आहा संबाददाता
रुकुम ३०, फागुन
मुसिकोट नगरपालिकामा सार्वजनिक जग्गा तथा सडक अतिक्रमण गरी बनाइएका घुम्तीमा घटाउने निर्णय गरेपनि नगरपालिकाले निर्णय कडाईका साथ कार्यान्वयन गर्न सकेको छैन । गत पुस ४ मा मुसीकोट नगरपालिकाले जिल्ला सदरमुकाम समेत रहेको वडा १ को सार्वजनिक जग्गा तथा सडक अतिक्रमण गरी बनाइएका घुम्ती हटाउन रातो चिह्न लगाई मुख्य सडक मिचेर बनाइएका १९ वटा घुम्ती तत्काल हटाउन चेतावनी दिएको थियो । तर एक साताको अल्टिमेटम सहित चिह्न लगाइएको घुम्ती महिनौ बित्दा पनि पनि हटाइएको छैन ।

त्यसअघि पनि पटक–पटक घुम्ती हटाउन आग्रह गरे पनि व्यापारीले अटेर गरेका थिए । अन्तिमपटकको चेतावनी भन्दै नगरपालिकाले गरेको उक्त कदम व्यवसायीको अटेरीकै कारण कार्यान्वयन हुन नसकेको हो । रातो चिह्न लगाइएका घुम्ती ७ दिनभित्र नहटाइए नगरपालिका आफैंले हटाउने चेतावनी दिइए पनि निर्णय कार्यान्वयन भएको छैन । नगरपालिकाको चेतावनीपछि हटाउन थालिएका घुम्ती पनि फेरि उही ठाउँमै सारिएको छ । ‘सडक मिचिएकै छन, सार्वजनिक क्षेत्र अतिक्रमण भएकै छन, नगरपालिले खासै एक्सन लिन सकेन,’ स्थानीय नरबहादुर केसीले भने, ‘सार्वजनिक जमिन र सडक मिचिँदा दुर्घटनाको जोखिम त बढेको छ नै अन्य कामकाजमा पनि अवरोध भएको छ ।’ कर्मचारीले नगर चलाउँदा त भएन भएन, जनप्रतिनिधि आइसक्दा पनि नगरपालिकाको पहल कार्यान्वयन नहुनु विडम्बना रहेको स्थानीय वीरबहादुर खत्री बताउँछन । नगरपालिकाले दोर्होयाएर अनुगमन नगरेको उनको गुनासो छ । सडक अतिक्रमणसँगै जथाभावी सवारीसाधन पार्किङ गरिनु यहाँको ठूलो समस्या बनेको छ । अव्यवस्थित सवारी साधन पार्किङले पैदल यात्रुमा दुर्घटनाको जोखिम पनि बढेको छ । मुसीकोट ५, सेरीगाउँदेखि सल्लेसम्मको ३ किमि सडकमै सवारीसाधन पार्किङ हुने गरेको छ ।

५ वटा यातायात व्यवसायी समिति र तिनै समितिसँग सहकार्य गरी जिल्ला बाहिरका सवारीसाधानहरू सडकमै पार्किङ गर्दा दुर्घटनाको जोखिम बढेको स्थानीयको गुनासो छ । नगर प्रमुख देवीलाल गौतमले रातो चिह्न लगाएर घुम्ती हटाउनु भनिएपछि अनुगमन गर्न नभ्याइएको बताउँछन । ‘रातो चिह्न लगाइदिएपछि कतिले त हटाउनु पनिभएको छ, नहटाएकालाई हटाउन अनुरोध गरिनेछ,’ उनले भने ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto