मेगराज खड्का
रुकुम २२, असोज : नीजि शिक्षकहरुले आफुले पाउनुपर्ने तलब रकम नपाएपछि रुकुम मुसिकोट नगरपालिकाको एक बिद्यालय तालाबन्दी गरिएको छ । नगरपालिकाको वडा नम्बर १४ स्थित जनजागृति आधारभूत बिद्यालय घोयलीडाँडामा शिक्षकहरुले तालाबन्दी गरेका हुन । आफुहरुले पाउनुपर्ने तलब र बिद्यालयको अन्य बिभिन्न बिषयमा बिद्यालय व्यवस्थापन समितिले ध्यान नदिएको भन्दै बिद्यालय अनिश्चितकालका लागि तालाबन्दी गरिएको शिक्षिका पबित्रा बिष्टले जानकारी दिईन । उनका अनुसार बिद्यालयमा कार्यरत ४ जना शिक्षकहरुले एक बर्ष देखि पाउनुपर्ने तलब सुबिधा पाएका छैनन ।
‘एक बर्ष देखि तलब नपाएपछि काम गर्न सकिएन, सबैको ध्यानकर्षण होस भनेर तालाबन्दी गरिएको हो’ शिक्षिका बिष्टले भनिन, ‘शिक्षाबाट गएको बाल शिक्षा कोटामा पनि शिक्षक व्यवस्थापन गरिएको छैन, हाम्रो माग उक्त बालबिकास शिक्षाको कोटामा पहिलेदेखि काम गर्दै आएका शिक्षकहरुलाई नै राख्नुपर्ने छ तर त्यसमा नयाँलाई राख्ने प्रयास भैरहेको छ ।’ बिद्यालयमा आएका नयाँ अवसरहरुमा नयाँ ब्यक्तिहरुनै खोज्ने तर पुराना कार्यरत शिक्षकहरुलाई त्यस्ता अवसर दिनुको साटो १ बर्ष सम्म पनि तलब नपाउँदा आफुहरु आन्दोलनमा उत्रिएको शिक्षकहरुको भनाई छ ।
उता बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर बिष्टले बिद्यालयमा रकम नभएका कारण शिक्षकहरुलाई दिन नसकीएको स्वीकार्दै समस्या समाधानका लागि छलफल भैरहेको प्रतिक्रिया दिए । ‘बिद्यालयमा आम्दानी भएन, कसरी दिने एउटा समस्या नै सृजना भयो’ आहा संचार संग टेलिफोनमा प्रतिक्रिया दिदै अध्यक्ष बिष्टले भने, ‘अब उक्त बिद्यालय नै कोल्याप्स हुन्छ, पैसा छैन कसरी तलब दिने की कुनै निकायले व्यवस्था गर्नुपर्यो ।’
