको छ । चौरजहारी नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत ताराबहादुर कुँवरले यस बिषयमा आफुलाई कुनै पनि जानकारी नभएको बताएका छन् । ‘म भर्खरै मात्रै नगरपालिकामा आएको हुँ , अघिल्लो आर्थिक बर्षको बजेट कहाँ के छ मलाई थाहा छैन्, अध्यन गरेर प्रष्ट भन्न सकिन्छ’ निमित्त प्रशासकीय अधिकृत कुँवरले भने, ‘यो आर्थिक बर्षमा कहिँ कतै खरिद गर्ने भनिएको छैन्, कार्यपालिकाको बैठकले बजेटलाई अन्त कतै सिफ्ट गर्ने भनेको भए मलाई जानकारी छैन् ।’ अघिल्लो आर्थिक बर्षको बजेटले चालू आर्थिक बर्षमा खरिद गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्नमा उनले नगर सभाबाट खरिद ऐन नबनाई खरिद गर्न नबिल्ने बताए । उनका अनुसार यो आर्थिकमा खरिद गर्ने भनिएको पनि छैन् तर कार्यपालिकाको बैठकले निर्णय गरेर बजेट प्रक्रियामा राख्न भने पाउँछ । जसका कारण राम्रो काममा निर्णय गर्ने तर कार्यन्ययन नगर्ने पुरानै रोग एम्बुलेन्स खरिदमा पनि देखिन्छ ।