डिल्लीबहादुर खत्री
रुकुम पश्चिम चौरजहारी नगरपालिकामा एक वटा पनि सार्वजनिक शौचालय छैनन । बजार क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा समान किनमेल गर्न बजार पुगेका सर्वसाधारणलाई दिसापिसाब गर्न समस्या हुने गरेको छ । नगरपालिकाले पहिलो नगर सभाबाट नै नगर भित्रका सबै बजार क्षेत्रमा सार्वजनिक शौचालय निर्माण गरि एक जनालाई प्रति शौचालय रोजगार प्रदान गर्ने नीति तथा कार्यक्रम पारित गरेको थियो ।
तर अहिलेसम्म पनि उक्त नीति तथा कार्यक्रम कार्यन्वयन नगरपालिकाले गरेको होईन । शौचालय बनाउने भनेको ठाउँमा जग्गा उपलब्ध हुन नसकेको कारण सार्वजनिक शौचालय बनाउन नसकेको नगरपालिकाको तर्क छ । नगर प्रमुख बिशाल शर्माले सार्वजनिक शौचालयको लागि जग्गा खोजिरहेका र जग्गा उपलब्ध हुने बित्तिकै सार्वजनिक शौचालय बनाउन सुरु गर्ने बताए । ‘जग्गा नभएपछि शौचालय आकाशमा बनाउने त होइन् नि जग्गा उपलब्ध भएपछि हामी तत्कालै बनाउन सुरु गर्छौं’ जग्गा खोजि गर्ने जिम्मेवारी कस्को हो भन्ने आहा सञ्चारको प्रश्नमा उनले भने, ‘सम्बन्धित ठाउँका ब्यवसायीहरुले जग्गा उपलब्ध बनाउने भन्ने हो, उनीहरूले जग्गा उपलब्ध बनाएपछि सार्वजनिक शौचालय निमार्ण हुनेछन् ।’
उनका अनुसार यो आर्थिक बर्ष भित्र भने सार्वजनिक शौचालय गरिनेछ । उता उद्योग वाणिज्य संघ चौरजहारीका अध्यक्ष प्रेम सुनारले नगरपालिकाले अहिलेसम्म जग्गा चाहियो भनेर ब्यापारीसँग समन्वय गर्न नआएको बताए । ‘हामीसँग जग्गा प्रशस्त छ नगरपालिकाले कुनकुन ठाउँमा शौचालय बनाउने हो, नगरपालिका समन्वय गर्न आएपछि जग्गा दिन तयार छौँ’ उनले भने ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto