सत्य बहादुर बटाला
आठविसकोट
अविरल वर्षा सँगै आएको सुवाखोलामा आएको बाढीले रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडानं. ११ धुल्सेनीमा ३ ओटा घर बगाएको छ । स्थानीय बलबहादुर दमाई, विरजित कामी र मने कामीको घर बाढीले पूर्ण रुपमा क्षति बनाएको हो । बाढीका कारण त्यस क्षेत्रका अझै १७ ओटा घर उच्च जोखिममा रहेका छन भने सोही स्थानमा रहेका ३५ ओटा भन्दा बढी घर परिवारहरु पनि प्रभाबित बनेका छन । बाढीले सयाँै मुरी धान फल्ने खेतहरु समेत बाढीले कटान गरेर लगेको ईलाका प्रहरी कार्यालय आठविसकोटले जनाएको छ ।
त्यस क्षेत्रमा बाढी आउन सक्ने पहिले नै अनुमान भएपनि स्थानीयहरुले घरहरुमा भएका सरसमानहरु अन्यत्र नै सारेका कारण धनजनको भने क्षति हुन पाएन । रातको समयमा नियमित पानी परिरहेका करण संभाबित क्षेत्रमा झनै जोखिम बढेको स्थानीय दलजित विकले बताए । आठविसकोट नगरपालिकाको डोजर लगाएर बाढी पन्छाउने काम भने गरिरहेको छ । बाढी पीडितलार्ई नगरपालिका र रेडक्रसले प्रारम्भिक राहत पनि वितरण गरिएको छ ।